काठमाडौं । जिल्ला सहकारी संघ चितवनले साझा पेट्रोलपम्प र तोरीको तेल मिल सञ्चालन गर्दै आएको छ । सहकारीलाई उत्पादनमा लैजाने उद्देश्यका साथ संघले पम्प र तेले मिल सञ्चालन गर्दै आएको हो ।
३८१ वटा सहकारीको संयुक्त लगानीमा करिब ६ करोडको लागतमा दुई वर्ष अघिदेखि साझा पेट्रोल पम्प सञ्चालनमा ल्याएको संघका व्यवस्थापक विनीत खतिवडाले जानकारी दिए । प्रारम्भिक लागत साढे तीन करोडबाट गरिएको भए पनि निर्माण अवधि बढेसँगै लागत पनि बढेको उनले बताए ।
प्रत्येक सहकारीकाे न्यूनतम १० हजारदेखि ३० लाख रुपैयाँसम्म सेयर रहेकाे छ ।
२ लाख ४ हजार लिटर क्षमताको पम्पमा एक सातासम्मका लागि डिजेल÷ पेट्रोल भण्डारण गर्न सक्ने क्षमता रहेको छ । संघले गत वर्ष १ करोड रुपैयाँ र यो वर्ष १ करोड ३० लाख रुपैयाँ मुनाफा कमाएको जनाएको छ । त्यसका लागि आवश्यक २ वटा गाडी राखिएको छ । पम्पले सुरुमा दैनिक ७ लाख रुपैयाँ आम्दानी गर्दै आएकामा अहिले बढेर ३० लाख रुपैयाँसम्म पुगेको संघका व्यवस्थापक खतिवडा बताउँछन् ।
पम्पमा अपांगमैत्री शौचालय, चमेनागृह, किराना पसल लगायतको सुविधा छ । एकैपटकमा चार डिजल र चार पेट्रोलका गरी आठवटा सवारीसाधनले इन्धन भर्न सक्ने व्यवस्था छ ।
यसबाहेक सहकारी संघले लामो समयदेखि तोरीको तेलसमेत उत्पादन गर्दै आइरहेको छ । २०३३ सालबाटै तेल उत्पादन गर्दै आएको संघले त्यसलाई परिमार्जन गरी आधुनिक मिल सञ्चालनका लागि आवश्यक तयारीसमेत अगाडि बढाएको जानकारी दिएको छ ।
दैनिक २ सय लिटर तेल उत्पादन गर्दै आएको सो मिलले विषेश गरी सहकारी संस्थालाई मात्र तेल बिक्रि गर्दै आएको छ । मिलको दैनिक उत्पादन क्षमता ३०० लिटर रहेको छ । साथै नयाँ ट्रेडमार्क लिएर व्यावसायिक रुपमा आक्रामकका साथ अघि बढ्ने तयारी संघले थालेको छ ।
यस्तै संघको ४ बिघा १६ कठ्ठा जग्गासमेत रहको छ ।
संघले जिल्ला भ्रमणमा आउने सहकारी संस्थाका प्रतिनिधिलाई लक्षित गरी सहकारी आवासगृह निर्माणको प्रक्रियासमेत अघि बढाएको जनाएको छ ।