काठमाडौं । गत असोज ११ गते बिहान काठमाडौंबाट विराटनगर उडेको बुद्ध एयरको ९ एन–एएनआइ कल साइन नम्बरको जहाज गन्तव्य स्थल नै नपुगी बीचबाटोबाटै काठमाडौं फर्कियो ।
बुद्ध एयरको उक्त कल साइन नम्बरको जहाजको ह्वील लक नखुलेको संकेत एयर ट्राफिक कन्ट्रोल (एटीसी)ले गरे पछि उक्त जहाज विराटनगर ल्यान्ड गर्न नसकी काठमाडौंमा फोर्स ल्यान्ड गर्न ल्याइएको थियो ।
एटीसीले बारम्बार एकापट्टीको ह्वील खुलेको र अर्कोपट्टि ह्वील नखुलेको संकेत गरेको थियो । तर, पछि जहाज नजिक ल्याएर हेर्दा जहाजको दुवै पट्टीको पाङ्ग्रा खुलेको देखियो । सेन्सरले काम नगरेको भनियो ।
असोज १२ गते काठमाडौंबाट पोखराका लागि बिहान ७ बजे उडेको जहाजको ककपिटमा धुँवा भरिएपछि एकाएक काठमाडौंमा आपतकालीन अवतरण गरियो । असोज ११ गते जुन जहाजमा समस्या आएको थियो ।
सोही जहाज हो, १२ गते ककपिटमा धुँवा भरिएको । त्यसको अढाई महिना पछि अर्थात पुस १ गते पुन बुद्ध एयरको भरतपुरबाट काठमाडौं उडेको जहाजको एकाएक इन्जिन नै फेल भए पछि भरतपुरमै आकस्मिक अवतरण गरियो ।
बुद्ध एयरको जहाजमा एक पछि अर्को गम्भीर समस्या हुँदा पनि हवाई क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयान प्राधिकरण (क्यान)ले बुद्ध एयरमाथि कुनै अनुसन्धान गरेको छैन । अनुसन्धान गर्नुको साटो बुद्ध एयरको जहाजमा यस्तो गम्भीर समस्या बारम्बार दोहोरिँदा पनि नियामक निकाय थाहा नै नपाए जसरी बसेको छ ।
जुन जहाजमा समस्या देखियो, त्यही जहाजलाई तत्काल उडान भर्न दिनु, जहाजमाथि अनुसन्धान गर्नुको साटो पाइलटलाई कारबाहीको दायरामा ल्याएर जहाजलाई चोख्याउनुले नियामक निकाय नै बुद्ध एयरको इसारामा चलेको आरोप लाग्न थालेको छ । यात्रुको जीवनमाथि बारम्बार खेलवाड गर्दा पनि नियामक निकाय आँखा चिम्लिएर बसेको क्यानकै अधिकारीहरु बताउँछन् ।
निरीह नियामक, शक्तिशाली बुद्ध एयर
बुद्ध एयरको जहाजमाथि बारम्बार गम्भीर समस्या आउनु पक्कै जहाजमा केही कमजोरी छ । एक पटक केही समस्या देखिन सक्छ । तर, तीन महिनाको बीचमा बारम्बार समस्या आउँदा पनि नियामक निकाय मौन बस्नुको पछाडि बुद्ध एयरसँग क्यानको केही चल्दैन भन्ने हो । जहाजमा केही न केही समस्या छ । त्यो छानबिनबाट देखिनु पर्छ । प्रतिवेदनमा उल्लेख हुनुपर्छ । तर, यहाँ बुद्ध एयरको जहाजमाथि छानबिन नै हुँदैन । छानबिन गरे पनि औपचारिकता पूरा गरिन्छ । छानबिन प्रतिवेदन सार्वजनिक नगर्ने क्यान स्रोत बताउँछ ।
बुद्ध एयरले पनि जहाजमा बारम्बार समस्या किन आइरहेको छ भनेर हेरेको छैन । नियामक निकाय पनि यात्रुको जीवनसँग प्रत्यक्ष सरोकार राख्ने एयरलाइन्सलाई कारबाही गर्न अघि नसर्नुले विभिन्न शंका उत्पन्न गरेको क्यानकै अधिकारीहरु बताउँछन् ।
क्यानका अधिकारी भन्छन्, ‘आज पनि भरतपुरबाट काठामाडौं उडेको जहाजको इन्जिन फेल भए पनि भरतपुरमै आकस्मिक अवतरण गरिएको सुन्नमा आएको छ । तर, त्यसको पनि छानबिन नहुने प्रवल सम्भावना रहेको ती अधिकारी सुनाउँछन् । ‘इन्जिन फेल हुनु कदापि सामान्य कुरा होइन्,’ ती अधिकारी भन्छन्, ‘तैपनि अहिलेसम्म प्राधिकरणले कुनै छानबिन प्रक्रिया अघि बढाएको छैन ।’
ममर्त सम्भार नै नगरी उड्छन्, बुद्धका जहाज
आफूलाई हवाई क्षेत्रको पायोनियर दाबी गर्दै आएको बुद्ध एयरले आफ्ना जहाज समय समयमा मर्मत नै नगरी उडाएको क्यानका अधिकारीहरुको दाबी छ ।
जहाजमा जुन प्रकारको गम्भीर समस्या आइरहेको छ, त्यसलाई आँकलन गर्दा जहाज मर्मत नगरी वा फेर्नुपर्ने सामान नै नफेरी उडाएको हुनसक्ने क्यान स्रोतको दाबी छ । यस अघि पनि बुद्धको जहाजमा समस्या देखिएको छ । तर, उसका जहाजमाथि क्यानले कुनै छानबिन गरेको छैन । छानबिन गरेर सत्यतथ्य सार्वजनिक नगर्ने हो भने यात्रुहरु जुनसुकै बेला जस्तोसुकै परिस्थितिको सामना गर्न बाध्य हुने ती अधिकारीको भनाइ छ ।
क्यानले किन देख्दैन बुद्धको जहाजमा समस्या ?
