वीरगञ्ज। पर्सामा रासायनिक मलको अभाव भएपछि सबै स्थानीय तहमा समानुपातिक रूपमा वितरण गर्ने तयारी गरिएको छ । कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय, वीरगञ्ज र कृषि ज्ञान केन्द्र, पर्साको सहजीकरणमा खेतीयोग्य जमिनका आधारमा मापदण्ड निर्धारण गरिएको हो ।
स्थानीय तहले सिफारिस गरेपछि तोकिएको मापदण्डबमोजिम मल वितरण गरिने कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालयका प्रबन्धक गोरखनाथ केसीले जानकारी दिए । पर्साका १४ स्थानीय तहलाई मापदण्डअनुसार रासायनिक मल वितरण गर्ने तयारी छ । कृषि ज्ञान केन्द्रले मल वितरणको तयारी गरेको छ ।
वीरगञ्ज महानगरपालिकालाई तत्कालका लागि ३ हजार ४ सय ३६ बोरा युरिया मल, पर्सागढी नगरपालिकालाई १ हजार ६ सय ६४ बोरा, पोखरिया नगरपालिकालाई १ हजार ३ सय ४४ बोरा र बहुदरमाई नगरपालिकालाई एक हजार ६२० बोरा उपलब्ध गराइने कृषि ज्ञान केन्द्रले जनाएको छ ।
यस्तै जगरनाथपुर गाउँपालिकालाई १ हजार ६ सय ६४ बोरा, जिराभवानीलाई १ हजार ४ सय २८, पटेर्वा सुगौलीलाई एक हजार, सखुवा प्रसौनीलाई १ हजार ७ सय १४, धोबिनीलाई १ हजार ४ सय, छिपहरमाईलाई १ हजार ८८, पकाह मैनपुरलाई ८ सय २० र कालिकामाई गाउँपालिकालाई ७ सय ७२ बोरा मल उपलब्ध गराइने भएको कृषि ज्ञान केन्द्रका प्रमुख मुनिलालप्रसादले जानकारी दिए । रासस