दमौली । आर्थिक वर्ष ०७७/७८ मा व्यास नगरपालिकाले ११ किलोमिटर सडक कालोपत्रे गरेको छ । पूर्वाधार निर्माणलाई जोड दिएको नगरपालिकाले एक वर्षका अवधिमा विभिन्न ठाउँका सडक कालोपत्रे गरेको सहरी पूर्वाधार तथा प्राविधिक शाखाका प्रमुख वरिष्ठ इञ्जिनियर डा राजु पौडेलले जानकारी दिए । उनका अनुसार सोही अवधिमा ५.१५ किमी सडक ग्राभेल भएको छ भने ७.०५ किमी सडकको नयाँ ट्रयाक खोलिएको छ भने ७४.८५ किमी सडकको स्तरोन्नति तथा मर्मत सुधार गरिएको छ ।
नगरपालिकाले ५ सय ५५ नयाँ धारा निर्माण, १ सय २२ खानेपानी योजना मर्मत सुधार र २५ हजार १०० ढल निर्माण तथा सुधार गरेको जनाएको छ । डा. उनले व्यास–११ तनहुँसुर जाड्ने खड्गकाली मार्गमा हालसम्म एक हजार ५ सय मिटर सडक कालोपत्रे गरिएको र ५ हजार ७ सय ७५ मिटर नाला निर्माण सम्पन्न भएको बताए। खड्गकाली मार्ग कालोपत्रेका लागि व्यास नगरपालिकाको ५ करोड र सङ्घीय सरकारको ५ करोड रूपैयाँ लगानी छ ।
“खड्गकाली मार्गको सङ्घीय सरकारको समपुरक अनुदानमार्फत स्वीकृत भई गत आर्थिक वर्षमा नै टेण्डर स्वीकृत भई सम्झौतापश्चात् काम भइरहेको छ,” शाखा प्रमुख डा पौडेलले भने, “बाटो चौडाका लागि कटिङको काम, ग्यावियन लगाउने काम, प्लम कङ्क्रिटको नाला बनाउने काम सकिएको छ । हालसम्म कूल कामको करिब ८० प्रतिशत काम भइसकेको छ ।”
यसैगरी दमौली केशवटार मार्ग (केशवटार बजार) मा ६ सय ६७ मिटर सडक कालोपत्रे भएको छ भने ६ सय ५० मी नाला निर्माण भएको छ । दमौली केशवटार मार्ग (पोखरीभञ्ज्याङ बजार) मा ८ सय मिटर सडक कालोपत्रे भएको छ भने ६ सय ९१ मिटर नाला निर्माण भएको छ । क्यामिन मार्गमा ८ सय ६५ मिटर सडक कालोपत्रे भएको छ भने ४ सय २५ मिटर नाला निर्माण भएको छ ।
कलेस्ती मार्गमा १ हजार १८० मी सडक कालोपत्रे भएको छ भने एक हजार १६० मिटर नाला निर्माण भएको छ । वडा कार्यालय पहुँच मार्ग व्यास–१० मा ७९० मिटर सडक कालोपत्रे भएको छ भने ४८२ मिटर नाला निर्माण भएको छ । छिर्कन वडा कार्यालय मार्गमा ४०५ मिटर सडक कालोपत्रे भएको छ भने ४१६ मिटर नाला निर्माण सम्पन्न भएको छ ।
कमलबारी वडा कार्यालय मार्गमा ५५२ मिटर सडक कालोपत्रे भएको छ भने ५४४ मिटर नाला निर्माण सम्पन्न भएको छ । माहेन्द्री मार्ग (शिशाघाट) मा ३०० मिटर सडक कालोपत्रे भएको छ भने २९७ मी नाला निर्माण भएको छ । तालघरे दुम्सीचौर मार्गमा ३८८ मी सडक कालोपत्रे भएको छ भने २४६ मिटर नाला निर्माण भएको छ ।
नगरपालिकाले सोही अवधिमा तीन भ्युटावर निर्माण, दुई जातीय सांस्कृतिक सङ्ग्रहालय, ६ होमस्टे, चार पर्यटक पदमार्ग निर्माण तथा सुधार गरेको शाखा प्रमुख डा पौडेलले जानकारी दिए। रासस