चितवन । सायद, भनेको बेला सहकारीले लगानी नपत्याएको भए नवलपुरका टिकाराम लामिछाने र नवराज श्रेष्ठ यतिवेला कुनै विदेशी भूमिमा मजदुरी गरिरहेका हुन्थ्ये । तर, अहिले उनीहरु दुवै कावासोतीका स्थापित व्यवसायी भइसकेका छन् । अर्थात हजार लगानी गरेर करोडौं रुपैयाँको सम्पत्ति आर्जन गर्न सफल भइसकेका छन् । लामिछाने र श्रेष्ठलाई त्यस क्षेत्रका उदाहरणीय र सफल व्यवसायीको रुपमा लिँदै आएको छ ।
पारिवारिक रुपमा आर्थिक अवस्था कमजोर भएको र सानैमा बुबाको निधन भएपछि लामिछानेले आफ्नो अध्ययन पनि कक्षा १० सम्म मात्र गरे । थप अध्ययन गर्ने रहर हुँदाहुँदै पनि घरको आर्थिक अवस्था कमजोरका कारण बीचैमा पढाइ छोडेका लामिछानेले भारतमा रोजगारीका लागि जाने सोचसमेत बनाएका थिए ।
तर, उनको आमाले करिब १८ वर्षअघि ३५ हजार रुपैयाँ ऋण खोजी दिएर हाडवेयरका सामानहरु किनेर हातमा बिक्री गर्दै हिँडेका थिए । उनको मेहनत र दुःखलाई हेरेर थप लगानीका लागि गाउँमै रहेको नवत्रिवेणी बहुमुखी सहकारीले ५० हजार रुपैयाँ बिनाधितो ऋण दिएपछि आफ्नो व्यावसायिक यात्रा नै परिवर्तन गरे ।
ऋण लिन धितो राख्ने जग्गासमेत नभएर थप लगानी गर्न नसकेपछि सडकमा सामान बेच्दै हिँडेका लामिछानेलाई सहकारीका प्रतिनिधिहरुले २०६४ सालमा हामी लगानी गरिदिन्छौं तपाई व्यवसाय सञ्चालन गर्नुस भन्ने आश्वासन दिएपछि हाडवेयरका सामान बेच्न छाडेर त्यहाँको हाटबजारमा तयारी पोसाक बिक्री गर्न थालेका थिए । शुभकामना इम्पोरियम सञ्चालन गर्दै आएका लामिछानेले १८ वर्षका बीचमा करिब ३ करोड रुपैयाँ बराबरको सम्पत्ति जोडेका छन् ।
कावासोती बजारमै २ वटा पक्की घर र ३ वटा घडेरीसमेत उनले जोडिसकेका छन् । लगानी विस्तारका लागि विभिन्न समयमा सहरकारीले ऋण दिएकै कारण उनले अहिलेसम्म कुनै पनि बैंकमा खातासमेत नखोलेको बताउँछन् ।
आर्थिक अवस्था कमजोर भएकै कारण पढाइबीचमा छोडेका लामिछानेले आफ्नो श्रीमतीलाई भने अध्ययनमा अगाडी बढाएका छन् । श्रीमतीले गत वर्ष स्नातकोत्तरसम्मको अध्ययन पुरा गरेको उनको भनाइ छ ।
लामिछाने जस्तै त्रिवेणी सहकारीबाट ऋण लिएर व्यवसाय सञ्चालन गरेर सफल भएका अर्का व्यक्ति हुन् श्रेष्ठ । २०६६ सालमा ५० हजार रुपैयाँ लगानी गरेर फोटोकपी मेसिन राखेर व्यवसाय सुरु गरेका श्रेष्ठले अहिले घर जग्गा जोडेर आफ्नै घरमा कावासोती अफसेट प्रेस समेत सञ्चालनमा ल्याएका छन् ।
उनी पनि लामिछाने जस्तै सहकारीले व्यवसायको लागि ऋण नदिएको भए वैदेशिक रोजगारीका लागि खाडीमुलुकमा जाने तयारी गरिसकेका थिए ।
‘भनेको बेला सहकारीले ऋण नदिएको भए म यतिबेला कुनै देशमा रोजगारी गरिरहेको हुन्थ्ये, सञ्चालक श्रेष्ठले भने, तर अहिले म आफैंले अरुलाई रोजगारी दिइरहेको छु ।
५० हजारबाट सुरु गरेको व्यवसायबाटै छोटो समयमा उनले कावासोती बजारमा जग्गा जोडेर घरसमेत बनाएका छन् । घरसहित अहिले आफ्नो सम्पत्ति १ करोड ५० लाख रुपैयाँभन्दा बढी पुगेको उनको भनाइ छ ।