काठमाडौं । निरन्तर घट्दोक्रममा रहेको सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सोमबार पनि भारी अंकले घटेको छ । यद्यपि, सोमबारको न्यून बिन्दुभन्दा २१ अंकले माथि बजार बन्द भएको छ ।
सरकार साझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले शनिबार पुँजीबजारलाई साम्राज्यवादको अंश भन्दै ठूला पुँजीपतिहरुले पुँजी एकीकृत गरेको भनेर चर्को आलोचन गरेका थिए । त्यसैको प्रभाव आइतबार र सोमबारको बजार उच्च अंकले घटेको छ । आइतबार करिब ९० अंकले घटेको बजार बन्द हुँदा ८८.७ अंकले घटेर २३६१.२७ बिन्दुमा रोकिएको थियो ।
सोमबार भने कारोबार खुल्दादेखि नै बजार घट्न थालेको थियो । प्रि -पनिङ कारोबारमा सूचक २३५१ मा झरेको थियो । कारोबार खुलेको १० मिनेट २२९२ सम्म बजार आइपुगेको थियो । लगत्तै बजार उठ्न खोजे पनि टिक्न सकेन । निरन्तर घट्दै आइतरबारको तुलनामा करिब १०२ अंकले घटेर २२५९.५१ अंक सम्म झर्यो ।
कारोबारको साढे २ घण्टापछि भने बजारले फेरि सुधारको बाटो लिन खोजे पनि धेरैबेर टिकेन र अन्तिममा ७९.२३ अंकले घटेर २२८२.०१ अंकमा रोकियो ।
खासगरी, मौद्रिक नीति आएपछि भदौ २ गते ३१९९ अंकमा पुगेको नेप्से राष्ट्र बैंकको मौद्रिक नीति पछिको पहिलो निर्देशनले सेयर धितोमा एकल ग्राहक कर्जा सीमा तोक्दै प्रतिवित्तीय संस्था ४ करोड र समग्र प्रणालीबाट १२ करोडको सीमा लगाएपछि निरन्तर ओरालो लाग्यो । त्यसअघि २४८१ सम्म पुगेको बजार सूचक मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा देखाउँदै २८७८ सम्म पुर्याइएको थियो ।
तर, मौद्रिक समीक्षामा सेयर बजारका प्रवाधानमा कुनै संशोधन नभएपछि बजारले फेरि ओरालो यात्रा ताक्यो । यसमा अर्थमन्त्री जनार्दन शर्माको भनाइले पनि कतिपय बेला बजार प्रभावित भयो । उता शनिबारको अर्थमन्त्री शर्माका पनि नेता दाहालले पुँजीबजार प्रतिनकारात्मक धारणा व्यक्त गरेको भन्दै सूचकमा झन ठूलो दरार पैदा भयो ।
सोमबारको मध्य समयतिर अध्यक्ष दाहालको भनाई साना लगानीकर्ताप्रति केन्द्रीय नभएको भन्ने स्पष्टीकरण आए पनि त्यसले बजारलाई खासै सहयोग गरेन । बरु पुँजीबजारमा ठूला लगानीकर्ताले पुँजी एकीकृत गरेको विषयमा आफू अझै स्पष्ट रहेको भन्ने धारणाले बजार झनै खच्किएको थियो ।
तर, घट्ने एउटा चरणमा रहेको बजारमा विभिन्न व्यक्तिहरुका भनाइ लिखत वा त्यस्तै किसिममा हाउभाउले पनि बजार प्रभावित हुन्छ । सोमबार अर्थमन्त्री शर्माले पनि बिमा समितिको कार्यक्रममा साना लगानीकर्ताको हित रक्षार्थ अर्थमन्त्रालयले काम गरिरहेको बताए पनि लगानीकर्ता अझै आश्वास्त हुन सकेको देखिँदैन ।
पछिल्लो उच्च बिन्दु २८७८ बाट पनि ६२० अंकले बजार सूचक तल झरिसकेकाले आगामी केही दिन बजार केही शिथिल हुन सक्छ । घट्दो बजारमा कारोबार रकम भने बढिरहेको छ । आइतबार पनि गत बिहीबारको तुलनामा बढी कारोबार भएको थियो भने सोमबार पनि आइतबारेको तुलनामा बढी रकम कारोबार भएको छ ।
आइतबार ३ अर्ब २८ करोड रुपैयाँको सेयर किनबेच भएकोमा सोमबार ३ अर्ब ९९ करोड ५६ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । तर पनि निरन्तर घटिरहेकाले केही दिन सुस्त हुने सम्भावनालाई नकार्न सकिन्न । बजारको आधारभूत पक्षहरुले बजार सूचक एकैपटक निरन्तर घटेको घट्यै वा बढेको बढ्यै गर्दैन । सीधा अर्थभन्दा एउटा विन्दु पछि ब्रेक लिन्छ ।
अबको घटाइमा ब्रेक लिएको रुपमा लिन सकिन्छ । तर, पनि विभिन्न माहोलहरुले बजारलाई ठूलै रफ्तारमा नघटाउला भन्न सकिन्न । सोमबारको कारोबार प्रवृत्ति र नेप्से सूचकले बनाएको ट्रेन्डलाई हेर्दा मंगलबार आइतबार र सोमबारको जसरी बजार नघट्न सक्छ ।
उच्च अंकले बजार घटाउन १८२ कम्पनीले सघाएका छन् । ८ वटा कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले घट्दा स्वाबलम्बन लघुवित्तको मूल्य भने झण्डै नकारात्मक सर्किट लागेर कारोबार रोकिएको छ । उता घटेको बजारमा पनि अन्तिम समयमा गोर्खाज फाइनान्स चमत्कार गरेको छ । यसको मूल्य ९.४७ प्रतिशतले बढेको छ भने अन्य चार कम्पनी र डिबेञ्चर तथा म्युचुअल फन्ड गरी समग्रतामा १२ कम्पनीको मूल्य बढेको छ । सोमबार सबैभन्दा बढी नबिल बैंकको १८ करोड ३ लाख रुपैयाँ बरारबको सेयर किनबेच भएको छ ।