काठमाडौं । ग्लोबल आइएमई बैंकको १५औँ वार्षिक साधारणसभा सोमबार नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा सम्पन्न भएको छ । गत आर्थिक वर्ष ०७७/०७८ को नाफाबाट बैंकले आफ्ना सेयर धनीहरुलाई प्रस्ताव गरेको १० प्रतिशत बोनस सेयर र ३.५ प्रतिशत नगद गरी जम्मा १३.५ प्रतिशत लाभांश दिने प्रस्तावलाई पारित गरेको छ ।
बैंकले आर्थिक वर्ष ०७७/०७८ मा सञ्चालन नाफा ७ अर्ब ९ करोड रुपैयाँ र कर पछिको नाफा ४ अर्ब १६ करोड रुपैयाँ आर्जन गरेको थियो । प्रस्तावित बोनस सेयर वितरण पश्चात बैंकको चुक्ता पुँजी बढेर २३ अर्ब ७९ करोड रुपैयाँ पुग्ने छ ।
साधारणसभामा बैंकको सञ्चालक समितिको तर्फबाट आर्थिक वर्ष ०७७/०७८ को प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष चन्द्रप्रसाद ढकालले बैंक आफ्नो स्थापना कालदेखि नै सरकार एवं नेपाल राष्ट्र बैंकद्वारा घोषित नीतिहरुको परिपालनमा गर्दै आफ्ना सेयरधनीहरुलाई उचित लाभांश प्रदान गर्न कटिबद्ध रहेको बताए ।
बैंकले सदाझैं आफ्नो व्यावसायिक रणनीतिक योजनाअनुरुप निक्षेप संकलन, कर्जा लगानी तथा व्यवसाय विस्तारका सन्तुलित रुपमा बैंकको उपस्थिती वृद्धि गर्दै जाने उनले बताए ।
कोरोना महामारीले अर्थतन्त्रमा पारेको प्रतिकुल प्रभावलाई न्यूनीकरण गर्न ग्राहकमैत्री अत्याधुनिक डिजिटल प्रविधिमार्फत सेवा प्रवाह गर्दै ग्राहकहरुलाई थप प्रभावकारी सेवा पुर्याउन लागिपरेको पनि उनले जानकारी गराए ।
बैंकले अझै सर्वसुलभ बैंकिङ्ग सेवा प्रदान गर्ने तथा राष्ट्र बैंकले ०७९/८० लाई विद्युतीय भुक्तानी कारोबार प्रवद्र्धन वर्षको रुपमा मनाउने घोषणाअनुसार देशैभर डिजिटल भुक्तानीका लागि बैंकिङ्ग साक्षरता कार्यक्रमहरु आयोजना गर्दै जाने पनि जानकारी गराए ।
अध्यक्ष ढकालले सेयरधनीको आकांक्षाअनुरुप आगामी दिनमा उच्च लाभांश प्रदान गर्न बैंक प्रयासरत रहेको समेत बताएको ग्लोबलले जनाएको छ ।
बैंकको खुदनाफा आव ०७६/०७७ को तुलनामा आव ०७७/०७८ मा ४३.२० प्रतिशतले वृद्धि भई ४ अर्ब १६ करोड रुपैयाँ पुगेको छ ।
हाल बैंकले २ खर्ब ७४ अर्ब रुपैयाँ भन्दा बढी निक्षेप संकलन गर्नुका साथै २ खर्ब ७० अर्ब रुपैयाँभन्दा बढी कर्जा लगानी गरेको छ ।
सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यकासाथ बैंकले देशका ७६ जिल्लामा २८७ शाखा सञ्जाल तथा ३ अन्तर्राष्ट्रिय सम्पर्क कार्यालय सहित ८५० भन्दा बढि सेवा केन्द्रबाट २७ लाख ग्राहकलाई प्रत्यक्ष बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।