काठमाडौं । कुनै समय बैंकमा बहालवाला प्रमुख कार्यकारी अधिकृत (सीईओ) को कार्यकाल पूरा हुने समय नजिकिएसँगै सञ्चालक समितिलाई नयाँ सीईओ खोज्ने चटारो हुन्थ्यो ।
अझ नेपाल राष्ट्र बैंकले नियमित २ कार्यकालभन्दा बढी सीईओ बन्न नपाउने व्यवस्था लागू गरेपछि झन् गाह्रो स्थिति भएको थियो । तर, पछिल्लो समय बैंकहरूले आफ्नै कर्मचारीलाई व्यवस्थापकीय जिम्मेवारी दिने क्रमलाई तीव्रता दिन थालेका छन् ।
आफ्नो बैंकमा कार्यरत दोस्रो/तेस्रो (सेकेन्ड/थर्ड) तहका कर्मचारीलाई विश्वास नगरी बाहिरबाट नयाँ सीईओ खोज्ने प्रवृत्तिलाई निस्तेज बनाउन खोजिरहेका छन् ।
बैंकको प्रणालीलाई राम्रोसँग बुझेका कर्मचारीलाई पाखा लगाएर बाहिरबाट सीईओ खोजी गर्दा धेरै संस्थामा सीइओसँगै अरू व्यवस्थापकीय कर्मचारीहरू पनि नयाँ सीईओले लिएर आउने प्रचलन थियो ।
यसले सम्बन्धित संस्थामा लामो समयदेखि काम गरेका कर्मचारीहरू हतोत्साहित हुँदै अन्तिममा काम छाडेर हिँड्ने परिस्थिति बन्ने गरेको थियो । त्यसले संस्थाको लागत बढाउनुका साथै बेलाबेला विवादमा पनि पर्ने गरेका थिए ।
कुनै बेला बैंकको सीईओ भन्नेबित्तिकै स्ट्यान्डर्ड चार्टर्ड बैंकको ‘क्याडर’ भन्ने बुझिन्थ्यो । बीचतिर राष्ट्र बैंकबाट अवकासप्राप्त व्यक्तिहरूले सीईओको जागिर खाए । त्यसपछि नबिल बैंकले पनि सीईओ उत्पादनमा उल्लेख्य भूमिका खेल्यो ।
पछिल्लो समय आफ्नै संस्थामा क्रियाशील व्यक्तिहरूलाई सीईओ बनाउने क्रम ह्वात्तै बढेको छ । यद्यपी अहिले पनि धेरै सीईओको बैंकिङ करियर भने स्ट्याण्डर्ड चार्टर्ड र नबिल बैंकबाट भएको पाइन्छ ।
पुराना सीईओको तुलनामा नयाँ सीईओ कार्यक्षमतामा अब्बल पनि देखिएका छन् । संस्थाकै कर्मचारीलाई सीईओ दिँदा कर्मचारीमा हामी पनि आफ्नै संस्था हाक्न सक्षम हुन्छौं भन्ने भावना पैदा हुने भएकाले कर्मचारी थप हौसिएर संस्थालाई अगाडि बढाउन प्रयत्नशील रहेको पाइन्छ ।
संस्थामा बाहिरबाट सीईओ ल्याउनुभन्दा भित्रैबाट बनाउँदा संस्थालाई फाइदा हुने मात्रै होइन सबैतिर सकारात्मक प्रभाव पर्छ । त्यहीकै कर्मचारीलाई सीईओ बनाउँदा सेवा सुविधा पनि कम दिए पुग्छ । अर्कोतिर कर्मचारीमा खासै धेरै असन्तुष्टि हुँदैन ।
सिद्धार्थ बैंकको सञ्चालक समितिले सोमबार मात्रै कायम मुकायम जिम्मेवारीमा रहेका सुन्दरप्रसाद कँडेललाई सोमबारदेखि नै लागू हुने गरी सीईओको जिम्मेवारी दियो । १६ वर्षदेखि सिद्धार्थमा क्रियाशील कँडेलले कठिन अवस्थामा पनि बैंकलाई अघि बढाउन भूमिका खेलेका छन् ।
