बागलुङ । खानेपानीको समस्या भएको बागलुङ नगरपालिका–८ स्थित बाँस्बोट र लाम्पाटा क्षेत्रमा ‘एक घर एक धारा’ निर्माण सम्पन्न भएको छ । खानेपानीको समस्या भएको साँयकोट क्षेत्रमा गत वर्ष नै ६५ घरमा खानेपानीका घारा जडान भइसकेका छन् । अहिले अर्को समस्या ग्रस्त क्षेत्र आलबारी, बाँसकोट, लाम्पाटा, पाखावारी लगायतका क्षेत्रमा खानेपानीको धारा निर्माण भएर पानी पुर्याएको छ ।
अव्यवस्थित सामुदायिक खानेपानीको धारा रहेको उक्त क्षेत्रमा मुस्किलले दिनमा दुई घण्टा मात्रै पानी आउनेमा अहिले घरमै मिटर सहितको धारा जडान भएको सिगानाका स्थानीय कोपिला खड्काले बताए । अव्यवस्थित रुपमा रहेको खानेपानीलाई व्यवस्थित गरी घरघरमा धारा जडान गर्दा यस स्थानका स्थानीयहरु खुसीले दंग परेका छन् ।
उनीहरुले सामुदायिक धारामापानीको पालो समेत पर्खनुपर्ने बाध्यता थियो । खानेपानीको समस्या भोग्दै आएका बागलुङ–८ सिगाना लामिचौर दलित बस्ती बाहेककका २१ मुहानमा खानेपानीको काम चलिरहेको बागलुङ–८ सिगाना खानेपानी तथा सरसफाइ आयोजनाका अध्यक्ष यज्ञराज गाैतमले जानकारी दिए ।
“२०७३ सालबाट यहाँ २१ साना÷ठूला मुहानममा खानेपानीको काम भइरहेको छ, अहिले लाम्पाटा लगायतको क्षेत्रमा ६५ घरमा खानेपानी पुरयाएका छौं”, उनले भने “बहुवर्षे योजनाअन्तर्गत अहिले कोरीखोला क्षेत्रमा समेत ६५ घरमा खानेपानीको काम भइरहेको छ तर लाम्पाटा, पाखावारी लगायतका क्षेत्रमा एक महिनादेखि घर घरमा खानेपानी पुगिसकेको छ ।”
हालसम्म सो स्थानमा जम्मा १२ सामुदायिक धारा, अव्यवस्थित, असहज पानीको वितरण थियो । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, बागलुङको बजेटअनुसार अहिले सिगानामा धमाधम एक घर एक धारा लगायत खानेपानीको पहुँच पुर्याउने काम भइरहेको छ ।
पैसठ्ठी घरमा धारा पुर्याउनका लागि चितेपानी आलावारीको मुहानबाट पानी ल्याएर २० हजार लिटर क्षमताको पानी संकलन ट्याङ्की निर्माण गरी बितरण गरिएको छ । ती घरमा मात्रै खानेपानी पुर्याउन २५ लाख रूपैयाँ खर्च भइसकेको सो आयोजनाले जनाएको छ । रासस