काठमाडौं । रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) प्रणालीमा १ विकास बैंक र ६ वित्त कम्पनी जोडिएका छन् । सप्तकोसी विकास बैंक, बेस्ट फाइनान्स, गुर्खाज् फाइनान्स, गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्डफाइनान्स, गुडविल फाइनान्स, प्रोग्रेसिभ फाइनान्स तथा रिलायन्स फाइनान्स यस प्रणालीमा आवद्ध भएका हुन् ।
यसअघि २७ वटा वाणिज्य बैंक, ८ विकास बैंक र २ वित्त कम्पनी प्रणालीमा सञ्चालनमा आइसकेका छन् । आरटीजीएस प्रणालीमा रहेका बैंक तथा वित्तीय संस्थामध्ये ४२ वटा संस्था एनसीएचएलद्वारा सञ्चालित सो प्रणालीमा जोडिएका हुन् ।
आरटीजीएस प्रणालीमार्फत २ लाखभन्दा माथिका र तत्काल गरिने भुक्तानी अब यी विकास बैंक र वित्त कम्पनीका ग्राहक वा अन्तर बैंक भुक्तानीका लागि प्रयोग गर्न सक्नेछन् ।
ग्राहकले आरटीजीएस प्रणाली प्रयोग गर्न बैंक तथा वित्तीय संस्थालाई सम्पर्क गरी सो सेवा लिन सक्नेछन् ।
एनसीएचएलले बैंक तथा वित्तीय संस्थालाई थप सुविधा प्रदान गर्न नेपाल राष्ट्र बैंकले लागू गरेको आरटीजीएस प्रणालीसँग जोडिन बैंक तथा वित्तीय संस्थाका कोर बैंकिंङ प्रणालीसँग इन्टिग्रेट गर्न कनेक्ट आरटीजीएस प्रणाली प्रदान गरेको हो ।
आरटीजीएस प्रणालीको पहुँचसँगै विद्युतीय कारोबारको आकार पनि उल्लेख्य वृद्धि हुने अपेक्षा गरिएको छ ।