पोखरा । लामो समयको कोरोना महामारीको सामना गरिरहेको पोखराको पर्यटन क्षेत्रले यतिबेला केही राहत महसुस गरेको छ । कोभिड १९को खोपको सहजतासँगै संक्रमण दर कम हुँदै गएपछि पोखरामा ‘माइस टुरिज्म’ बढ्दै गएको हो ।
कोरोनाका कारण लामो समयदेखि रोकिएका सभा सम्मेलन, अधिवेशन, लोकसेवाका परीक्षा, अध्ययन अवलोकन भ्रमण लगायत पोखरामा हुन थालेपछि यहाँको पर्यटनले गति लिन थालेको हो ।
पोखरामा केही समयअघि नेपाली काँग्रेसको १४ औं महाधिवेशन, नेकपा माओवादी केन्द्र गण्डकी प्रदेशको प्रथम अधिवेशन सम्पन्न भयो । त्यसैगरी लोकसेवामा आयोगका विभिन्न पदको परीक्षाका कारण पोखराका साना ठूला होटलहरुमा लामो समयपछि पाहुनाको चलहपहल देखियो । यसलगत्तै पछिल्लो समय नेपाल जेसिसको राष्ट्रिय सम्मेलन, नेसनल लाइफ इस्योरेन्सका देशभरिका चेयरपर्सन क्लवका सदस्यहरुको सम्मान कार्यक्रम पोखरामा भयो ।
पर्यटकीय मौसम भएकाले विभिन्न जिल्लाका विद्यालय, कलेजबाट, सहकारीबाट दैनिक १० ÷१५ वस अध्ययन अवलोकनका लागि समेत आउने गरेको पश्चिमाञ्चल होटल संघ (हान) अध्यक्ष लक्ष्मण सुवेदीले बताए ।
उनले भने “कोरोना कहरले थलिएको पर्यटनमा पछिल्लो समय पोखरा केन्द्रित विभिन्न कार्यक्रम, गोष्ठि सेमिनार , लोकसेवाको परीक्षा लगायतले पर्यटन व्यवसायीलाई राहत मिलेको छ ।”
पोखरामा करिब ७ सय पर्यटकीय स्तरका होटलहरु छन् भने त्यसमा ३० हजार बढी बेड संख्या रहेका छन् । उनका अनुसार पछिल्लो १० दिनको बीचमा करिब २ लाख आन्तरिक पर्यटक पोखरामा आएका छन् । एकलाख ३ हजारले परीक्षा दिएको लोकसेवा आयोगको कार्यालयले जानकारी दिएको सुवेदीले बताए ।
त्यसैगरी सडक महोत्सवका कारण पनि पोखरामा आन्तरिक पर्यटक संख्या थपिने उनको विश्वास छ । अंग्रजी नयाँ वर्षमा पोखरामा हुने सडक महोत्सवमा आउने पाहुना र लोकसेवाको परिक्षा दिने परिक्षार्थीलाई २० देखि ३० प्रतिशतसम्म विशेष सहुलियत दिने व्यवस्था हानले गरेको पनि उनले जानकारी दिए ।
माउण्ट कैलाशका होटलका सञ्चालक एव्म २३ औ सडक महोत्सवका संयोजक नरेश भट्टराइले अहिले होटलमा आन्तरिक पर्यटकको आगमन निकै राम्रो भएको बताए । “कोरोना कहरपछिको समयमा होटलका करिब सतिप्रतिशत कोठाहरु बुकिङ भए, पाहुनाको आगमन राम्रो भएको छ । यसले केही आशा जगाएको छ । ”
उनले अँग्रेजी नयाँ वर्षमा पोखरामा हुँदै आएको सडक महोत्सवले पनि पोखरामा आन्तरिक पर्यटक बढ्ने विश्वास व्यक्त गरे । पोखरामा पुस १५ देखि १७ गतेसम्म “समृद्ध समाजका लागि सुरक्षित पर्यटन प्रर्वद्धन आजको मूल आवश्यकता” भन्ने नाराका साथ महोत्सव हुँदैछ ।