क्यानका पदाधिकारीहरु बुद्ध एयरको जहाजमा कुनै समस्या देख्दैनन् । कतिपय अवस्थामा बुद्ध एयरमा भएको समस्या समेत क्यानका अधिकारीलाई हुने गरेको छैन् । क्यानले असोज ११ मा भएको घटनामा जहाजमा कुनै खराबी नदेखिएको रिर्पोट सार्वजनिक गरेर पाइटललाई कारबाही गरिएको थियो ।
क्यानले जहाज ठिक छ भनेर प्रतिवेदन सार्वजनिक गरेको जहाजको भोलिपल्टै ककपिटमा धुँवा भरिएको थियो । क्यानले ठिक भनेको जहाजमा कसरी धुँवा भरिन्छ ? क्यानका अधिकारी भन्छन् ।
बुद्ध एयर नियामक, क्यान सेवा प्रदायक जस्तो देखियो
बुद्ध एयरमा बारम्बार समस्या आउँदा पनि नियामक निकाय गम्भीर नदेखिए पछि क्यानभित्र बुद्ध एयर नियामक र क्यान सेवा प्रदायक जस्तो भएको आँकलन गर्न थालेका छन् । बुद्ध एयरले जे गरे पनि क्यानले छुनै नसक्ने अवस्था आए पछि क्यानभित्र यस्तो सन्देश प्रवाह भएको हो । पटक–पटक समस्या बुद्ध एयरको विमानमा यसअघि पनि बारम्बार समस्या आउने गरेको छ ।
गन्तव्यमा पुगेर अवतरण गराउन नसकि फर्काउने क्रम दोहोरिइरहेको छ । गत साउन १० गते काठमाडौंबाट धनगढीका लागि उडेको जहाज काठमाडौंमै आकस्मिक अवतरण गरिएको थियो । जहाजको हाइड्रोलिकमा समस्या भएपछि काठमाडौंमा अवतरण गरिएका हो ।
यसैगरी, केहीं समयअघि काठमाडौंबाट नेपालगञ्ज उडेको बुद्धको जहाज पनि नेपालगञ्जमा ल्याण्ड नगरी काठमाडौंमा ल्याएर अवतरण गरिएको थियो । २०७० सालअघि बुद्ध एयरका विमानमा पटक–पटक समस्या आउनुका साथै दुर्घटनासमेत भएका थिए । एयरलाइन्सहरुको रेटिङ गर्ने वेबसाइट ‘एयरलाइन्स रेटिङ डट कम’ ले पनि बुद्ध एयरलाई कमजोर रेटिङ दिएको थियो ।
प्राविधिक समस्या देखिएका जहाज धेरै पुराना
यस कम्पनीमा अहिले रहेका केही जहाज धेरै पुराना भएकाले पनि समस्या निस्किएको जानकारहरु बताउँछन् । बुद्ध एयरका समस्या आएका दुवै जहाज १४ वर्ष र २४ वर्ष पुराना हुन् । जहाज पुराना हुँदैमा समस्या हुँदैनन्, तर समय समयमा मर्मत गर्नुपर्छ । तर, बुद्ध एयरले खर्च जोगाउन समय समयमा मर्मत नगरेको क्यानका अधिकारी बताउँछन् । बुद्ध एयरका जहाजमा समय–समयमा समस्या आइरहे पनि कम्पनीले यसलाई टालटुल मात्रै गर्दै आएको छ । नियामक निकाय उड्डयन प्राधिकरणले पनि वास्ता गरेको छैन ।