काठमाडाैं । वित्तीय क्षेत्रमा तरलता अभावका कारण उद्योग व्यवसाय सञ्चालनमा कठिनाइ उत्पन्न भएको भन्दै उद्योग संगठन मोरङले नेपाल राष्ट्र बैंकको ध्यानाकर्षण गराएको छ ।
संगठनका अध्यक्ष सुयश प्याकुरेलको नेतृत्वमा संगठनको प्रतिनिधिमण्डलले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई ६ पुसमा उनकै कार्यकक्षमा भेटी वित्तिय क्षेत्रमा देखापरेको तरलताको अभावलाई यथाशक्य समाधान गरी उद्योग व्यवसाय सञ्चालनमा सहजीकरणका लागि अनुरोध गरेको छ ।
अध्यक्ष प्याकुरेलले तरलताको चरम अभाव भएका कारण बैंक तथा वित्तीय संस्थाले केही समयदेखि औद्योगिक कच्चा पदार्थ लगायतका वस्तुको आयातका लागि प्रतितपत्र (एलसी) खोल्नसमेत कठिनाइ भएको बताएका छन् । यस्तै औद्योगिक कच्चा पदार्थको अभावमा उत्पादन नै ठप्प पार्नुपर्ने विकराल अवस्था सिर्जना हुँदै गएकामा बैंकको ध्यानाकर्षण गराएका हुन् ।
राष्ट्र बैंकद्वारा तोकिएका केही विलासीका वस्तुको आयातमा प्रतितपत्र खोल्दा शतप्रतिशत नगद मार्जिन राख्न पर्ने व्यवस्था गरी स्वदेशी उत्पादनमूलक क्षेत्रलाई प्रोत्साहन गर्न चालेको कदम भनेका छन् । साथै यसबाट उत्पादनमूलक उद्योगका लागि आवश्यक औद्योगिक कच्चा पदार्थ तथा मिल मेसिनरीको आयातमा सहजीकरणमा मद्दत पुगे पनि विलासी वस्तुको आयातमा एकाधिकार हुन सक्नेतर्फ सचेत हुनुपर्ने सुझाव संगठनले राष्ट्र बैंकलाई दिएको छ ।
उद्योगीहरुका सुझाव सुनिसकेपछि गर्भनर महाप्रसाद अधिकारीले उत्पादनमुलक उद्योगलाई आवश्यक पर्ने औद्योगिक कच्चा पदार्थ लगायतका वस्तुको नियमित आपूर्तिका लागि प्रतितपत्र खोल्न कुनै पनि कठिनाइ हुन नदिने प्रतिबद्धता व्यक्त गरे ।
साथै गर्भनर अधिकारीले विलासिताका केही वस्तुको आयातलाई निरुत्साहित गरेको र यसबाट उत्पन्न हुनसक्ने परिणामका बारेमा राष्ट्र बैंक सचेत रहेको बताए । साथै, गर्भनर अधिकारीले बैंक तथा वित्तीय क्षेत्रमा वित्तीय अनुशासन कायम गर्न चालू मौद्रिक नीतिमार्फत कर्जा पुँजी निक्षेप अनुपात (सीसीडी रेसियो) बाट (कर्जा निक्षेप अनुपात (सीडी रेसियो) मा रुपान्तरण गरिएका कारण तरलता अभाव नभएको स्पष्ट पारे । उनले तरलता अभावबाट अर्थतन्त्रलाई बचाउन बैंकले विभिन्न वित्तीय उपकरण प्रयोग गरी तरलता पठाइरहेकाले अवस्था क्रमशः सुधार हुँदै जाने बताए ।
उक्त अवसरमा संगठनले लगातार उठाउँदै आएको उत्पादनमूलक क्षेत्रमा प्रवाह भएको वा हुने कर्जाको व्याजदर एक अंकमा नबढ्ने गरी कायम गर्नुपर्ने, पुनर्कर्जा तथा विभिन्न शीर्षक र क्षेत्रमा प्रवाह गरिने सहुलियतपूर्ण कर्जा अन्तर्गतका सुविधामूलक कर्जालाई सहज र द्रुत गतिमा प्रवाह गर्ने व्यवस्था मिलाउनसमेत राष्ट्र बैंकलाई आग्रह गरेको छ ।
संगठनको प्रतिनिधिमण्डलमा वरिष्ठ उपाध्यक्ष प्रदिप मुरारका, उपाध्यक्षद्वय राजकुमार गोल्छा, नन्दकिशोर राठी, कार्यसमिति सदस्य सुशील रिजाल, अध्यक्षीय सल्लाहकार सोम अधिकारी लगायतको सहभागिता रहेको थियो ।