काठमाडाैं । नेपालको पहिलो महिला कम्प्युटर इन्जिनियर गुणकेशरी प्रधानले ‘एनसेल वुमन आइकन आईसीटी अवार्ड २०२१’ प्राप्त गरेकी छिन् ।
लिभिङ विथ आईसीटीले आयोजना गरेको एफवान सफ्ट आईसीटी अवार्ड २०२१ अन्तर्गतका विभिन्न १२ विधामध्ये आईसीटीमा योगदान गर्ने महिलालाई यो सम्मान प्रदान गरिएको हो ।
सोल्टी होटलमा आयोजित ग्रान्ड फिनालेमा एनसेल वुमन आइकन आइसिटी अवार्ड प्रधानलाई प्रदान गरिएको हो ।
प्रधानलाई उनको योगदानको कदर गर्दै विविधता, समानता र समावेशीकरण अर्थात् डाइभर्सिटी, इक्विटी एण्ड इन्क्लुसन (डीईआई) लाई सधैं प्रोत्साहन गर्ने कम्पनीको नीतिअनुरुप ३ लाख रूपैयाँ नगदसहित पुरस्कार प्रदान गरेको हो ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, नेपाल दुरसञ्चार प्राधिकरणका निर्देशक दिपेश आचार्य, एनसेलका चिफ इन्फरमेसन अफिसर विशालमणि उपाध्याय र एनसेलका कर्पोरेट कम्युनिकेनि तथा सीएसआर प्रमुख विशाखालक्ष्मी खड्काले अवार्ड विजेता प्रधानलाई शिल्ड, सर्टिफिकेट तथा चेक संयुक्त रुपमा प्रदान गरेका हुन् ।
प्रधानले नेपालको आईसीटी क्षेत्रमा ३५ वर्षको योगदान छ । नेपाल टेलिकम तथा सरकारी संस्थामा मात्रै करिब ३१ वर्ष महत्वपूर्ण स्थान र पदमा रही काम गरेकी प्रधान हाल वुमन इन आईटी संस्थाको नेतृत्व गरिरहेकी छिन् ।
विजेता प्रधानसँगै अन्य ११ विधामा विशिष्ट व्यक्ति, संस्था, प्रडक्ट र स्टार्टअपले अवार्ड प्राप्त गरेका छन् ।