काठमाडौं । निरन्तर ओरालो लागेको सेयर बजार मंगलबार नाटकीय रुपमा उछालिएको छ । खासगरी, मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षामा लगानीकर्ताको माग सम्बोधन नभएको भन्दै २८७८ अंकबाट ओरालो लागेको बजार सोमबार सत्तासीन दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको अभिव्यक्तिलाई लिएर तीब्र घटेको बजारले मंगलबार भने नाटकीय उछाल लिएको छ ।
पछिल्लो पटक अध्यक्ष दाहालको अभिव्यक्तिालाई समाएर १६८ अंकले घटेको सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मंगलबार कारोबारको साढे २ घण्टामै ६ प्रतिशतले मूल्य बढेर बजार बन्द भएको हो । मंगलबार ४३ कम्पनीले सकारात्मक सर्किट हानेका छन् २७ कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ ।
मंगलबार २ म्युचुअल फन्ड डिबेञ्चरबाहेक कुनै पनि कम्पनीको मूल्य घटेको छैन । १८८ कम्पनीको सेयर मूल्य उछालिएको छ । मंगलबार सबैभन्दा कम सेयर मूल्य बढ्ने कम्पनीको सूचीमा नेपाल एसबीआई बैंक परेको छ । र, उसको १.०८ प्रतिशतले सेयर मूल्य बढेको छ । यद्यपि, कारोबार रकम भने सुस्त छ ।
यसदिन कारोबार भएको रकम गत दसैंपछि खुलेको कारोबारभन्दा केही बढी मात्रै छ । मंगलबार १ अर्ब ८४ करोड २६ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । यसअघि गत दसैं लगत्तै खुलेको बजारमा १ अर्ब ४० करोड ७० लाख रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।
तरलता अभाव, सेयर धितोको एकल ग्राहक कर्जाप्रति वित्तीय संस्था ४ करोड र समग्र प्रणालीबाट १२ करोडको सीमा, बढ्दो ब्याजदरको दबाबले निरन्तर बजार घटेको दाबी गरिए पनि मंगलबारको कारोबारले यी सबै दाबीलाई खण्डित तुल्याएको छ । यद्यपि, कर्जा दिन रोकेका बैंकहरुले सोमबार बैंकहरुले निक्षेपमा ब्याजदर नबढाउने निर्णय गरेका थिए ।
यसलाई आगामी दिनमा कर्जाको पनि ब्याजदर नबढ्ने संकेतका रुपमा बुझन सकिन्छ । यसअघि कात्तिक र मसिंरमा बढेको ब्याजले बैंकको आधार ब्याजदर बढेको आधारमा माघदेखि कर्जाको ब्याजदर बढ्न सक्ने अनुमान भए पनि यदि अब निक्षेपको ब्याजदर नबढेमा बैंकहरुले कर्जाको ब्याजदर बढाएर थप जोखिम नमोलि अन्य उपयुक्त विधि प्रयोग गरी काम गर्न सक्छ ।
मंगलबार एकाएक बजार बाउन्स ब्याक हुनुमा अर्थमन्त्री जनार्दन शर्माले पुँजीबजारका समस्या समाधान गर्न आफू विज्ञहरुसँग छलफलमा रहेको सार्वजनिक अभिव्यक्ति दिएका थिए । त्यसले पनि लगानीकर्तामा एउटा उत्साह पैदा गरेको हुन सक्छ । तर, बजार जुन रफ्तारमा विगतमा बढेको थियो, जे जे आधारभूत पक्ष देखाइएको थियो । ती पक्षहरुमा न हिजो घट्दा परिवर्तन भएको थियो, न मंगलबारको बढाइमा परिवर्तन भएको छ । यसमा भन्दा मानिसहरु अहिले पनि त्यस्तो छ भन्छन् तर, बजारलाई अझै सीमित लगानीकर्ता र धितोपत्र दलाल व्यवसायी (ब्रोकरहरु)ले आफ्नो मुठीमा राख्ने प्रवृत्तिलाई प्रोत्साहित गरेका छन् । त्यसैले एक दुई दिन बजार बढेर फेरि घट्यो भने अन्यथा नलिए हुन्छ ।