काठमाडाैं । हरियाली साग । बोटमा लटरम्म गोलभेंडा, स्याउ, आरु, अलैंचीका बोट पनि । कुनै कृषि फार्ममा गएजस्तो महसुस हुन्थ्यो । राति परेको तुसारो बोटमा सेताम्मे थियो । केही खेत खनेर उब्जनीका लागि तयारी अवस्थामा छन् । विभिन्न मौसमका बिरुवा लगाउन ‘ट्याङ’ खनेर राखिएको छ । यो कुनै व्यक्तिले सञ्चालन गरेको फर्म नभएर सार्वजनिक विद्यालयले गरेको कर्म हो ।
निजी विद्यालयमा आकर्षण बढिरहेका बेला सीपसहितको शिक्षाका लागि अनवरत रूपमा खटिएको छ, बूढानीलकण्ठ माध्यमिक विद्यालय । ५ देखि १२ कक्षा सञ्चालन गरेको विद्यालयमा एक हजार १ सय ३५ विद्यार्थी छन् । उनीहरु पनि विद्यालयको करेसाबारीमा काम गर्छन् । सरकारले ल्याएको पढ्दै कमाउँदै कार्यक्रम लागू हुने चरणमा रहेका बेला विद्यालयले गरेको कामको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले प्रशंसा गरेका छन् ।
विद्यार्थी र शिक्षकका लागि होस्टेलको व्यवस्था भएको विद्यालयमा आईटी, विज्ञान, कृषिलगायतका विषयमा प्रयोगात्मकसहित अध्ययन हुन्छ । ‘सिक्दै सिकाउँदै, रमाउँदै कमाउँदै’ भन्ने नाराका साथ विद्यालयले विद्यार्थीलाई जीवनोपयोगी शिक्षासहित अध्ययन गराइरहेको छ । देशकै उत्कृष्ट नतिजा ल्याउने दाबी गरेको विद्यालयले डा. महावीर पुनको सहयोगमा विज्ञान प्रयोगशालामार्फत रोबट बनाउने काममा अनुसन्धान गरिरहेको छ ।
विहीबार बिहान सोही विद्यालयको निरीक्षण गरेका मन्त्री पौडेलले सार्वजनिक शिक्षा सुधारका लागि आफ्नो पहिलो प्राथमिकता रहेको बताए ।
विद्यालयले निर्वाहमुखी कृषि प्रणालीभन्दा वैज्ञानिक कृषि प्रणालीमा आधारित रहेर काम गर्नुपर्ने मन्त्रीले सुझाव दिए । ‘विद्यालयको शैक्षिक गतिविधि राम्रो गरेको छ’ उनले भने ‘उत्पादनलाई बढाएर बजारीकरण हुने गरी काम गर्नुहोस् ।’
बजारमा जमिनको अभाव भएको बताउँदै भएको जमिनलाई व्यवस्थित गरी सिक्दै कमाउँदै कार्यक्रमलाई उदाहरणको रुपमा देखाउन मन्त्रीले आग्रह गरे । यस्तै विद्यालयका प्रध्यानाध्यापक होमनाथ आचार्यले विद्यालयले उत्पादन गरेको तरकारी बजारीकरण गरेर आम्दान गर्न थालेको जानकारी गराए ।
‘११ सय ३५ विद्यार्थीलाई तरकारी बाहिरबाट ल्याउनु पर्दैन’ आचार्य भने, ‘तरकारी खेतीबाट पहिलो सिजनमा १५ लाख आम्दानी गर्न सफल भयौं ।’
मन्त्री पौडेलले विद्यार्थीको पढाईको विषयमा जिज्ञासा राखेका थिए । निरीक्षणमा पुगेका मन्त्रीलाई विद्यालयको विज्ञान ल्याब बनाइदिन विद्यार्थीले आग्रहसमेत गरेका थिए ।