काठमाडौं । बैंकले सेयर किन्न रकम उपलब्ध गराउन नसक्ने भएपछि त्यसको असर सेयर बजारमा परेको छ । लगानीकर्ताले सेयर किन्नका लागि बैंकसँग पैसा मागेका थिए । तर, बैंकले अहिले सेयर किन्नका लागि ऋण दिन नसक्ने भनेपछि त्यसको असर बजारमा परेको हो ।
खासगरी, ठूला लगानीकर्ता सेयर किन्न इच्छुक देखिएका छन् । तर, बैंकले ऋण दिन नसक्ने भएपछि उनीहरु सेयर किन्नबाट वञ्चित भएका हुन् । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ३१९९ अंकबाट २२ सयमै ओर्लिएपछि ठूला लगानीकर्ता सेयर किन्न इच्छुक भएका हुन् । तर, बैंकले सेयर किन्नका लागि पैसा दिन नसक्ने बताएपछि उनीहरु सेयर किन्नबाट वञ्चित हुँदा सूचक घटेको हो ।
मंगलबार सकारात्मक सर्किट लागेर बजार साढे १ बजे नै बजार बन्द भएको थियो । तर, बुधबार सामान्य अंकले घटेर बजार बन्द भएको थियो । साताको अन्तिम दिन ३७.८७ अंकले घटेर सूचक २३७६.७४ बिन्दुमा आइपुगेको छ ।
सेयर बजार घट्नुको प्रमखु कारण तरलता अभाव भएको छ । बैंकमा लगानी योग्य रकम चरम अभाव भएपछि त्यसको प्रत्यक्ष असर बजारमा परिरहेको छ । केन्द्रीय बैंकले तरलता अभाव समस्या हटाउन लागि पर्ने भने पनि त्यसले वास्तविक रूप लिएको छैन । सरकारले पुँजीगत खर्च बढाउन सकेको छैन ।
अर्थमन्त्री जनार्दन शर्माले हरेक महिना १० प्रतिशत पुँजीगत खर्च गर्ने उद्घोष गरेका थिए । तर, चालू आर्थिक वर्षको पहिलो ४ महिनामा ६.१३ प्रतिशत मात्रै पुँजीगत खर्च भइरहेको छ । अहिले भएभरको रकम राज्यको ढुकुटीमा थन्किएर बसेको असर पनि अर्थतन्त्रमा परेको छ ।
बजारमा तरलता अभाव चरम हुँदै गएपछि कारोबार रकम पनि घट्दै गएको छ । बिहीबार २ अर्ब ३० करोड रुपैयाँको मात्रै सेयर किनबेच भएको छ । जबकि कुनै दिन २१ अर्ब रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो ।
बिहीबार सबैभन्दा बढी मूल्य नेपाल बंगलादेश बैंकको बढेको छ । यसको ९.९९ प्रतिशतले मूल्य बढेको हो । त्यसैगरी, स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको मूल्य ५.५३ प्रतिशले बढेको छ ।
बिहीबार जलविद्युत् समूहको सूचकमा भने पहिरो गएको छ । बिहीबार ग्रिनलाइफ हाइड्रो पावरको मूल्य ७ प्रतिशतभन्दा बढीले घटेको छ । घट्दो बजारमा सबैभन्दा बढी प्रभु बैंकको कारोबार भएको छ ।