२४० वर्षे राजतन्त्रको निर्मूलनसँगै नारायणहिटी दरबार सार्वजनिक संग्रहालय बन्यो । विभिन्न कालखण्ड पार गर्दै देश अहिले संघीयताको प्रारम्भिक अभ्यासमा छ । तर, आज पनि ‘दरबारमार्ग’ को अस्तित्व उस्तै छ, उत्तिकै छ । कारण, दरबारमार्गलाई ‘दरबारमार्ग’ बनाइराख्ने केही सिम्बोल छन्– यहाँका ब्रान्डेड सप ।
दरबारमार्गको शेर्पा मल आफैंमा ह्यापिनिङ प्लेस हो । यसमा पछिल्लो पटक झन् ब्रान्डेड सप र अन्तर्राष्ट्रिय चेन रेष्टुराँले यसलाई थप गुल्जार बनाएको छ ।
शेर्पा मलमा अन्तर्राष्ट्रिय चेन रेष्टुराँ हार्डरक क्याफे सञ्चालनमा आएसँगै दरबारमार्गमा नयाँ ब्रान्ड थपिएको हो । विश्वप्रख्यात ब्रान्डका सोरुम र पसल दरबारमार्गमै छन् । हाई प्रोफाइलहरूका लागि सपिङ गन्तव्य रहेको दरबारमार्गमा अन्तर्राष्ट्रिय चेन रेष्टुराँ हार्डरक क्याफेको प्रवेशले सपिङसँगै खानामा रमाउनेहरूका लागि नयाँ बहाना थपिएको छ ।
हार्डरक क्याफेलाई व्यवसायी सञ्जीव तुलाधरले नेपाल ल्याएका हुन् । तुलाधर नेपालमा अन्तर्राष्ट्रिय ब्रान्डलाई प्रवेश गराउनेमा माहिर मानिन्छन् ।
तुलाधरले लामो समयदेखि नेपालमा विभिन्न विदेशी ब्रान्ड भित्र्याउँदै आएका व्यक्ति हुन् । उनले एडिडास, लिभाइज, रिबकलगायतका विश्व प्रसिद्ध ब्रान्डलाई आधिकारिक रुपमा नेपालमा भित्राएका ब्रान्डमा रमाउने उपभोक्तासँग नजिकिएका छन् । उनले अब विश्वप्रसिद्ध ब्रान्ड डकर्स पनि ल्याउने तयारी गरेका छन् ।
सन् २००० मा एडिडास ब्रान्ड भित्राएर आफ्नो व्यावसायिक यात्रालाई ब्रान्डतर्फ उन्मुख गराएका तुलाधरको व्यावसायिक करियर भने सन् १९९५ बाटै सुरु भएको थियो । तुलाधर सन् १९९७ मा किकर्स ब्रान्ड भित्राइसकेका थिए । जब उनले एडिडास ब्रान्ड भित्राए त्यसपछि उनलाई ब्रान्डेड बाहेकका अरुमा चाहना बढेन । त्यसको केही समयपछि उनले रिबकलाई पनि नेपाल भित्राए । काठमाडौंको पाटनढोकामा जन्मिएका तुलाधरको बुबा रियल स्टेट बिजनेसमा थिए ।
काठमाडौंमै हुर्किएका तुलाधर पनि सानैदेखि व्यवसायमा हात हाले । न्युरोडबाट आफ्नो व्यावसायिक करिअरलाई अघि बढाएका उनले विस्तारै दरबारमार्ग हुँदै पुतलीसडक, पाटनलगायतका क्षेत्रमा व्यवसाय फैलाएका छन् । उनले दरबारमार्गमा व्यवसाय सुरु गर्दा ट्राभल एजेन्सी र सुन पसलहरू बढी थिए । तर, विस्तारै दरबारमार्गले परिचय बदल्दै फेसनहबको रुपमा विस्तार ग¥यो र विभिन्न ब्रान्डहरूको नजर त्यही प¥यो । अहिले ब्रान्डेड सोरुमहरूको लहरनै लागेको छ ।