पोखरा पर्यटन परिषदका अध्यक्ष गोपीबहादुर भट्टराईले कोरोना न्यूनिकरणपछि पोखरामा आन्तरिक पर्यटकको आगमनले व्यवसायीलाई उत्साह प्रदान गरेको बताए ।“अहिले विभिन्न कार्यक्रम सभा सम्मेलनपोखराको पर्यटनलाई आशलाग्दो बनाएको छ । पोखराको मौसम पनि खुलेको छ । पर्यटकको बसाइ पनि लम्बिएको छ ।”
उनले ओमिक्रोन भाइरस देखिएपछि फेरी पर्यटन ठप्प हुने हो कि भन्ने चिन्ता व्यवसायीमा देखिएको बताउँदै सरकारले यसको नियन्त्रणका लागि पूर्व तयारी र पर्यटनमैत्री वातावरणको लागि रणनीतिक योजनाहरु ल्याउन आवश्यक रहेको प्रष्टपारे । पर्यटन अर्थतन्त्रको बलियो आधार भएकाले विस्तारै लयमा फर्कन लागेको पर्यटनलाई गति दिन सरकारले पनि विशेष पहल थाल्नुपर्ने उनको भनाइ छ ।
नेपाल पर्यटन बोर्डका पूर्व सदस्य टिकाराम सापकोटाले पर्यटनलाई समृद्धिको मुख्य आधार बनाउने कोभिड पछाडिको अवस्थालाई अध्ययन गरेर नयाँ सोच र खोजको आवश्यकता रहेको बताउँछन् । अहिले आन्तरिक पर्यटकले पोखराको पर्यटन केही चलायमान भएपनि ठूलो लगानी भएका पर्यटन क्षेत्रलाई विदेशी पर्यटकनै भित्रयाउन पर्नु खाँचो रहेको र त्यसका लागि नीतिगत योजनाहरु आवश्यक रहने उनको भनाइ छ ।
“अब विदेशी पर्यटकको संख्या कसरी बढाउने, पर्यटकको बसाइ कसरी लम्ब्याउने, पर्यटन र उत्पादनलाई कसरी जोड्ने, पर्यटकीय गन्तब्यको पहिचान र प्रवद्र्धन कसरी गर्ने, लगायतका विविध सवालहरूको उत्तर खोजी गरेर उपयुक्त पर्यटन प्रबद्र्धन कार्यक्रमहरूको तर्जुमा आवश्यक देखिन्छ ।”
उनका अनुसार पोखराको पर्यटन करिब ४ खर्ब र रोजगार ५० हजारले रोजगार प्राप्त गरेका छन् । पोखरामा अन्तर्राष्ट्रिय क्षेत्रीय विमानस्थल सञ्चालनपछि पोखरामा ‘माइस टुरिज्म’ अझै बढ्ने र त्यसको लागि अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र स्थापना अपरिहार्य रहेको उनको भनाइ छ ।
प्रदेश नीति तथा योजना आयोगको प्रकाशित गरेको २०७६ मा प्रकाशित गरेको प्रदेशको स्थितिपत्रअनुसार नेपालमा आउने पर्यटन विदेशी पर्यटकहरूको सरदर बसाई १३ दिन उनीहरूको सरदर दैनिक खर्च ५४ अमेरिकी डलर मात्र रहेको छ (पर्यटन मन्त्रालय, २०७५) । गण्डकी प्रदेशमा आउने विदेशी पर्यटकहरूको बसाईबारे यकिन तथ्याङ्क छैन ।
पर्यटन व्यावसायीको अनुभवमा उनीहरूको पोखरा बसाइ ४—५ दिनभन्दा बढी छैन र उनीहरूले प्रदेशमा गर्ने दैनिक खर्च राष्ट्रिय रुपमा विदेशी पर्यटकले गर्ने खर्च बराबर मात्र छ ।