काठमाडौं । खाद्यप्रविधि तथा गुण नियन्त्रण विभागले चालू आर्थिक वर्ष २०७८/७९ को पहिलो त्रैमासिकमा (तीन महिनामा साउन १ गतेदेखि असोज मसान्तसम्म) ८ सय ५२ नमुना सङ्कलन गरेको छ ।
पहिलो तीन महिनाको अवधिमा खाद्य उद्योग तथा बजार निरीक्षण अनुगमन गरी ऐन नियमानुसार साे वस्तुको नमुना सङ्कलन गरिएको विभागले जनाएको छ । विभागका प्रवक्ता मोहनकृष्ण महर्जनका अनुसार तीन महिनाको अवधिमा विभिन्न खाद्य पदार्थमा २७ मुद्दा विभिन्न जिल्ला प्रशासन कार्यालयमा दायर गरिएको छ ।
विभागले दायर गरेका मुद्दामध्येमा दूध तथा दुग्ध पदार्थका ९, मसला पदार्थका पाँच, खाद्यान्न एवं दलहन तथा सोबाट बनेका पदार्थ पाँच, प्रशोधित पिउने पानीका तीन, चियाका दुई, सोयासस, तेल र दानाका एक/एक छन् ।
सो मुद्दामध्येमा ११ दूषितका, ९ मुद्दा न्यून गुणस्तरका र ६ मुद्दा लेवललगायतका विवरण नमिलेका मुद्दा दर्ता भएका जनाइएको छ । खाद्य ऐन, २०२३ बमोजिम दूषित तथा न्यून गुणस्तरका मुद्दा सम्बन्धित जिल्ला अदालतमा र अन्य मुद्दा सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा दर्ता हुने व्यवस्था छ ।
विभागले तीन महिनाको अवधिमा देशभरका ८ कार्यालय र २२ डिभिजन कार्यालय गरी ४३ कार्यालयबाट नियमित रुपमा बजार अनुगमन गर्दै आएको जनाएको छ । ४३ कार्यालयले तीन महिनाको अवधिमा खाद्य उद्योग तथा बजार निरीक्षण अनुगमन गरी ८ सय ५२ नमुना सङ्कलन गरेका थिए ।
सो सङ्कलित नमुनामध्ये खाद्यान्न/दलहनजन्यका १ सय ३१, तेल तथा ध्यूजन्यका ९४, फल तथा सागपातजन्य पदार्थ ७४, दाना पदार्थका ४५, मसलाका ४०, चिया कफीका २८, दूध तथा दुग्धपदार्थका २१, प्रशोधित पिउने पानीका ४० र कन्फेक्सनरिका १६ नमुना रहेका थिए । परीक्षण गरिएका नमुनामध्ये ३६ नमुना मात्रै प्रतिकूल रहेको प्रवक्ता महर्जनले जानकारी दिए ।
उनका अनुसार प्रतिकूल रहेकामा खाद्यान्नका आठ नमुना, प्रशोधित पिउने पानीका सात, दूध तथा दुग्ध पदार्थका चार, दानापदार्थका चार नमूनालगायतका अन्य खाद्य पदार्थ छन् ।
दाना उद्योग तथा राजमार्गका होटलको दुई हजार पटक अनुगमन
विभागले तीन महिनाको अवधिमा खाद्य/दाना उद्योग, होटल रेष्टुराँ, राजमार्गका होटल अनुमगन तथा उजुरीमा तत्काल सम्बोधन टोलमार्फत २ हजार ३६ पटक अनुगमन गरी कारबाही गरिएको जनाएको छ ।
विभागले सार्वजनिक गरेको तथ्याङ्कानुसार विभाग तथा मातहतका कार्यालयबाट ४२ होटल, रेष्टुराँ स्तरीकरण गरिएकामा दुई प्रतिशतले अत्ति उत्तमस्तर पाउन सफल भएको छ भने सातले उत्तम, २३ ले सन्तोषजनक, सातले सामान्यस्तर र तीन होटल तथा रेष्टुराँ स्तरीकरणमा नपरेको पाइएको छ ।
विभागले तीन महिनाको अवधिमा १२ विभिन्न नाकामा रहेका खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालयमा १६ हजार ३ सय १० नमुना प्राप्त भई जाँच विश्लेषण गरी नियमन गरिएको तथ्याङ्कमा उल्लेख छ । रासस