काठमाडौं । राजधानीको भृकुटीमण्डमा मंगलबारदेखि नाडा अटो सो सुरु भएको छ । अटो सोमा विभिन्न कम्पनीहरुले नयाँ गाडी राखेका छन् । यो वर्ष विद्युतीय गाडीमा अटो व्यवसायीको जोड छ । व्यवसायीहरु विद्युतीय सवारीसाधनलाई प्रोत्साहन गर्नुपर्ने बताएका छन् । यसो भन्छन् व्यवसायी ः
शेखर गोल्छा
वरिष्ठ उपाध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ
प्रदर्शनीस्थल जर्जर अवस्थामा पुगेको छ । हरेक देशले व्यवासायीहरुको व्यापार प्रदर्शन गर्न र फस्टाउनका लागि हल बनाउँछ । तर, नेपालमा यो कमजोर अवस्थामा छ । अन्तर्राष्ट्रिय स्तरमा व्यापार प्रवर्दन गर्न विदेशीलाई यो प्रदर्शनीहलमा बोलाएर कुनै इम्प्रेसन क्रिएट गर्न सक्दैनौं । यसलाई प्राथमिकतामा राख्नुपर्छ । व्यापार व्यवसाय, निर्यात र नीजि क्षेत्रसँग जोडिएको हुनाले त्यसलाई सुधार गर्नुपर्छ ।
ट्राफिक जामलाई हेरेर अटोमोबाइल बढी भन्ने कुरा आएको छ । यस क्षेत्रले कति आर्थिक गतिविधि बढाएको छ । यो हेरिनुपर्छ । आर्थिक गतिविधि बढेको ठाउँमा ट्राफिक जाम हुनु स्वाभाविक हो । ट्राफिक जामलाई नकरात्मक हेरिनु हुन्न ।
अटोमोबाइलको क्षेत्रले ३० प्रतिशतसम्म योगदान गरेको र पेट्रोलियम, एक्सेसोरिज र स्पेयर पार्ट्ससम्म जोडने हो भने राजस्वको करिब ४० प्रतिशत अटोमोबाइलबाट आएको छ । अटोमोबाइल क्षेत्र सक्रिय नहुने हो भने सरकार चलाउन समस्या आउन सक्छ । सङ्घीयतामा गइसकेको अवस्थामा राजस्व अझै धेरै आवश्यकता पर्ने हुँदा अटोमोबाइल आवश्यक छ । नेपालको सबैभन्दा धेरै रोजगारी सृजना गरेको क्षेत्र अटोमोबाइल नै हो ।
मध्यवर्गलाई सपना देखाउन र मोटिभेट गर्न अटोमोबाइल आवश्यक छ । अटो मोबाइलमा वित्तीय अवरोध हुनुहुँदैन । मध्यमवर्गको पहुँचमा भयो राम्रो हुन्छ । यसलाई लक्जरी आइटमका रुपमा हेर्नु हुँदैन प्रगतिको सूचकाङ्कको रुपमा हेर्नुपर्छ ।
उमेशलाल श्रेष्ठ
उपाध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ
अटो क्षेत्रको वार्षिका कारोबार ३५ अर्बको छ । यस क्षेत्रबाट सरकारले ८४ अर्ब ४२ करोड रुपैयाँ कर उठाएको छ । सरकारले कर त मज्जाको उठाएको रहेछ । सडकको अवस्था राम्रो छैन । यसपालि बजेटले अटो सेक्टरलाई राम्रो दृष्टिकोणले हेरेको छ । करको भार थप गरेको छैन । दूरगामी दृष्टि ल्याएर हाइब्रिड, विद्युतीय गाडीमा जुन किसिमको सुविधा दिने सरकारले थालनी गरेको छ । यो पहिले पनि दिएका थियो त्यसलाई निरन्तरता दियोस् ।
शेखर गोल्छाले नेपालमै मोटरबाइक निर्माण सुरु गरेका छन् । यो राम्रो काम हो । नेपालले पनि गाडी बनाउन सक्छ । धेरै ब्राण्डको गाडीहरु आवश्यक नरहेको र सीमित ब्रान्ड भित्र्याउँदा आयात घट्न सक्ने देखिन्छ । ७० प्रतिशत अर्थात् करिब ३० खर्ब स्पैयाँको अर्थतन्त्र धानेको निजी क्षेत्रलाई खुराकको कमि भएको छ ।
शम्भु दाहाल
अध्यक्ष, नाडा अटोमोबाइल एसोसियसन अफ नेपाल
सरकारले विद्युतीय तथा हाइब्रिड सवारीसाधनहरुको प्रयोगलाई अधिकतम प्रोत्साहन गर्न त्यसको आयातमा केही सुविधाहरु थप गरेको छ । यो सराहनीय कुरा हो । हाइब्रिडहरुको आयाततर्फ पहिले अन्तःशुल्कमा २५ प्रतिशत र भन्सार शुल्क २५ प्रतिशत छूट भएकोमा हालको यो आर्थिक वर्षको बजेटले अन्तःशुल्कमा २५ र भन्सारतर्फ २५ प्रतिशत महसूल छूट गरी दुवैतर्फ ५० ५० प्रतिशत महसुल छूट गरी सरकार नीतिगत रुपमा नै हाइब्रिड गाडीहरुको पक्षमा रहेको स्पष्ट हुन्छ । स्पेयर पार्ट्समा लाग्दै आएको अन्तःशुल्क घटाउन माग गर्दै आइरहेको बेला यो बजेटले अन्य स्पेयर पार्ट्समा समेट अन्तःशुल्क लाग्ने व्यवस्था गर्दा चित्त बुझेको छैन । देशमा बढ्दो दुर्घटनामा स्पेयर पार्ट्सको महत्वपूर्ण भूमिका रहने हुँदा त्यसमा लाग्ने अन्त शुल्क घटाउनुपर्छ ।
