काठमाडौं । बुद्ध एयरको एटीआर ७२ सिट भएको जहाज पोखरा उडाउने पाइलटलाई व्यवस्थापनले प्रतिउडान २ हजार रुपैयाँ प्रोत्साहन भत्ता दिने गरेको खुलेको छ ।
बुद्ध एयरका वरिष्ठ पाइलटहरुले एटीआर ७२ सिट भएको जहाज पोखरामा अवतरण गर्न नसकिने अडान राखेपछि व्यवस्थापनले २ हजार रुपैयाँ भत्ताको लोभ देखाएको खुलेको हो ।
अहिले बुद्धले पोखरामा दैनिक ६ वटा उडान भइरहेको छ । एउटा उडानबाट २ हजारका दरले भत्ता लिँदा १२ हजार रुपैयाँ पाइलटले पाउँछन् । त्यही लोभमा अहिले बुद्धको ७२ सिटे जहाज पोखरा उडिरहेको छ ।
सुरक्षाका दृष्टिकोणबाट बुद्ध एयरको ७२ सिटर जहाज पोखरामा अवतरण गर्न सकिँदैन् । पाइलटले जोखिम मोलेरै ल्यान्ड गरिरहेका छन् । जबरर्जस्ती पोखरा उडाउन खोज्दा कुनै दिन अप्रिय घटना हुन सक्ने नेपाल नागरिक उड्डयन प्राधिकरण स्रोतले बताएको छ ।
बुद्ध एयर व्यवस्थापनले अन्य क्षेत्रमा उडान गर्दा पाइलटलाई प्रोत्साहन भत्ता दिएको छैन । साना जहाजबाट पोखरा उडाउँदा पनि भत्ताको व्यवस्था छैन । तर, ठूलो जहाज उठाउँदा भने प्रति उडान २ हजार रुपैयाँ भत्ता दिइएको छ ।
सुरुमा बुद्ध एयरका पाइलटलले ठूलो जहाज पोखरा लैजाने विषयमा व्यवस्थापनसँग गम्भीर असन्तुष्टि जनाएका थिए । सुरक्षाका दृष्टिकोणबाट ठूलो जहाज लैजान जोखिम हुन्छ भनेर व्यवस्थापनलाई सुझाएका थिए । तर, व्यवस्थापनले उल्टै आर्थिक प्रलोभनमा परेर यात्रुको जीवनलाई उच्च जोखिममा पारेर ठूलो जहाज पोखरा उडाइरहेका छन् ।
नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) भने यस विषयमा मौन छ । क्यानको नेतृत्वलाई एटीआर ७२ सिटर जहाज पोखरा लैजान मिल्दैन भन्ने थाहा हुँदाहुँदै उडान अनुमति दिएको हो ।
क्यान र बुद्ध एयर व्यवस्थापनको मिलेमतोमा बुद्धको ठूलो जहाज उडाउन दिइएको क्यानकै अधिकारी बताउँछन् । बुद्ध एयरका प्रवक्ता रुपेश जोशीले एटीआर ७२ सिट भएको जहाज पोखरा उडाउने पाइलटलाई कुनै पनि अतिरिक्त सेवा सुविधा नदिएको बताए । ‘यो सब हल्ला मात्रै हो,’ उनले भने, ‘अन्य क्षेत्र र पोखरा उडाउनेलाई समान व्यवहार गरिएको छ ।’
यो पनि हेर्नुहोस
यात्रुको जीवनमाथि गम्भीर खेलवाड गर्ने बुद्ध एयरलाई नियामकको संरक्षण