काठमाडौं । सिभिल सहकारी ठगी प्रकरणमा काठमाडौं जिल्ला अदालतमा परेको मुद्दामा ९ जना प्रतिवादीको बयान सकिएको छ । ३ जना प्रतिवादीको बयान लिने क्रम जारी रहेको जिल्ला अदालतका सूचना अधिकारी दीपक दाहालले जानकारी दिए । उनका अनुसार आरोपितको बयान सकिएपछि मात्र थुनछेक वहस सुरु हुनेछ ।
सिभिलका निक्षेपकर्ताको अर्बौं रुपैयाँ हिनामिना गरेको आरोपमा सिभिल बैंकका पूर्वअध्यक्ष तथा व्यवसायी इच्छाराज तामाङलगायत विरुद्ध मुद्दामा थुनछेक बहस केही दिनअघि सुरु भएको थियो ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी० ले सिभिल सहकारीको रकम हिनामिना गरेको आरोपमा गत असोजमा तामाङसहित १२ जनालाई पक्राउ गरेको थियो । करिब दुई महिना लगाएर गरिएको अनुसन्धानको क्रममा तामाङ लगायतविरुद्ध १ हजार ४ सय ९३ जनाको उजुरी परेको छ भने करिब ५ अर्ब ६५ करोड रुपैयाँ बिगो परेको छ ।
प्रहरीले मुलुकी अपराध संहिता २०७४ बमोजिम ठगी र संगठित अपराध कसुरमा अनुसन्धान गरेको थियो । प्रहरीले तामाङ, उनकी श्रीमती सिर्जना र वर्तमान अध्यक्ष केशवलाल श्रेष्ठलाई मुख्य अभियुक्त बनाएको छ । उनीहरुलाई ठगीमा ७ वर्ष र संगठितमा साढे ३ वर्ष गरी साढे १० वर्षसम्म कैद सजाय माग दाबी गरिएको छ ।
पक्राउ पर्ने अन्य व्यक्तिमा सिभिल सहकारीको सञ्चालक समितिका अध्यक्ष केशवलाल श्रेष्ठ, सहजकर्ता प्रबन्धक भगवान बहादुर सिंह, जुनियर असिस्टेन्ट म्यानेजर मायोनानी महर्जन छन् ।
यस्तै जुनियर असिस्टेन्ट म्यानेजर एलिना तुलाधर, जुनियर अधिकृत शंकरप्रसाद पाठक, असिस्टेन्ट संगीत श्रेष्ठ, लेखा अधिकृत राकेश महर्जन, जुनियर सहायक प्रबन्धक बुद्धराज तामाङ पनि पक्राउ परेका छन् । जुनियर सहायक प्रबन्धक कौस्तुभ केतन ढुंगाना, सिभिल होम्सका वरिष्ठ प्रबन्धक विजय विक्रम शाह, पूर्व लेखा समिति सदस्य हरिहर लामिछाने छन् ।
सिभिल सहकारीको दुई कार्यकाल अध्यक्ष रहेका तामाङले बचतकर्ताहरुको रकम आफूले नै चलाएर हिनामिना गरेको आरोपपछि उनी फरार थिए । तामाङले संस्थाको ७ अर्ब ३६ करोड ३८ लाख रुपैयाँ आफ्नो निजी पैसा जस्तो गरी चलाएर हिनामिना गरेको आरोप छ । आकर्षक ब्याज दिने प्रलोभनमा पारेर संस्थाले निक्षेपकर्ताबाट रकम उठाएको थियो । बजारमा चलेको भन्दा बढी ब्याज दिने भएपछि धेरै व्यक्तिले लाखौं रुपैयाँ संस्थामा राखेका थिए ।
ओखलढुंगामा जन्मिएका तामाङ नेकपा एमालेका पूर्व सभासद समेत हुन् । रियलस्टेट कारोबारीका रुपमा परिचित तामाङको बैंक, सहकारी, मल, अपार्टमेन्ट लगायतमा लगानी छ । तामाङले सिभिल ग्रुपमार्फत प्रवर्द्धित सिभिल बचत तथा ऋण सहकारी संस्थाबाट आफ्ना तीन कम्पनीका लागि उक्त ऋण लिएका हुन् । सहकारीमा दुई हजार ६ सय ९० सदस्य सदस्य छन् ।
सहकारीको आव २०७४र७५ को अन्तिम लेखा परीक्षण प्रतिवेदनअनुसार संस्थाले आठ अर्ब १३ करोड ६७ लाख रुपैयाँ कर्जामध्ये सिभिल होम्स प्रालि, सिभिल अपार्टमेन्ट प्रालि, सिभिल इस्टेट प्रालिमा गरी सात अर्ब ४३ करोड रुपैयाँ लगानी गरिएको छ । २०७६ माघमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले तामाङको सम्पत्ति छानबिनका लागि रोक्का गरेको थियो । धेरै सम्पत्तिको स्रोत खुल्ने आधार नभेटिएपछि रोक्का गरिएको हो ।
अनुसन्धानको क्रममा विभिन्न २४ वटा कम्पनीमा उनको लगानी देखिएको थियो । सिभिल होटेल, सिभिल इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट कम्पनी, कोत्से भैरव बहुउद्देश्यीय कम्पनीलगायत कम्पनीको सेयरसमेत विभागले रोक्का राखेको थियो । सिभिल बैंकबाहेक अरू सबै कम्पनी घाटामा देखाएर करसमेत तिरिएको थिएन ।
उनले श्रीमतीको नाममा संस्थापक सेयर राष्ट्र बैंकको नियमविपरीत करिब १० करोड रुपैयाँबराबरको बिक्री गरेका थिए । श्रीमान् बैंककै अध्यक्ष भएको अवस्थामा सो सेयर बिक्री गर्न नपाइने व्यवस्था छ ।
तामाङले सहकारीबाट लिएको ऋण सिभिल होम्समा लगानी गरेका हुन् । सहकारीका अध्यक्ष केशवलाल श्रेष्ठ सिभिल होम्सको सञ्चालको पदमा छन् । तामाङ र श्रेष्ठ नाताले भान्जी ज्वाइँसमेत हुन्, जसका कारण तामाङलाई सहकारीको पैसा चलाउन सहज भएको हो ।