काठमाडौं । मुलुकको संघीय राजधानी भित्रिने महत्वपूर्ण नाका कलंकी-नागढुङ्गा सडक विस्तारको काम आगामी तिहारसम्ममा सम्पन्न हुने भएको छ ।
साढे १२ किलोमिटरको उक्त सडकमध्ये १ हजार २०० मिटर सडक विस्तारको काम मात्रै बाँकी छ । हालसम्म ११ किमीको कालोपत्र र फिनिसिङको काम सकिएको आयोजना पक्षले जनाएको छ ।
अहिले सडकको फिनिसिङ र कालोपत्रेको काम धमाधम भइरहेको आयोजना प्रमुख अर्जुन अर्यालले जानकारी दिए । फुटपाथबाहेक सडक विस्तार र उपलव्ध ठाउँको सडक फिनिसिङ र कालोपत्रे गरिएको अर्यालले बताए । उनले राम्रो मौसम भएमा १५ दिनको काम मात्रै रहेको बताए ।
ढिलोमा आउँदो तिहारसम्ममा सडक विस्तार गरिसक्ने तालिकाअनुसार काम भइरहेको अर्यालले जानकारी दिए । राजधानीलाई विभिन्न जिल्लासँग जोड्ने ‘लाइफ लाइन’ को रुपमा यस सडकको स्वरुप पछिल्लो समय बदलिँदै गएको छ । अहिले सडकको कालोपत्रे, ढलान र फिनिसिङको काम धमाधम भइरहेको छ ।
दाँया र बाँया गरी ११/११ मिटर चौडा हुने गरी यो सडक विस्तार भइरहेको छ । अहिले सडक विस्तारको अधिकांश काम सकिएको छ । थानकोट चेक पोष्टमा ४०० मिटर कालोपत्र गर्ने काम अलकत्रा अभावले रोकिएको उनले बताए । अलकत्रा आएपछि दुई दिनभित्र उक्त खण्ड कालोपत्र गरिने उनले बताए ।
त्यस्तै, सतुंगल र सीजी एरियामा ८००/९०० मिटर मात्रै फिनिसिङ र कालोपत्रेको काम बाँकी छ । त्यस क्षेत्रमा खाल्डाखुल्डी पुर्ने र ढलानको काम भइरहेको छ । सडक निर्माण चारओटा कम्पनीले जेभीमा ठेक्का लिएर गरिरहेका छन् ।
बज्रगुरु विरुवा सीएम, शर्मा/शैलुङ जेभी, लुम्विनी/शैलुङ जेभी, शर्मा/शैलुङ जेभीले चार खण्डमा काम गरिरहेका छन् । चारओटा कम्पनीले १ अर्ब ६४ करोड रुपैयाँको ठेक्का पाएका थिए । हालसम्म सडक निर्माणमा साढे १ अर्ब रुपैयाँ खर्च भइसकेको छ ।
केही दिन सुख्खा हुने र फेरी पानी पर्ने हुँदा सडक कालेपत्रे र अन्य काम गर्न अप्ठ्यारो हुने भएकाले केही समय बढि लाग्न सक्ने अर्यालले बताए । हालसम्म सडक विस्तार र निर्माणमा ९० प्रतिशत प्रगति भएको छ ।
जाम र धुलो हट्ने
कलंकी-नागढुंगा सडक विस्तार भएपछि अहिले हुने ट्राफिक जाम केही हदसम्म हट्ने अपेक्षा गरिएको छ । काठमाडौंबाट बाहिरीने र भित्रिने सवारी साधन अहिले नागढुंगा र कलंकीमा २/३ घण्टा जाममा पर्ने गर्छन् ।
त्यहाँका एक स्थानीयका अनुसार जाम परेका बेला नागढुंगाबाट कलंकी उत्रिन झन्डै डेढ घण्टा बढि लाग्ने बताए । जाम सँगै गर्मीमा हिलो र बर्खामा हिलो हुने समस्या पनि कम हुने स्थानीय बताउँछन् ।