काठमाडौं । निरन्तर सेयर बजार घटेर लगानीकर्ता ‘पेनिक’ भइरहेका बेला सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पुँजीबजारप्रति अझै आक्रामक देखिएका छन् ।
शनिबार माओवादी केन्द्रको सातवटै प्रदेशमा प्रदेश सम्मेलनलाई काठमाडौंबाट एक साथ उद्घाटन गर्दै पुँजीबजारप्रति आक्रामक देखिएका हुन् । अध्यक्ष दाहालको आक्रामकता खासगरी पछिल्ला दिनमा सामाजिक सञ्जालमा ‘सेयर बजार विरोधीलाई चुनावमा नो भोट क्याम्पेन’ प्रतिलक्षित रहेको बुझ्न सकिन्छ ।
मौद्रिक नीतिमा गरिएको कडाइ नियामक धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति, नेपाल स्टक एक्सचेन्जको प्रमुख कार्यकारी अधिकृत नियुक्ति, बैंकलाई धितोपत्र दलाल व्यवसायी (ब्रोकर) अनुमति नदिने प्रपञ्चजस्ता विषयमा माओवादीले बढी खेलेको बुझाइ लगानीकर्तामा छ ।
सेयर बजार दिनदिनै घटेर लगानीकर्ता आत्तिरहेका बेला सत्तासीन दलका प्रमुख नेता (अर्थमन्त्री जनार्दन शर्माका पनि नेता) ले सेयर बजार पुँजीपतिहरुको नयाँ रुप साम्राज्यवादको अंश भएको बताएका हुन् ।
यसअघि अर्थमन्त्री शर्माले पनि पुँजीबजारका विषयमा त्यस्तै नकारात्मक धारणा राखेका थिए । उनले प्रतिनिधि सभामा ५ प्रतिशत पुँजीपतिले कमाउने बजारलाई राज्यले संरक्षण गर्ने बताएका थिए ।
अर्थमन्त्री शर्माको मनसाय बुझेपछि केन्द्रीय बैंकका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीतिमा ठूला लगानीकर्तालाई कस्ने गरी एउटा वित्तीय संस्थाबाट ४ करोड रुपैयाँ र समग्र वित्तीय प्रणालीबाट १२ करोड रुपैयाँसम्म मात्रै सेयर धितोमा कर्जा लिन पाउने व्यवस्था गरेका थिए । त्यसअघि नै बजारलाई अझ कस्न असल कर्जाको जोखिममा शून्य दशमलव ३ प्रतिशत थप जोखिम बहन गर्नुपर्ने निर्देशन जारी भएको थियो ।
शनिबार अध्यक्ष दाहालले राखेको मन्तव्यको अंशः
वित्तीय एकाधिकार पुँजीवाद भनेको के हो ? यसको चरित्र कस्तो हुन्छ ? यसलाई परास्त कसरी गर्ने हो भन्ने जिम्मा तपाई हाम्रो काँधमा छ । पहिले–पहिले पुँजीको लगानी उद्योगमा हुन्थ्यो । उत्पादनमा हुन्थ्यो । त्यहाँबाट आउने नाफा पुँजीपतिले लिन्थे । आजभोलि पुँजीको लगानी उत्पादनमा हुँदैन । पुँजीको लगानी पुँजीमै हुन्छ । वित्तीय पुँजीको मुख्य समस्या यही भएको छ । बैंकले घरजग्गा किनबेचमा लगानी गर्छन् । जग्गाको किनबेचबाट सीधै पैसा आउने भएपछि बैंकहरु त्यतातिर आकर्षित छन् । यस्तोमा पुँजी लगानी हुन थालेको छ । अहिले मजदुर कटौती हुन थालेका छन् । योसँग लड्ने तरिका खोज्नुपर्छ ।
नेपाल धितोपत्र बोर्ड, सट्टा बजार, अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ), विश्व बैंक, एसियाली विकास बैंक (एडीबी) ले पैसा यताउता गर्छन् भन्ने हाम्रो बुझाइ छ । तर, त्यति सजिलै हुँदैन । यी साम्राज्यवादका विकसित रूप हुन् । वित्तीय एकाधिकार र पुँजीवादलाई बलियोे बजाउने, त्यसलाई अघि बढाउने र नाफा सोरेर संसारका केही सीमित पुँजीपतिको हातमा संसारकै धन एकत्रित गर्ने र विश्वका ८० प्रतिशत जनतालाई भोको–नांगो राख्ने प्रणाली हो यो ।
एकाधिकार पुँजीवाद वा संशोधनवादसमेत जोडिएर वित्तीय एकाधिकार पुँजीवादतिर गयो । भूमण्डलीकृत वित्तीय एकाधिकार पुँजीवादमा गयो । यो न लेनिले न माओले नै राम्रोसँग देख्न/अध्ययन गर्न पाउनुभयो । त्यो जिम्म हाम्रो काँघमा आयो । २१ औं सताब्दीका कम्युनिष्टहरूकाे जिम्मामा आएको हो ।