काठमाडौं । पछिल्लो समय सहकारी क्षेत्रमा महिलाहरु नेतृत्व बढ्दै गएको छ । गाउँ गाउँमा खुलेका सहकारी संस्थाहरुमा महिलाहरुले नेतृत्व गर्दै व्यवसायीक रुपमा समेत उनिहरुले आफ्नो क्षमता प्रदर्शन गर्दै आएका छन् ।
३३ प्रतिशत अधिकार सुनिश्चितता भएका बेला महिलाहरुले नै नेतृत्व गरेको सहकारीहरुले अर्बौं रुपैयाको वित्तीय कारोबार गर्न सक्ने अवस्थामा पुगिसकेका छन् ।
नेतृत्व तहमा पुरुष मात्र पुग्ने गरेको आरोप लागिरहेको बेला पश्चिम नेपालका केही सहकारीहरुमा भने महिलाले नेतृत्व गरेका छन् । व्यवसायीक रुपमा प्रतिस्पर्धामा उतार्न सफल भएको सहकारी मध्येको एक हो रुपन्देहीको तिलोत्तमा १५ कोटिहवामा रहेको जनउत्थान बचत तथा ऋण सहकारी संस्था । २०६३ सालमा १३ लाख रुपैयाको पूँजीबाट सुरु भएको सो सहकारीको कुलपूँजी २ अर्ब ३ करोड रुपैयाँ पुगेको छ ।
छोटो समयमै अरबौं रुपैया पुँजी संकलन गर्न सफल उक्त सहकारीको नेतृत्व भने अध्यक्ष ज्ञानु पौडेलले गरिरहेकी छिन् । ३० हजार ५०० जना सेयर सदस्य रहेको सहकारीमा लामो समयदेखि पौडेलले नेतृत्व गर्दै आएकी छिन् भने सचिव सुरु राना र कोषाध्यक्षमा विष्णुमाया कुवँर छिन् ।
सो सहकारीले सेयर सदस्यहरुबाट बचतमात्र उठाएको छैन । सेयर सदस्यहरुका लागि विभिन्न प्याकेजहरु ल्याउनुको साथै डिजिटल पेमेन्टको सुविधासमेत ल्याएको छ । उक्त सहकारीले गत वर्षको बन्दाबन्दीको बेला कृषकहरुले उत्पादन गरेको तरकारीहरु खेर जान नदिन नेपालकै पहिलो कृषक एम्बुलेन्स सञ्चालनमा ल्याएको थियो ।
नवजात शिशुहरुलाई केन्द्रित गरेर कुनै सेयर सदस्यको परिवारमा बच्चा जन्मिए तत्कालै सहकारीको तर्फबाट ७४९ रुपैया बचत सहित खाता सञ्चालन गर्दैै आएको छ ।
जेष्ठ सदस्य(७० वर्ष नाघेका)हरुलाई वर्षको १ किलो मह उपहार दिने गरिएको छ । यस्तै स्वरोजगारका लागि बाख्रा पालन गर्नेलाई १० हजार रुपैया दुई वर्षसम्मका लागि निरव्याजी ऋण दिँदै आएको छ भने ऋण लिनका लागि सहकारीसम्म धाउनु पर्ने बाध्यतालाई हटाउन मिसकल सेवा सुचारु गरेको छ ।
यस्तै मासिक १० रुपैया उठाएर सुरु गरेको अर्को हो रुपन्देही १० तिलोत्तमामा रहेको प्रगतिशिल महिला विकास बहुउद्धेश्यीय सहकारी । २०५४ सालमा गाउँकै महिलाहरु मिलेर समूहमा बचत गर्ने बानि बसाल्ने उद्धेश्यले सञ्चालनमा ल्याएको सो सहकारीको कुल पूँजी २४ करोड रुपैया रहेको छ । यस संस्थाको नेतृत्व सुरुदेखिनै महिलाले नै गर्दै आएको अध्यक्ष सीता न्यौपानेले जानकारी दिइन ।
२६ जना महिलाहरुको संक्रियतामा सुरु भएको सो सहकारीमा हाल २ हजार २२४ जना सेयर सदस्यहरु रहेको छ । विषेश गरेर कृषि र पशुपालन क्षेत्रमा लगानी विस्तार गर्दै आएको सो सहकारीमा आबद्धहरुले १७ वटा समूह बनाएर कृषि र पशुपालन गर्दै आएको छ ।
अहिले सो सहकारीले विनाधितो ५ लाख रुपैयासम्म र धितोराखेर ३० लाख रुपैयाँसम्म ऋण दिँदै आएको अध्यक्ष न्यौपानेको भनाई छ । सहकारीले ६२ विघा क्षेत्रमा आलुको बिउ उत्पादनसमेत गर्दै आएको छ । सहकारीमा अध्यक्षदेखि व्यवस्थापकसम्म महिलानै छन् ।
महिलाले नै नेतृत्व गरेर सञ्चालनमा रहेका मध्यका अर्को उत्कृष्ठ सहकारी मध्येको एक हो दाउन्नेदेवी महिला बहुउद्धेश्यीय सहकारी । नवलपरासीको बर्दघाट नगरपालिकामा रहेको सो सहकारी २०६५ सालमा स्थापना भएको हो ।
महिला उद्यमी,व्यवसायी र कृषकहरुलाई विषेश प्राथमिकता दिएर ऋण लगानी गर्दै आएको सो सहकारीको कुलपूँजी १४ करोड ५४ लाख रुपैया रहेको अध्यक्ष देवी पौडेलले जानकारी दिइन् ।
पिछडीएको समुदायभित्र पर्ने मुसहर समूदायलाई समेत सो सहकारीले आबद्धता गराएर बचत गराउन सिकाउँदै व्यवसायीक रुपमा उनिहरुलाई अगाडी बढाउन सहयोग समेत गर्दै आएको छ । ती सहकारीहरुलाई राष्ट्रिय सहकारी बैंकले ऋण दिँदै आएको छ ।