काठमाडौं । स्वास्थ्योपचार गर्न सिङ्गापुर पुगेका प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किएपछि मात्रै दूधको मूल्य बढ्ने भएको छ । दूधको मूल्य निर्धारण गर्न गठित समितिले कृषिमन्त्री चक्रपाणि खनाललाई प्रतिवेदन बुझाए पनि तत्काल निर्धारण नहुने मन्त्रालय स्रोतले जानकारी दिएको छ ।
कृषिमन्त्री चक्रपाणि खनाल पनि दूधको मूल्यवृद्धि गर्ने पक्षमा रहेको र मन्त्रालयमा आन्तरिक छलफल गरी प्रधानमन्त्रीको सहमतिमा मात्रै मूल्य कति र कसरी बढाउने भन्ने टुुङ्गो लाग्ने मन्त्रालयका प्रवक्ता तेजबहादुर सुवेदीले जानकारी दिए । उनले कार्यदलले दूधको मूल्य निर्धारण सम्बन्धमा रायसुझावसहित प्रतिवेदन बुझाएकाले मन्त्रालयले दुग्ध संस्थान, निजी डेरी उद्योग र सरोकारवालासँग छलफल गरेर मात्रै अघि बढ्ने बताए ।
उनका अनुसार, भारतबाट झोल दूध आयात भइरहेको अवस्थामा स्वदेशी दूधको मूल्य बढाउँदा व्यापारीले चलखेल गर्न सक्ने र वास्तविक दूध किसानले कसरी बढेको मूल्य पाउँछन् भन्नेमा थप छलफल हुनुपर्छ । खुला सीमाका कारण भारतबाट कच्चा दूध आयात गरेकोमा मूल्य बढाइदिने बित्तिकै व्यापारीले आयातित दूध नै बिक्री गर्दा किसानको दूध नबिक्ने भएकाले त्यतातर्फ पनि मन्त्रालयले ठोस निगरानी र अनुगमन गर्न जरुरी रहेको सुवेदीले बताए ।
प्रधानमन्त्री ओली स्वदेश फर्किएपछि कृषिमन्त्रीले दूधको मूल्यवृद्धिसम्बन्धी प्रस्ताव प्रधानमन्त्रीलाई बुझाउने र त्यसपछि मात्रै दूधको मूल्यवृद्धिको टुङ्गो लाग्ने उनले बताए । प्रधानमन्त्री ओलीको स्वास्थ्योपचार झन्डै १ महिना लम्बिने स्रोतको दाबी छ ।
गत साउन २९ गते दूधको मूल्य निर्धारण गर्न दुग्ध विकास बोर्डका अध्यक्ष बाबुकाजी पन्तको संयोजकत्वमा ८ सदस्यीय कार्यदलले प्रतिवेदन बुझाएको थियो । कार्यदलले ६÷६ महिनामा दूध बढी उत्पादन हुने (लिङ्क सिजन) र दूध उत्पादन कम हुने (ड्राई सिजन)मा फरकफरक मूल्य तोक्न प्रस्ताव गरेको थियो ।
ड्राई सिजनमा प्रतिलिटर १० रुपैयाँ र लिङ्क सिजनमा ६ रुपैयाँ प्रतिलिटर बढाएर दूध बिक्री गर्न कार्यदलले प्रस्ताव पेस गरेको थियो ।