काठमाडौं । सेयर मूल्य घटाएर खरिद गर्ने र बढाएर बिक्री गर्ने लगानीकर्ताको टकरावमा अन्ततः घटाएर खरिद गर्नेहरुले सेयर बजारलाई आफ्नो पक्षमा पारेका छन् ।
गत बिहीबार २३७६ अंकमा रोकिएको सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको पहिलो कारोबार दिनको प्रिओपनिङमा १४ अंकले बढेर २३९० मा पुगेको सूचक आधा घण्टामा घटेर २३४६ सम्म झर्यो । लगत्तै बढ्न खोजेको बजार १ः१५ मा २३८५ सम्म पुगे पनि वृद्धि कायम रहन सकेन र फेरि बजार घट्न थाल्यो ।
कारोबार रोकिँदा भने १७.९३ अंकले सूचक घटेर २३५८.८१ बिन्दूमा रोकियो । सोमबार १४३ कम्पनीको सेयर मूल्य ओरालो लाग्यो भने ४३ कम्पनीको शाख जोगिँदै मूल्य बढ्यो । सोमबारको कारोबारमा १० प्रतिशतले मूल्य बढेर सर्किट लेवलमा कारोबार भएका गोर्खाज् फाइनान्स र हिमालयन डिष्ट्रिलरीको सबैभन्दा बढी कारोबार भएको छ । गोर्खाज्को १९ करोड २७ लाख रुपैयाँको सेयर किनबेच हुँदा हिमालयनको १८ करोड ६६ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।
कुल २ अर्ब ४६ करोड ४६ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको दिन कारोबार रोकिनु अघि १० प्रतिशतले मूल्य घटिरहेको गोर्खाजले अन्तिम क्षणमा सकारात्मक सर्किट लगाएर कारोबार गरेको छ । पछिल्ला दिनमा कतिपय कम्पनीहरुमा उच्च मूल्य गिरावट ल्याउने र तत्कालै बाउन्स ब्याक गराउने खेल चलिरहेको छ । त्यसैको उदाहरण हो आजको गोर्खाजकाे मूल्य उतारचढाव । त्यसको असर नेप्से सूचकमा पनि देखिने गरेको छ । ह्वात्तै सूचक माथि लाने र त्यसैगरी, झार्ने खेलले पछिल्ला दिनमा निरन्तरता पाइरहेको छ । अन्तिम समयमा न्यून बिन्दूभन्दा माथि लगेर कारोबार रोक्ने प्रवृत्ति पनि हाबी भएको छ ।
खासगरी पुस महिना अधिकांश सूचीकृत कम्पनीहरुको साधारणसभा हुने महिना हो । यसैले यसबीचमा धेरै कम्पनीहरुको मूल्य समायोजन हुन्छ । यसको असर नेप्सेमा पर्छ । र नेप्से सूचक अझै घट्छ । यद्यपि, अझै बजारमा तरलता सहज भइसकेको छैन । बैंक तथा वित्तीय संस्थाले ऋण दिएका छैनन् । अर्थतन्त्रका अधिकांश सूचकहरु सकारात्मक छैनन् ।
त्यसको असर सेयर बजारमा पनि पर्छ नै । सोमबार कारोबार प्रवृत्ति, कारोबार रकम र लगानीकर्ताहरुको मनोभाव विश्लेषण गर्दा बजार सामान्य हिसावले चल्ने र त्यो घट्दो ट्रेन्डमै रहने देखिन्छ । यद्यपि, विभिन्न बहाना ल्याएर बजार उचाल्ने कोसिस भने हुन्छ नै । अहिले अर्थ मन्त्रालयले पुस मसान्तभित्र पुँजीगत खर्च ३० प्रतिशत पुर्याउने निर्देशन दिएको खबर बाहिरिएको छ भने स्थानीय तहमा जाने पैसाको ७५ प्रतिशतसम्मको रकम निक्षेपमा गणना गर्न पाइने बताइएको छ ।
यसले सेयर बजारमा सकारात्मक प्रभाव पार्ने भनेर ब्याख्या भइरहेको छ । तर, अर्कोतिर सूचीकृत कम्पनीहरुको नाफामा कमी आएको भने देखिँदैन । जसलाई भज्याएर बजार बढाउने कोसिस पनि चलिरहकै छ । तर, पुस अत्यन्तै कठिन महिना मानिने भएकाले सेयर बजारमा लागि पनि सामान्यतयः सुखद् रहँदैन् । यद्यपि, निरन्तर बजार घट्ने ट्रेन्डलाई ‘क्रम’ गर्ने प्रवृत्ति कायम राखेर बेला-बेला बढाउने कोसिस पनि रहन्छ । यद्यपि, परिस्थिति सहज भए पनि माघ १५ भन्दा अघि बजारले सकारात्मक दिशा पच्छ्याउन भने गाह्रो छ ।