काठमाडौं । युवा नेतृत्वमा रहेको गैर नाफामूलक संस्था ‘हामी नेपाल’ले डा. सन्दुक रुइतलगायत सामाजिक सेवा गर्ने व्यक्ति तथा संस्थालाई सम्मान गरेको छ । हामी नेपालले बार्बरा फाउन्डेसनका अध्यक्ष डा. रुइत, इन्फिनिटी होल्डिंग्सका अध्यक्ष दीपक भट्ट तथा निर्देशक उपेन्द्र हिरावत, शंकर ग्रुपका उपाध्यक्ष सुलभ अग्रवाल तथा प्रबन्ध निर्देशक साहिल अग्रवाललाई सम्मान गरेको हो ।
संस्थाले साधारणसभाको अवसरमा निःस्वार्थ रूपमा सेवा गर्ने संस्थालाई निरन्तर मद्दत गर्दै आएका विभिन्न संस्थाका प्रमुख तथा प्रतिनिधिलाई सम्मान गरेको हो । सन् २०१५ मा स्थापना भएको हामी नेपालले सामाजिक कार्यहरुमा सहयोग गर्दै आएका आफ्ना स्वयंसेवक तथा शुभचिन्तकहरूलाई सम्मान गर्ने उद्देश्य लिएको थियो । साथै संस्थाले दान गरिएको रकम र संस्थाको सबै खर्चलाई पारदर्शी बनाउने उद्देश्यले आफ्नो वेबसाइट पनि सुरु गरेको छ ।
कार्यक्रमका बारेमा बोल्दै संस्थाका अध्यक्ष सुदन गुरुङले भने, ‘हाम्रो भिजनलाई सफल बनाउन असीमित सहयोग र माया दिनु हुने विश्वभरका सम्पूर्ण दाता र स्वयंसेवकहरूप्रति हामी नेपालको टिम धेरै–धेरै आभारी छ ।
हामी अघि बढ्न र केही गर्न चाहने युवाको जोश र सपनालाई विश्वास गर्छौं र उनीहरुका लागि एक प्ल्याटफर्म बन्न चाहन्छौं । हाम्रो संस्थाको उद्देश्य भनेको अरुका बारेमा सोच्ने र एक–अर्कासँग हातेमालो गर्दै समाजमा सकारात्मक प्रभाव ल्याउनु हो । हाम्रो संस्थाले कोही नभएकाहरूका लागि आवाज दिन्छ ।’
त्यस्तै वेबसाइटको लन्चसँगै संस्था थप विश्वसनीय हुने र सबै दाताहरूलाई आफ्नो सहयोग रकमको हिसाब–किताब राख्न सजिलो हुने उनको भनाइ छ । साथै वेबसाइटमा दाताहरूले विगतमा भएका र वर्तमानमा चलिरहेका परियोजनाहरूका बारेमा पनि जानकारी लिन सक्ने बताइएको छ ।
त्यस्तै सहयोगीदाताले जुन शीर्षकका लागि रकम उपलब्ध गराएको हो त्यही शीर्षकमा रकम खर्च हुने संस्थाले जनाएको छ ।