केही समयअघि बैंक अफ काठमान्डुको सञ्चालक समितिले श्रवणकुमार मास्केलाई सीईओको जिम्मेवारी दियो । उनी त्यही बैंकमा शोभनदेव पन्तको ‘अन्डर’मा बसेर काम गरेका थिए । तत्कालीन लुम्बिनी बैंकमा क्रियासिल मास्के बीओकेसँग मर्ज भएसँगै डेपुटी सीईओ थिए । उनी लुम्बिनीमा लामो समयदेखि क्रियाशील थिए ।
सिटिजन्स बैंकमा २०७५ चैतदेखि गणेशराज पोखरेलले जिम्मेवारी सम्हालिरहेका छन् । पोखरेल सिटिजन्स बैंकमा स्थापनाकालदेखि क्रियाशील थिए । उता, माछापुच्छ्रे बैंकमा पनि पछिल्लो पटक संस्थाबाटै ‘ग्रुम’ भएका सन्तोष कोइरालाले २०७६ चैतदेखि सीईओको जिम्मेवारी पाए ।
त्यस्तै, २०७६ असोजमा सरकारी स्वामित्वसमेत रहेको नेपाल बैंकमा कृष्णबहादुर अघिकारीले प्रतिस्पर्धामार्फत सीईओ बने । अधिकारी नेपाल बैंकमा २०६१ सालमा सहायक प्रबन्धकका रुपमा प्रवेश गरेका थिए । लक्ष्मी बैंकका अजयबिक्रम शाह पनि भित्रैबाट ग्रुम गरिएका सीईओ हुन् । १५ वर्षदेखि लक्ष्मी बैंकमा क्रियाशील शाहले २०७५ कात्तिकमा जिम्मेवारी पाएका थिए ।
प्रभु फाइनान्समा रहँदा सीईओको जिम्मेवारी सम्हालेका अशोक शेरचनले प्रभु विकास बैंक हुँदै प्रभु बैंकमा परिणत हुँदा पनि सीईओ जिम्मेवारी पाए र अहिले दोस्रो कार्यकाल सफलतापूर्वक हाँकिरहेका छन् । मेगा बैंक स्थापनादेखि क्रियाशील अनुपमा खुञ्जेलीले पनि सफलतापूर्वक मेगा बैंकलाई चलाइरहेकी छन् ।
२०७५ वैशाखमा सीईओ बनेकी खुञ्जेली निजी क्षेत्रको वाणिज्य बैंकमा सीईओ बन्ने पहिलो महिलासमेत हुन् । नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंक स्थापनाको अर्को वर्षदेखि सेवा प्रवेश गरेका रमेशराज अर्यालले पनि २०७३ असोजदेखि व्यवस्थापकीय जिम्मेवारी सम्हालिरहेका छन् ।
दोस्रो/तेस्रो तहमा ल्याएर सीईओ बनाउने क्रम पनि बढ्यो
धेरै बैंकमा सम्बन्धित संस्थामै काम गरेका व्यक्तिलाई व्यवस्थापकीय जिम्मेवारी दिने प्रचलनले तीव्रता पाएको छ । यद्यिप सुरुमै भविष्यको सीईओ बनाउने ध्येयसहित जुनियर पदमा नियुक्ति दिने र पछि सोही बैंकमा व्यवस्थापकीय जिम्मेवारी दिने प्रवृत्ति पनि देखिएको छ ।
त्यस्तैमध्येका एक हुन्, सानिमा बैंकका निश्चलराज पाण्डे । भुवन दाहालपछिको सीईओमा तेस्रो बरियताका पाण्डेलाई अघि सारिएको हो । आगामी माघ १२ गतेदेखि पाण्डेलाई सीईओ जिम्मेवारी दिने बताइएको छ ।
यद्यपि पाण्डे पनि ८ वर्षअघि नबिल छाडेर सानिमा गएका थिए । हाल दोस्रो बरियतामा रहेका तेजबहादुर चन्दलाई छाडेर पाण्डेलाई अघि सारेको हो ।
त्यस्तै अवस्था छ, सिभिल बैंकका सीईओ सुनिल पोखरेलको पनि । सिभिलमा गएको झन्डै दुई वर्षपछि नै पोखरेलले २०७८ असारदेखि सीईओको जिम्मेवारी पाए ।
एनएमबी बैंकका सुनिल केसी पनि उच्च व्यवस्थापक समूहमा गएर सीईओको जिम्मेवारी सम्हाल्नेमा पर्छन् । केसीले २०७३ चैतदेखि एनएमबी हाँकिरहेका छन् ।