काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले क्षेत्रपाटीस्थित क्षेत्रपाटी निःशुल्क चिकित्सालयमा जडित अक्सिजन प्लान्टको उद्घाटन गरेकी छिन् ।
दया फाउण्डेसन, अमेरिकामा रहेको नेपालीहरूको संस्था युनाइटेड नेवा, आईओएन लगायतका दर्जन बढी संस्था तथा व्यक्तिको सहयोगमा क्षेत्रपाटीमा रहेको क्षेत्रपाटी निःशुल्क चिकित्सालयमा जडान गरिएको दैनिक एक सय सिलिन्डर क्षमताको अक्सिजन प्लान्टको औपचारिक उ्दघाटन भएको हो ।
१ करोड ४५ लाखको लागतमा निर्मित अक्सिजन प्लान्टको उद्घाटन गर्दै मन्त्री भुसालले बढ्दो कोरोना महामारीविरुद्ध लड्न थप मद्दत मिल्ने विश्वास व्यक्त गरिन् । मन्त्री भुसालले विश्वभर नयाँ–नयाँ भाइरसको प्रभाव बढिरहेको सन्दर्भमा नेपालमा पूर्व तयारी आवश्यक रहेको बताउँदै उक्त अस्पतालमा अक्सिजन प्लान्टले जनताको जीवन रक्षामा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताइन् ।
यस्तै चिकित्सालयले सहरी क्षेत्रको बीचमा रहेर न्यून आय भएका, गरिब, असहाय जनताको सेवामा समर्पणको उच्च सम्मान गर्दै सरकारले अस्पताललाई थप सहयोग गर्दै अघि बढ्ने जानकारी गराइन् । यस्तै चिकित्सालयलाई सरकारले निःशुल्क विद्युत् उपलब्ध गराउने प्रतिबद्धतासमेत जनाउँदै प्रक्रिया अघि बढाउने आश्वासन दिएकी हुन् ।
कार्यक्रममा क्षत्रपाटी निःशुल्क चिकित्सालयले यही पुस १ गतेबाट शनिबारको दिनमा समेत ओपीडी सेवा सुरु गरिएको जानकारी दिएको छ । अस्पतालले सामान्य शल्यक्रियासमेत गर्दै आएकोमा अब विशेष प्रकारको शल्यक्रिया सेवासमेत थप गर्दै अघि बढ्ने तयारी गरिरहेको जनाएको छ ।
अस्पतालका अनुसार अक्सिजन प्लान्ट स्थापनाका लागि युनाइटेड नेवा नामक संस्थाले १५ लाख, आईओएनले २० लाख, नेपाल परिवार जर्मनले पाँच लाख, एनआरटी क्लबले पाँच लाख, ढल्को परिवारले तीन लाख, हातेमालो वनस्थलीले पाँच लाख रुपैयाँ सहयोग गरेका थिए ।