ललितपुर । नेपाल इन्स्योरेन्स सर्भेयर एसोसिएसन (निसा) को अध्यक्षमा मोहन पुरुष ढकाल निर्वाचित भएका छन् । एसोसिएसनको सम्पन्न १३औं वार्षिक साधारणसभा तथा ८औं अधिवेशनबाट ९ सदस्यीय कार्यसमितिको नेतृत्व गर्दै आगामी दुई वर्षका लागि ढकाल अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् ।
अधिवेशनबाट उपाध्यक्षमा देउकाजी गुरुङ, महासचिवमा पवित्र विक्रम राणा, सचिवमा बुद्घकाजी श्रेष्ठ, कोषाध्यक्षमा दिलमान चन्द निर्वाचित भएका छन् । यसैगरी एसोसिएसनका सदस्यहरुमा शिशिर गैरे, प्रवेश पौडेल, अमरचन्द्र निराला र दीपक रानाभाट छन् ।
एसोसिएसनको संस्थापक महासचिव हुँदै ढकालले धेरै पटकको कार्यसमितिमा उपाध्यक्षको जिम्मेवारी बहन गरिसकेका छन् ।
नवनिर्वाचित अध्याक्ष ढकालले आफ्नो नेतृत्वमा सर्भेयरहरुको साझा संस्था निसालाई नयाँ आयामबाट माथि उठाउन प्रतिबद्घ भएर लाग्ने बताउँदै समग्र बिमा व्यवसायका सरोकारवाला सबै निकायबाट सहकार्य र सहयोगको अपेक्षा गरेको बताएका छन् ।
बिमाको कार्यप्रक्रिया बिमितको दाबीबाट सुरु हुने तथा बिमाको कार्यप्रक्रियाका लागि कागजात र सबुद प्रमाण आवश्यक हुन्छ भन्ने जानकारीको अभाव बिमितमा अहिले पनि रहेको उनले बताए ।
‘सर्भेयरले कागजात र सबुद प्रमाण माग गर्नुलाई क्षतिपूर्ति नदिनलाई गरेको प्रपञचका रूपमा प्रायः बिमितहश्रले लिने गर्छन् । छिटोछरितो दाबी फरफारक गरी जनमानसमा बिमा क्षेत्रप्रति आस्था जगाउनका लागि बिमितमा बिमा सचेतना बढाउनैपर्छ,’ उनले कार्यक्रममा भने ।
अधिवेशनको उद्घाटन समारोहमा एसोसिएसनका सल्लाहकार शिवाश्चन साःख, निवर्तमान अध्यक्ष सूर्यप्रसाद जोशीलगायतले सर्भेयरले फिल्डमा आवश्यक जाँचबुझ गरी क्षति मूल्यांकन गर्दा बहुआयामिक समस्याहरु सामना गर्नुपरिरहेको चर्चा गर्दै बिमा कम्पनीले बिमालेख जारी गरेका बखतमा त्यसमा रहेका प्रावधान र बन्देजहरुबार बिमितलाई समयमै अवगत नगराइदिँदा त्यसबाट उत्पन्न समस्या, कार्यक्षेत्रमा खटिएका सर्भेयरले व्यहोर्नुपरेको बताए ।