काठमाडौं । म्याग्दीका निर्मल पुर्जाले नकारात्मक प्रचार गर्दै सगरमाथा आरोहणका क्रममा आरोहीहरुको लाम लागेको फोटो ३०० पाउन्डमा बिक्री गर्दै आएका छन् ।
गत वर्षको वसन्त ऋतुमा सगरमाथा आरोहणका क्रममा हिलारीस्टेप र साउथपोल क्षेत्र पुगेका आरोहीहरुको तस्बिर पुर्जाले गलत प्रचार गर्दै बेलायतमा बिक्री गरेको पाइएको छ । उनी बेलायत सेनाबाट यसै वर्ष अवकाश पाएका हुन्
सगरमाथा आरोहणका क्रममा गत मे २२ मा बिहान ९ बजे उक्त फोटो पुर्जाले आफ्नो गाइडलाई खिच्न लगाएका थिए । चुचुरो पुगेर फर्कने क्रममा उनी अगाडि उभिएर खिचिएको फोटो बेलायतमा ‘फोटो प्रुभ निम्सदाई’ लेखेर प्रिन्ट गरी बिक्रीवितरण गर्दे आएको पाइएको छ ।
वेबसाइटमै मूल्य तोकेर पुर्जाले नेपाल र सगरमाथाको गलत प्रचार गर्दै फोटो बिक्री गरेको भन्दै पर्यटन विभागका महानिर्देशक डण्डुराज घिमिरेले कारबाही गर्ने बताए । पुर्जाले आफ्नै सामाजिक सञ्जालका एकाउन्टबाट पाँचसय प्रतिमात्र बाँकी भन्दै खरिद गर्न आह्वानसमेत गरेका छन् ।
व्यक्तिगत फाइदाका लागि जे पनि गर्न नहुने भन्दै उनले सगरमाथामा यस वर्ष मात्र नभएर सधैं लाम हुने गरेको, तर यस वर्ष आरोही पुर्जाले बढी गलत प्रचार गर्दे आएको समेत विभागले पुष्टि गरेको छ ।
सगरमाथामा मे २२ र २३ तारिखमा भएको लामलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत बेलायतबाट प्रसारित बीबीसी टेलिभिजनले अन्तर्वार्ता लिएको थियो । तर, सगरमाथामा एकै पटक आरोहीहरु जाने गरेकाले ट्राफिक जाम नभएर लाम भएको पर्यटन मन्त्रालयले स्पष्ट पारेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराईले नेपालको बदमान हुने गरी कुनै पनि गतिविधि गर्न छुट कसैलाई नभएको र यस्तो गरेको पाइए कारबाही गर्ने बताए । सगरमाथा नेपालको मात्र नभएर विश्वकै सम्पत्ति हो, यसको कुप्रचार गर्न नहुने उनको भनाइ छ ।