काठमाडौं । तीन वर्षदेखि परराष्ट्र मन्त्रालयले कूटनीतिक नियोगका कर्मचारीलाई विदेश भ्रमणका लागि ट्राभल एजेन्सीको टेन्डर गरेको छैन ।
हरेक वर्ष नयाँ टेन्डर आह्वान गरेर ट्राभल छनौट गर्नुपर्ने भए पनि परराष्ट्र मन्त्रालयका कर्मचारीको मिलेमतोमा नयाँ टेन्डर आह्वान नगरिएको बुझिएको छ ।
नेपालबाट विदेशमा विभिन्न समयमा सरकारी कर्मचारी, कूटनीतिक नियोगका कर्मचारी र विशिष्ट व्यक्तिहरूको भ्रमणका लागि परराष्ट्र मन्त्रालयले ट्राभल एजेन्सी छनौट गर्नुपर्ने हुन्छ । तर, पछिल्लो तीन वर्षयता विभिन्न कारण देखाउँदै परराष्ट्रले टेन्डर गरेको छैन ।
विगत चार वर्षदेखि सिलिंक्स ट्राभलले कूटनीतिक भ्रमणका लागि टिकटको काम गर्दै आइरहेको छ ।
मन्त्रालयका प्रवक्ता सेवा लम्सालले अदालतको अन्तरिम आदेश र कोभिडका कारण यसअघि टेन्डर हुन नसकेको बताउँदै अवस्था सामान्य हुँदै गएकाले त्यसका लागि आवश्यक प्रक्रिया अघि बढेको बताएकी छिन् । कोभिडको बीचमा हवाई सेवा पनि सञ्चालन नभएको र बाहिरी मुलुकमा जाने अवस्था पनि नभएका कारण यसअघि ट्राभलको जरुरत नभएको उनको भनाइ छ ।
तर, परराष्ट्रले कोभिडअघि नै टेन्डर गर्नुपर्ने भए पनि त्यसो नगरेर एउटै ट्राभललाई फाइदा पुग्ने गरी मौन बसेको छ ।
टेन्डरका लागि आवश्यक तयारी थाल्न मन्त्रालयले कमिटी गठनार्थ छलफल अघि बढाएको र केही महिनाभित्रै टेन्डर आव्हान गर्न लागिएको लम्सालले बताइन् ।
यसअघि भएको टेन्डर रद्ध भएपछि अदालतमा मुद्धा परेको थियो । मुद्धाका कारण केही समयसम्म नयाँ प्रक्रियामा जान नमिल्ने भएपछि त्यतिकै रोकिएको र पछि समस्या समधान भएर नयाँ टेन्डर आव्हान गर्ने तयारी भइरहेका बेला कोभिड महामारीले रोकिएको प्रवक्ता लम्सालले दाबी गरिन् ।
मन्त्रालयका एक उच्च अधिकारीले भने कोभिडका कारण अधिकाशं एयरलाइन्सहरुले नेपालसँगको उडान बन्द गरेको कारण नयाँ टेण्डर नगरी पुरानै मूल्यमा सो ट्राभल एजेन्सीले उडान गर्ने सहमति भएकोले उसैलाई निरन्तरता दिइएको बताए ।
’४ वर्षदेखि पुरानै दर रेटमा सिलिक्सले उडान गरिरहेको र कोभिडको बेला समस्या भएकोले पनि नयाँ टेण्डर नगरिएको हो,ती अधिकारीले भने,अवस्था सामान्य भएसँगै नयाँ प्रक्रियाका लागि तयारी थालिएको छ‘ ।
क–कसकाे भ्रमण कहाँ-कहाँ ?
आर्थिक वर्ष २०७८/७९ को पाँच महिनामा परराष्ट्र मन्त्रालयमार्फत कति जना व्यक्तिहरू विदेशमा गए भन्ने यकिन संख्या नभए पनि उच्चपदस्थ अधिकारीहरु विभिन्न सभासम्मेलनमा भाग लिन विदेश भ्रमण गरिरहेका छन् । कुटनीतिक नियोगमार्फत नै प्रधानमन्त्री शेरबहादुर देउवा गत कात्तिकमा स्कटल्यान्डको ग्लास्गोमा भएको जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय खाका महासन्धि (यूएनएफसीसीसी) का पक्ष राष्ट्रको २६ औं सम्मेलनमा सहभागी हुन गएका थिए । उनीसँगै अन्य २० जना सदस्यसमेत सो सम्मेलनमा सहभागी थिए ।
परराष्ट्र मन्त्री डा. नारायण खड्का असोज ६ गते अमेरिकामा उडे । राष्ट्रसंघीय महासभामा सहभागी हुन उनीसँगै परराष्ट्र सचिव भरतराज पौडेल, युएन महाशाखाका प्रमुख लगायतका अधिकारीहरु पनि न्युयोर्क गएका थिए ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ कात्तिक ७ गते छैटौं श्रममन्त्रीस्तरीय आबुधाबी डाइलगमा सहभागी हुन दुबई पुगे । मन्त्रीसँगै मन्त्रालयका सचिव सूर्यप्रसाद गौतम र उपसचिव थानेश्वर भुसाल पनि त्यहाँ पुगेका थिए ।
यस्तै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आले कात्तिक १४ गते ट्राभल एन्ड टुरिजम एक्स्पो (डब्लूटीएम) को कार्यक्रममा भाग लिन बेलायत गएका थिए । उनको साथमा पर्यटन सचिव यादव कोइराला ,नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मी सहितको टोली थियो । यसबाहेक उनी एक महिनाअघि मात्र भारत भ्रमणमा पनि गएका थिए ।
विश्व व्यापार संगठन (डब्लूटीओ) को बैंठकमा भाग लिन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव दिनेश भट्टराई स्विट्जरल्यान्डको जेनेभा पुगेका थिए ।
तर, कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनका कारण बैठकमा सहभागी नै नभई फर्किएका थिए ।