सरकारले लागु गरेको अनिवार्य स्थायी लेखा नम्बर (प्यान) दर्ताको विषयमा सरकोरवालासँग छलफल गरी ल्याएको भएको कार्यान्वयमा थप सहज हुने थियो । सरकारले आर्थिक वर्ष २०७५ देखि २०८५ सम्मको अवधिलाई मुलुक निर्माण वर्ष घोषणा गरेको छ । तर पूर्वाधार विकास, औद्योगिकीकरण विकासलाई केन्द्रबिन्दुमा राखेर काम गरोस् भन्ने आशा छ ।
नेपालमा व्यावसायिक लागत धेरै भएकाले यसलाई घटाउन राज्यको पक्षमा विशेष नीति ल्याउनुपर्ने देखिएको छ । स्थानीय तहमा दोहोरो र तेहोरो कर प्रणालीलाई सुधार गरी एकीकृत कर प्रणाली लागू गर्नुपर्छ । आर्थिक वर्ष २०७५÷७६ को ११ महिनामा सरकारले अटोमोबाइल क्षेत्रबाट ८४ अर्ब २२ करोड राजस्व प्राप्त गरेको छ ।
अटो मोबइल क्षेत्र थप प्रोत्साहित हुने नीति सरकारले ल्याएमा उद्योग स्थापनाका लागि आन्तरिक र बाहिर लगानी आउन बाटो खुल्ने छ । सुरुवात पनि भइसकेको छ । नाडाका केही सदस्यहरुले हालैका दिनमा अटोमोबाइल एसेम्बलिङ प्लान्ट स्थापना गर्ने घोषणा पनि गरिसकेका छन् ।
हरेक वर्ष करिब १० देखि १५ प्रतिशतले वृद्धि हुँदै आएको अटोमोबाइल आयात आर्थिक वर्ष २०७४÷०७५ मा अघिल्लो आवको तुलनामा १.५ ले घटेको छ । यद्यपि आव २०७५÷७६ मा केही सुधार भएको देखिएको छ । बैङ्क तथा वित्तीय संस्थामा लगानीयोग्य पुँजी (क्रेडिट क्रन्च) मूल समस्या हो । अटोको क्षेत्रमा १० प्रतिशत डाउन पेमेन्ट र ९० प्रतिशत फाइनान्स सुविधा हुनुपर्छ ।
भन्सार मूल्याङ्कन प्रक्रियामा अझै समस्या छ । मूल्याङ्कन प्रणालीलाई यथार्थ र कारोबार मूल्यमा अगाडि बढाइनुपर्छ । सरकारले अहिले पनि मूल्याङ्कन सन्दर्भ मूल्य सूची बनाई त्यसलाई आधार बनाई मूल्याङ्कन गर्ने गरेको छ । विश्व व्यापार सङ्गठनको सदस्य बनिसकेको अवस्थामा मूल्याङ्कन सन्दर्भमा मूल्य सूची खारेज हुुनुपर्छ भन्ने हाम्रो मान्यता हो ।
नेपालमा सवारी साधनको अवस्था जाँच गर्ने फिटनेस सेन्टरको अभावले सवारी साधनको अवस्थासमेत छुट्याउन सकिएको छैन । हालै प्रस्तुत बजेटले सम्पूर्ण प्रदेशको राजधानीमा सवारीसाधनले फिटनेस केन्द्र स्थापना गरी सवारी साधनले आवधिक रुपमा परीक्षण गराउनुपर्ने व्यवस्था छ । यसको शीघ्र कार्यान्वयनका लागि आग्रह गर्दछु । साथै अटो सो प्रदर्शनीका लागि चोभारमा अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनी हल निर्माणको गर्नुपर्छ ।
निराकार श्रेष्ठ
अटोमोबाइल व्यवसायी
यस वर्षको मुख्य अकार्षण ओमेगा अटोमोबाइल्सको प्रयोजनमा टिकटको लक्की ड्र गरी भाग्यशाली एक जना आगन्तुकलाई जीपीएस मोटरसाइकल दिने व्यवस्था छ । चारपाङ्ग्रे, दुई पाङ्ग्रेको अत्यधिक मागलाई ध्यानमा राख्दै तीन ओटा ग्राइन्डरह राखिएको छ । ठाउँ अभावका कारणले हेभी इक्विपमेन्ट र कमर्सियल गाडीहरुलाई प्रदर्शनका लागि राख्न सकिएन । २३ ओटा ब्राण्डका चार पाङ्ग्रे, १९ ब्रान्डका दुई पाङ्ग्रे, पैठारीकर्ता, डिलर, उत्पादक, तथा बिक्रेताकर्ता गरी ९५ कम्पनीहरुको सहभागिता र ठूला साना गरी १६० ओटा ब्लक तथा स्टल छन् ।
प्रदर्शनमा सवारी सुरक्षा प्रविधि, स्पेयर पार्ट्स, ल्युब्रिकेन्ट, टायर, ग्यारेज उपकरण, एसेसोरिज तथा नेपालमै उत्पादित सामग्री पनि राखिएको छ ।