‘अहिले नेपाली ब्रान्डहरू पनि राम्रा र गुणस्तरीय आइरहेको छ, यो राम्रो हो’, उनले भने । ब्रान्डमा रमाउनेहरूका लागि पहिला विदेशी ब्रान्ड मात्र थियो, अहिले पनि विदेशी ब्रान्ड नेपालमा नपाए विदेशमा सपिङ गर्ने ठूलै जमात रहेको तुलाधर बताउँछन् ।
डेढ दशकमा नेपालीहरूबीच ब्रान्डेड जुत्ता र लुगा लगाउने कल्चरनै विकास भइरहेको छ । पहिले–पहिले विदेशमा गएर ब्रान्डेड लुगा र जुत्ताहरू ल्याउने गरेकोमा अहिले नेपालमै पाइन थालेपछि उपभोक्ताहरूलाई पनि सहज भएको उनले बताए ।
‘ब्रान्डेड सामानमा भन्सार बढी तिर्नुपरेकाले पनि बजारमा महँगो शुल्क परेको हो । भन्सार शुल्क महँगो भएकाले नक्कली ब्रान्डहरू पनि नेपालमा भित्रिने जोखिम भने धेरै छ,’ उनले भने ।
भन्सारमा नक्कली र सक्कली नहेरिने भएकाले पनि ग्राहकहरू त्यसबाट पीडित भइरहेका छन् । केहिले कमसल खालका सामानहरू ल्याएर ब्रान्डको स्टिकर टाँसेर बिक्री गरेको हल्लाहरू पनि सुनिने गरेको उनी बताउँछन् ।
शेर्पा मलको व्यवस्थापनसमेत तुलाधरकै कम्पनीले गरिरहेको छ । मलमा ३३ प्रतिशतमा त उनको आफ्नै पसलहरू छन् । एडिडासको सोरुम उनले पहिला पुतलीसडकमा खोलेका थिए । बजार विस्तार गर्ने क्रममा उनले दरबारमार्गलाई रोजेका छन् । दरबारमार्गमा करिब १५ वर्षदेखि उनले सोरुम सञ्चालन गरिरहेका छन् ।
मल्टिब्रान्ड सोरुम पनि विस्तार गर्दै लैजाने सोचसमेत उनले बनाएका छन् । ‘सबैले राम्रो रेस्पोन्स गरेको कारणले पनि सबै ब्रान्डहरूलाई एकै ठाउँमा दिने गरी काम गर्ने योजनामा छु,’ उनले भने ।
तुलाधरले शेर्पा मलसहित मर्कन्टाइल प्लाजाको पनि व्यवस्थापन गर्दै आएका छन् । सपिङ मलहरू सञ्चालनका लागि ब्रान्डको सोरुम भयो भने अझै व्यावसायिकतामा उत्कृष्ट हुने उनको धारणा छ ।
लामो समयदेखि रेष्टुराँमा लगानी विस्तार गर्ने योजना बनाइरहेका तुलाधरले लामोसमयदेखि अन्तर्राष्ट्रिय ब्रान्डकै रेष्टुराँ ल्याउने तयारी गरिरहेका थिए । उनलाई हार्डरक क्याफे नेपाल ल्याउन पाए हुन्थ्यो भन्ने लागिरहेको थियो ।
हार्डरक क्याफे इन्डियासँग कुरा गरेर उनले हार्डरक क्याफेको मुख्यालय अमेरिकामा कुरा गरे । हार्डरक क्याफेको व्यवस्थापन यो कुरामा सकारात्मक भयो । हार्डरकको क्षेत्रीय कार्यालय सिंगापुरबाट नेपालका लागि सम्झौता भयो ।
