कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–१० झलारीका महिला सहकारी सञ्चालन गरी स्वरोजगार बन्दै गएका छन् । बैजनाथ महिला विकास बहुउद्देश्यीय सहकारी संस्था सञ्चालन गरी महिला आयआर्जनका कार्यमा संलग्न हुन थालेका छन् । सहकारीमा रकम बचतसँगै ऋण निकालेर महिलाले व्यावसायिक कृषि, व्यापार र पशुपन्छीपालन गर्दै आएका छन् ।
महिलाले नै व्यवस्थापन गर्दै आएको सहकारी संस्थामा नगरपालिका क्षेत्रका एक हजार ११८ महिला आवद्ध छन् । महिलासँगै सहकारीमा किशोरी ५६ र बालबालिका १ सय ४५ समेत आबद्ध छन् । सहकारीका व्यवस्थापक बिना क्षेत्रीका अनुसार १ सय ९३ महिला व्यावसायिक कृषि, ८१ व्यापार व्यवसाय र ४८ महिला पशुपन्छीपालनमा संलग्न छन् ।
कृषि कर्जा ४८ लाख ३३ हजार ८० रुपैयाँ, व्यापार कर्जा २० लाख १४ हजार १ सय ६० रुपैयाँ र पशुपन्छीपालनलगायत अन्य कर्जा १२ लाख ८ हजार ४ सय ९१ गरी जम्मा ८० लाख ५६ हजार ६ सय ३१ रुपैयाँ ऋणका रुपमा परिचालन गरिएको छ ।
आव २०७७/७८ मा मात्रै ६४ लाख ५८ हजार रुपैयाँ कर्जा महिलाले उत्पादनशिल क्षेत्रमा प्रवाह गरेका छन् । सहकारीमा आवद्ध महिलाको ५० लाख ८५ हजार ६ सय ५५ रुपैयाँ बचत छ । सहकारीको सेयर पुँजी १४ लाख २१ हजार ९ सय रुपैयाँ छ ।
“सहकारीमा आबद्ध सदस्यको निधन भएमा परिवारलाई २ हजार किरिया खर्च उपलब्ध गराउने व्यवस्थासमेत गरेका छौँ”, व्यवस्थापक क्षेत्रीले भने, “व्यवसायीक कार्यमा संलग्न महिलालाई विना धितो १ लाख रुपैयाँसम्मको ऋणसमेत सहुलियत ब्याजमा उपलव्ध गराउँदै आएका छौं ।”
कार्यालयबाटै कर्मचारीलाई वर्षमा एक पटक पोशाक भत्तावापतको रकमसमेत उपलव्ध गराइँदै आएको छ । कोरोना महामारीबाट मृत्यु भएका सदस्यका परिवारलाई ५ हजारका दरले र विपदमा परी धनसम्पत्ति गुमाएका समेतलाई राहतस्वरुप सोहीअनुरुपको सहयोग रकमसमेत उपलव्ध गराइँदै आएको व्यवस्थापक क्षेत्रीले बताए । ६० सेयर सदस्यबाट सुरु गरिएको सहकारीमा हाल १ हजार २ सय २७ सदस्य छन् ।
“आर्थिक, सामाजिक, शैक्षिक, स्वास्थ्य र हिंसामा परेका महिला र पछि परेको वर्गका महिलाको उन्नति तथा विकासमा पहुँच बढाउन सहकारीले महत्वपूर्ण योगदान दिँदै आएको छ”, सहकारीका पूर्वअध्यक्ष द्वारिका कुँवरले भने, “महिला अधिकारको संरक्षणसँगै गरीब तथा पिछडिएका महिलाको आर्थिक तथा सामाजिक अवस्थामा सुधार ल्याउन महत्वपूर्ण योगदान गरेको छ ।” महिलामाथि हुने हिंसा न्यूनीकरणका लागि समाजमा जनचेतना फैलाउने कार्यसमेत सहकारीका तर्फबाट हुँदै आएको उनको भनाइ छ । रासस