काठमाडौं । मेगा बैंक नेपालले सेयरधनीहरुका लागि बोनस सेयरसहित १२ दशमलव ७ प्रतिशत लाभांश पारित गरेको छ। काठमाडौंमा मंगलबार सम्पन्न मेगा बैंकको ११औं वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७७/७८ सम्म सञ्चित मुनाफा एवं वितरणयोग्य रकम मध्येबाट हाल कायम चुक्ता पुँजीको १२ दशमलव ७ प्रतिशतले हुन आउने १ अर्ब ७६ करोड ८८ लाख ५४ हजार २ सय ७० रुपैयाँ ३८ पैसा लाभांश पारित गरेको हो।
त्यसमध्ये चुक्ता पुँजीको १० प्रतिशतले हुन आउने १ अर्ब ४६ करोड ५४ लाख ९६ हजार ४ सय ९५ रुपैयाँ ७६ पैसा बोनस सेयर र २ दशमलव ७ प्रतिशतले हुन आउने रकम ३० करोड ३३ लाख ५७ हजार ७ सय ७४ रुपैयाँ ६२ पैसा नगद लाभांश साधारणसभाले पारित गरेको छ।
साधारणसभाले बैंकमा वैदेशिक रणनीतिक साझेदार ल्याउन सञ्चालक समितिलाई अख्तियारी पनि दिएको छ। यसैगरी, गाभ्ने अथवा गाभिने (मर्जर) र प्राप्ति गर्ने सम्बन्धमा आवश्यकताअनुसार मर्जर समिति गठन गर्न, समझदारी गर्न, मुल्यांकनकर्ता नियुक्त गर्न र सेयर आदानप्रदान अनुपात निर्धारण लगायतका कार्यका लागि साधारण सभाले सञ्चालक समितिलाई अख्तियारी दिएको छ।
साधारणसभामा मन्तव्य राख्दै मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहले निक्षेप संकलन, व्यापार प्रवर्द्धन र लगानीकर्ताको जेथा वृद्धि र लाभांशको दृष्टिकोणले पहिलो पाँचौं बैंकभित्र स्थापित गर्ने लक्ष्य लिइएको जानकारी दिए।
पञ्चवर्षीय योजनामा बैंकको लाभांशको दरलाई वृद्धि गर्दै लगिने र अर्थतन्त्रलगायत नियमनकारी निकायको नीति तथा निर्देशनहरु अनुकूल रहेमा लाभांश दरलाई २० प्रतिशत पुर्याउने लक्ष्य लिएका छौं,’ अध्यक्ष शाहले भने, ‘वित्तीय बजारमा मेगा बैंकलाई एक प्रतिष्ठित, अब्बल तथा जनप्रिय बैंकको रुपमा स्थापित गर्ने लक्ष्य लिइएको छ।
शाखाको सञ्जाल विस्तार नभएका जिल्ला, नगरपालिका एवं पालिकामा शाखा खोल्ने नीति लिइने जानकारी उनले गराए। साथै उत्पादनमूलक तथा आयातलाई प्रतिस्थापन गर्दै निर्यात प्रवर्द्धन गर्ने रोजगारमूलक उद्योग व्यवसायमा लगानी केन्द्रित गर्ने गरी ठूला उद्योग तथा परियोजनाहरुमा लगानीकर्ता समूहको ‘लिड बैंक’का रुपमा मेगा बैंकलाई स्थापित गर्दै लगिने बताए।
अहिले उपत्यका र उपत्यकाबाहिर गरी मेगा बैंकका २ सय ३ वटा शाखा कार्यालय, २४ वटा एक्सटेन्सन काउन्टर, १ सय ३९ वटा एटीएम तथा ५९ वटा शाखारहित बैंकिङ केन्द्र छन्।