काठमाडौं । अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) को स्थापना दिवसको अवसरमा मंसिर २१ गते आयोजित कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नागरिक उड्डयन प्राधिकरण (क्यान) को बजेट ६ दिनभित्र पास हुने बताएका थिए ।
पर्यटन मन्त्रालयले आयोजना गरेको औपचारिक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री आलेले बजेट पास हुने र नयाँ कार्यक्रमलाई प्राथमिकता दिने घोषणा गरे । तर, घोषणा गरेको दुई साता भइसक्दासमेत प्राधिकरणको बजेट पास हुन सकेको छैन ।
एक साताअघि प्राधिकरणको सञ्चालक समितिको बैठकबाट बस्यो । बैठकबाट बजेट पास हुने आस गरिए पनि पर्यटनमन्त्री आलेले धनगढी विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थल बनाउन आवश्यक बजेट विनियोजन हुनुपर्ने अडान राखेका थिए । त्यति मात्र हैन, डोटी विमानस्थल स्तरोन्नतिका लागि समेत मन्त्री आलेले बजेट राख्न दबाब दिएपछि बजेट पास हुन नसकेको हो ।
प्राधिकरणका एक उच्च अधिकारीका अनुसार त्यहीँका केही कर्मचारीको उक्साहटमा लागेर मन्त्री आलेले धनगढी विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थलको रुपमा स्तरोन्नतिका लागि बजेट हाल्न दबाब दिएका हुन् ।
प्राधिकरणका कर्मचारीहरुले मन्त्रीलाई खुसी बनाउनकै लागि अन्य विमानस्थलको रकम कटाएर भए पनि धनगढी विमानस्थल स्तरोन्नतिका लागि आवश्यक तयारीसमेत थालिसकेका छन् । प्राधिकरणको इन्जिनियरिङ विभागले प्रारम्भिक नक्सा पनि तयार पारिसकेको बुझिएको छ ।
त्यसका लागि पहिलो चरणमा ६० करोड रुपैयाँ विनियोजनका लागि दबाब परेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित अन्य दुई विमानस्थल तयारी अवस्थामा रहेका बेला मन्त्री आलेले आफ्नो क्षेत्रमा पनि अन्तर्राष्ट्रिय विमानस्थल बनाउन प्रधानमन्त्री शेरबहादुर देउवालाईसमेत प्रभावमा पारिसकेका छन् । धनगढीमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन प्रधानमन्त्रीसमेत राजी भएको भन्दै मन्त्री आलेले प्राधिकरणका अधिकारीलाई बजेट हाल्न दबाब दिँदै आएका छन् ।
मन्त्री आलेले दुईवटा विमानस्थललाई मात्र फोकस गरेर बजेट माग गरेपछि प्राधिकरणलाई बजेट पासमा सकस भएको बुझिएको छ ।
बजेट पास नहुँदा प्राधिकरणमा तलब खुवाउन पनि समस्या हुन थालेको छ । ६ महिनादेखि बजेट पास नभएकै कारण नयाँ परियोजना सुरु हुन सकेका छैनन् । यस्तै भइरहेका कामलाई निरन्तरता दिनसमेत समस्या भएको प्राधिकरणका अधिकारीको भनाइ छ ।
प्राधिकरणका सूचना अधिकारी नारायणदेवी श्रेष्ठले बजेट पासका लागि निरन्तर बैठक बसिरहेको जानकारी दिइन् । ’भोलि पनि बजेटकै विषयमा बैठक बस्ने तयारी भइरहेको छ’ श्रेष्ठले भनिन्, ‘अन्तर्राष्ट्रिय भन्दा पनि धनगढी विमानस्थल विस्तारका लागि बजेट राख्न निर्देशन दिनुभएको छ ।’