काठमाडौं । निजी क्षेत्रका वायुसेवा कम्पनीहरुको छाता संगठन वायुसेवा सञ्चालक संघ नेपाल (एओएएन) ले नयाँ कार्यसमिति चयन गरेको छ । एओएएनले सिम्रिक एयरका कार्यकारी अध्यक्ष क्याप्टेन रामेश्वर थापाको अध्यक्षतामा २ वर्षका लागि नयाँ कार्यसमिति चयन गरेको हो ।
शुक्रबार भएको २१ औं वार्षिक साधारणसभाले अध्यक्षमा थापासहित १४ सदस्य कार्यसमिति चयन गरेको हो । नवनियुक्त अध्यक्ष क्याप्टेन थापाले आफ्नो कार्यकालमा वायुसेवाको सुरक्षास्तरलाई अझै उचाइमा पुर्याउने र नेपाली वायुसेवाको सुरक्षा सुदृढीकरणलाई बढीभन्दा बढी विश्वासिलो बनाउँदै जाने बताएका छन् ।
त्यस्तै नेपाल नागरिक उड्डयन प्राधिकरणसँग हातेमालो गर्दै नेपाली हवाई उद्योगमा हाल कायम रहेका विभिन्न समस्यालाई निराकरण गर्ने उनको भनाइ छ ।
कोभिड महामारीका कारण हवाई उद्योग उठ्न नसक्ने गरी अप्ठेरोमा परेको र विगत १ वर्षदेखि लगातार हवाई इन्धनमा भएको बढोत्तरीले झनै कठिनाइ थपिएको उनले बताए । हाल अन्तर्राष्ट्रिय पर्यटकको आवागमन नै बन्द भएकाले उड्डयन क्षेत्र शिथिल भइरहेको र यस्तो अवस्थामा पुनः ओमिक्रोन भाइरस देखिएकाले अझै अप्ठेरा दिन आउन सक्ने अध्यक्ष थापाको अनुमान छ ।
यस्तै विमानस्थलमा पशुपन्छीको उपस्थितिले हवाई सुरक्षाको चुनौती बढेकाले सरकार एवम् नेपाल नागरिक उड्डयन प्राधिकरणले समस्या न्यूनिकरण तर्फ ध्यान दिनुपर्ने उनले बताए ।
अध्यक्ष थापा विगत दुई दशकदेखि हेलिकप्टर कम्पनी सञ्चालन गर्दै आएका छन् । साथै सन् २००२ देखि हेलिकप्टर प्रशिक्षक पाइलटका रुपमा क्रियाशील रहेका छन् । यसअघि पनि उनी ३ कार्यकालसम्म संघको अध्यक्ष भइसकेका छन् ।
नयाँ कार्यसमितिमा अध्यक्ष क्याप्टेन रामेश्वर थापा (सिम्रिक एयर) सहित प्रथम उपाध्यक्ष अनोज रिमाल (यति एयरलाईन्स), द्वितीय उपाध्यक्ष गोपाल भट्टराई (शौर्य एयरलाइन्स), तृतीय उपाध्यक्ष निमा नुरु शेर्पा (अल्टिच्युड एयर) रहेका छन् ।
महासचिवमा मनोज कार्की (समिट एयर) रहेका छन् भने सचिवमा राजु न्यौपाने (मनाङ एयर) र कोषाध्यक्षमा रुपेश जोशी (बुद्ध एयर) रहेका छन् ।
सदस्यहरुमा फुरु ग्याल्जे शेर्पा (हेली एभरेष्ट), सुवास अमात्य (प्रभु हेलिकप्टर), अनिल मानन्धर (एयरलाइन्स) प्रज्वल थापा (गुण एयरलाइन्स) श्रीहरि कुइँकेल (कैलाश हेलिकप्टर सर्भिसेस्) बालकृष्ण पण्डित (एयर डाइनेस्टी हेली सर्भिसेस्) रहेका संघले जनाएको छ ।
वार्षिक साधारणसभामा वायुसेवा कम्पनीका अध्यक्ष, प्रबन्ध निर्देशक, प्रमुख कार्यकारी अधिकृत, कार्यकारी प्रमुख तथा उच्चपदस्थ पदाधिकारीको उपस्थिति रहेको थियो ।