काठमाडौं । नेपालको बैंकिङ प्रणालीमा तरलता अभावको समस्या समाधानका लागि गैरआवासीय नेपाली तथा उनीहरूद्वारा प्रबर्द्धित संस्थामार्फत विदेशी मुद्रामा निक्षेप संकलन गर्न सक्ने व्यवस्था राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो समीक्षामार्फत गरेको छ ।
राष्ट्र बैंकले अर्थ मन्त्रालयसँग उक्त व्यवस्था कार्यान्वयनका लागि अनुमति मागेपछि अर्थमन्त्रालयले परराष्ट्र मन्त्रालयलाई विदेशस्थित नेपाली नियोगलाई निक्षेप संकलनका लागि अनुमति मागेको थियो ।
पराराष्ट्र मन्त्रालयले विदेशीस्थित नियोगलाई पत्र पठाएपछि गैरआवासीय नेपालीद्वारा प्रबर्धित संस्थाले नेपालका वाणिज्य बैंकमा ५ हजार डलर बराबरको परिवर्त्य मुद्रा राख्न पाउने भएका छन् । यसैक्रममा ग्लोबल आईएमई बैंकले गैरआवासीय नेपाली तथा गैरआवासीय नेपालीद्वारा प्रबर्धित विदेशस्थित संस्थालाई लक्षित गरी ६ वटा विभिन्न विदेशी मुद्राका नयाँ खाता सञ्चालनमा ल्याएको छ ।
बैंकले सञ्चालनमा ल्याएका नयाँ खातामा ग्लोबल एनआरएन एफसीवाई बचत तथा मुद्दती निक्षेप खाता रहेका छन् । अमेरिकी डलर, पाउन्ड स्टर्लिङ, युरो, अष्ट्रेलियन डलर, चाइनिज युआन र जापानिज येनमा खोल्न सकिने एनआरएन एफसीवाई बचत तथा मुद्दती खातामा आकर्षक ब्याजदर प्रदान गरिने बैंकले जनाएको छ ।
यस्ता खातामा अमेरिकी डलर पाँच हजार वा सो बराबरको परिवर्त्य विदेशी मुद्रा न्यूनतम मौज्दात कायम गर्नुपर्ने बताइएको छ ।
उक्त खाता सञ्चालकलाई कार्ड जारी गर्दा लाग्ने वार्षिक शुल्कमा छुट प्रदान गर्नुका साथै मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ आदिको शुल्कमा छुट तथा खातावाला वा खातावालाको परिवारलाई घरकर्जा तथा सवारीकर्जा प्रवाह गर्दा लाग्ने शुल्कमा विशेष छुट दिइने बैंकले जनाएको छ ।
अनलाइनबाट पनि खोल्न मिल्ने उक्त खातामा सञ्चालकलाई विदेशी मुद्रा नेपालीमा सटही गर्नुपरेमा पनि विशेष प्रिमियम प्रदान भएको छ । साथै उक्त साँवा तथा आर्जन गरेको ब्याज रकम सोही मुद्रामा फिर्ता गर्नु परेमा सहज रूपमा निःशुल्क गर्न सकिने व्यवस्था बैंकले मिलाएको छ ।
बैंकका देशभर २८७ शाखा सञ्जाल तथा ३ अन्तर्राष्ट्रिय सम्पर्क कार्यालयसहित ८५० भन्दा बढी सेवाकेन्द्रमार्फत २७ लाख ग्राहकलाई प्रत्यक्ष बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।