काठमाडौं । अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्भले ब्याजदर बढाउन तयारी थालेपछि विश्व बजारमा डलर महँगो भएको छ । अमेरिकामा मुद्रास्फीति दर ४० वर्षयता उच्च विन्दुमा पुगेपछि यसलाई नियन्त्रणमा ल्याउन त्यहाँको केन्द्रीय बैंक फेडरल रिजर्भले ब्याजदर बढाउने तयारी गरेको हो । ब्याजदर बढाउने विषयमा फेडरलले चाँडै निर्णय गर्दै छ ।
अमेकिामा मुद्रास्फीतिदर ६ प्रतिशत पुगेको छ । कति बढाउने भन्ने अहिले यकिन भएको छैन । तर, बढ्ने निश्चित भएको छ । अहिले फेडरल रिजर्भले अमेरिकामा ब्याजदर ०.२५ प्रतिशत तोकेको छ । कोराेना महामारीका कारण २ वर्षदेखि फेडले ब्याजदरमा परिवर्तन गरेको छैन ।
ब्याजदर बढ्ने भएपछि भारतमा आएको लगानी फेरि अमेरिकामा फिर्ता जान थालेपछि भारु पनि कमजोर बनेको छ । भारु कमजोर बनेपछि नेपाली रुपैयाँ पनि कमजोर हुन गई बुधबार १ डलर बराबर १२१ रुपैयाँ ६९ पैसा पुगेको छ ।
भारतीय रिजर्भ बैंक (आरबीआई) का अनुसार भारु कमजोर भई १ डलर बराबर ७५.३५ भारु पुगेको छ । भारु र नेपाली रुपैयाँबीच स्थिर विनिमयदर (फिक्स पेग) भएकाले भारु बलियो भए नेपाली रुपैयाँ मजबुत र कमजोर भए अवमूल्यन हुने गरेको छ । अहिलेको अवस्था भएको यही हो ।
२०७७ वैशाख ९ गते विश्व बजारमा कच्चा तेलको भाउ तल्लो विन्दुमा पुगेपछि अमेरिकी डलर झनै बलियो भएको थियो । कोरोना भाइरसको विश्वव्यापी महामारीले कच्चा तेलको भाउमा भारी गिरावट आएपछि डलरमा उछाल आएको हो ।
त्यसबेला विश्व बजारमा तेलको भाउ घटेर प्रतिब्यारल १४.३५ डलरमा झरेको थियो । त्यस बेला नेपाल राष्ट्र बैंकले १ डलर बराबर १२२ रुपैयाँ ७६ पैसा बिक्री दर तोकेको थियो । अहिलेको अवस्था हेर्दा भारु थप कमजोर हुने संभावना बढेको छ । यसले नेपाली रुपैयाँ झनै कमजोर हुनेछ ।
कोभिड महामारीका कारण विश्व अर्थतन्त्र आफैं अनुमान गर्न नसक्ने अवस्थातिर (अनप्रिडिक्टेबल च्यालेन्जतिर) गइरहेको छ । गैर आर्थिक समस्या (नन इकोनामिक प्रोब्लम) का लागि कहीँ इकोनमिक सलुसन खोजेपछि अमेरिकामा मुद्रास्फिती उच्च विन्दुमा पुगेको बताइएको छ ।
अमेरिकाको फेडरल रिजर्भका अध्यक्ष जेरमी पावेलको पुनः नियुक्तिका बेला ‘नन इकोनोमिक प्रोबलम्बस्का’ लागि बढी ‘इकोनोमिक सलुसन्स’ खोजेर यस्तो समस्या आएको हो की भन्ने कुरा उठेको थियो ।
अहिले अमेरिकामा ठ्याक्कै त्यही कुरा उठिरहेको छ । उनीमाथि लचिलो मौद्रिक नीति लिएको आरोप लाग्ने गरेको छ । त्यसको परिणाम स्वरुप अमेरिका उच्च मुद्रास्फीतिको अवस्थामा गइरहेको छ ।
फेडरले रिजर्भले ब्याजदर बढाउने भएपछि डलर मजबुत हुन गएको नेपाल राष्ट्र बैंक बैंक तथा वित्तीय संस्था सुपरीवेक्षण विभागका कार्यकारी निर्देशक डा. गुणाकर भट्ट बताउँछन् ।
फेडरल रिजर्भले ब्याजदर बढाएपछि विश्वभरी अमेरिकामा लगानी फिर्ता जाने गरेको उनको भनाइ छ । भारतबाट पनि डलरमा लगानी फिर्ता जान थालेपछि भारु कमजोर हुन गई यसको असर नेपालमा परेको भट्टले स्पष्टपारे ।
राष्ट्र बैंकका अनुसार अहिले डलर १ प्रतिशतभन्दा बढीले कमजोर हुन पुगेको छ । सन २००८ को विश्व आर्थिक मन्दीपछि अमेरिकाको अर्थतन्त्र कमजोर भएको थियो ।
सन् २०१३ पछि फेडरल रिजर्भले ब्याजदर बढाएपछि लगानी अमेरिकातिर फिर्ता जान थालेको थियो । भारत र चीनलगायत उदयीमान अर्थतन्त्रमा आएको लगानी पुनः अमेरिकातिर फर्केको थियो ।
डलर बलियो हुँदै जानु नेपाली अर्थतन्त्रका लागि थप चुनौति आएको अर्थशास्त्रीहरुको भनाइ छ । डलर महंगिदा विदेशमा काम गर्ने नेपालीले पठाउने रेमिट्यान्स आप्रवाहमा वृद्धि हुन्छ । डलरमा पठाउने रेमिट्यान्स बढी हुने छ । यस्तै निर्यात व्यापारमा फाइदा हुन्छ । डलरमा निर्यात हुने भएकाले व्यवसायीलाई फाइदा हुने छ । यस्तै पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले कर्पोरेट कर घटाएपछि डलर मजबुत भएको थियो ।
यसैगरी आयात गरिने वस्तु महँगो हुने भएकाले बजार भाउ बढ्न सक्ने छ । पेट्रोलियम पदार्थको भाउ पनि बढाउने छ । यस्तै विदेशी कच्चा पदार्थमा निर्भर उद्योगको लागतमा वृद्धि हुने छ ।
डलर बढ्दा सरकारलाई विदेशी ऋण र साँवा भुक्तानीमा अतिरिक्त भार पर्छ । डलर महंगो भएपछि नेपालले तिर्नुपर्ने दायित्व बढी हुने छ । यसैगरी विदेशी कम्पनीहरुले लाभांश फिर्ता लैजाँदा बढी दिनुपर्छ ।
यसले गर्दा ती कम्पनीहरुलाई फाइदा हुनेछ । जलविद्युत कम्पनीहरुले विदेशबाट उपकरण आयात गर्दा डलरमा भुक्तानी गर्छन । यस्तै ठेकेदार कम्पनीहरुलाई पनि केही प्रतिशत डलरमा भुक्तानी गर्छन् ।
यसले गर्दा आयोजनाको लागत बढ्ने गरेको छ । भरर्खरै सम्पन्न ४५६ मेगावाटको माथिल्लो तामाकोसीको लागत बढाउने एउटा कारण डलर पनि हो । त्यसबेला ठेक्का लगाउँदा ८० रुपैयाँ थियो ।