काम सुरु गर्ने बेलामा कोभिड र लकडाउनको चपेटामा तुलाधर परे । उनी काम अघि बढाउने कि नबढाउने भन्ने अन्योलमा थिए । र, मनमनै जोखिम लिने नै योजना बनाएर कामलाई अघि बढाए । त्यसैको परिणाम अन्तर्राष्ट्रिय ब्रान्ड, विश्वको ७० देशभन्दा बढी ठाउँमा फैलिएको हार्डरक क्याफे नेपाल प्रवेश गर्यो ।
क्याफेमा संगीत उद्योगका केही प्रख्यात कलाकारहरू लेडी गागा, रिहाना, मेटालिका, द रोलिङ स्टोन्स र माइकल ज्याक्सनको स्मरणीय मेमोरेबिलिया, प्रदर्शन गर्नुका साथै, क्याफेले अमेरिकाको प्रसिद्ध मेनु र हस्तसिल्पबाट बनाइने ककटेल्स उपलब्ध हुन्छ ।मलको पहिलो र माथिल्लो तल्लामा सञ्चालनमा आएको रेष्टुराँले करिब २ सय ६० जना अटाउने गरी भित्री भागका साथसाथै बाहिरी छत पनि समेटेको छु । जहाँ बसेर दरबारमार्गको सुन्दर दृश्य अवलोकन गर्न सकिन्छ ।
क्याफेको मेनुको सबैभन्दा मुख्य आकर्षण भनेकै बर्गर हो, जसका लागि हार्डरक प्रसिद्ध छ । बर्गरहरूमा चेद्दार चिजसँग मिसाइएको राँगाको मासुसहित, क्रिस्पी प्याज रिङ, लेटस पत्ता र भाइन–रिपेण्ड गोलभेंडा भएको प्रख्यात बर्गरसमेत रहेको छ, जसलाई हार्डरकको मौलिक पहिचान बनेको स्टिक ससका साथ उपलब्ध गराइने रेष्टुराँले जनाएको छ ।
यसैगरी मेनुमा ग्रिल्ड, ताजा, इच्छाइएको चिकन वा पोलेको मकैको साथमा क्यालिफोर्निया स्टाइलको कब–चिकन, कालोसिमी र आयातित चेद्दार चीजको साथमा सलाद रहनेछ भने स्यान्डबीचहरू बार्बिक्यू गरिएको चिकन वा ग्रील्ड हनी मस्टर्ड चिकन सबै सिजनिङ गरेर वा चीज फ्राई गरेर पस्किइनेछ ।
मेनुमा संलग्न परिकारहरूमध्ये एक आकर्षण बेबी ब्याक पोर्क रिब्स पनि हो, जुन खास गरेर हार्डरक क्याफे काठमाडौंका लागि डेनमार्कबाट आयात गरिएको छ । ७५० ग्राम रिब्सलाई मौलिक स्पाइस ब्लेन्डसँग सिजनिङ गरिन्छ, त्यसपछि घरेलु बार्बिक्यू ससको साथमा मिसाएर सटिकताका लागि ग्रील्ड गरिन्छ र सिजन्ड फ्राइज, कोलस्ल र ¥यान्च स्टाइलका सिमीहरूसँग पस्किइन्छ ।
क्याफेले प्रारम्भमा हरेक दिन राति स्थानीय कलाकारहरूको सांगीतिक सिर्जना प्रस्तुत गर्नेछ भने हरेक शनिबार दिउँसो १ देखि ३ बजेसम्म एकोइस्टिक ब्रन्चको सञ्चालन गर्नेछ ।
क्याफेमा अमेरिकाको प्रसिद्ध मेनु तथा ककटेल राखिएको छ । तर, नेपाली मेनुलाई पनि केही समावेश गर्ने उद्देश्यका साथ अहिले कुरा अघि बढिरहेको तुलाधरले बताए । रेन्बो ट्राउटसहितको नेपाली मेनुलाई राख्ने तयारी भएको छ । त्यसका लागि अनुमतिको प्रक्रिया अघि बढेको छ । उनीहरूले अहिले ५ देखि ६ वटा मेनु राख्नका लागि मौखिक सहमति दिएको तुलाधरले बताए ।