काठमाडौं । सेयर बजार घट्नेक्रमले झनै तीब्रता पाएको छ । गतसाता सोमबारदेखि लगातार घटेको सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको पहिलो दिन आइतबार फराकिलो अन्तरले घटेको छ ।
पछिल्लो पटक २८७८ सम्म पुगेको नेप्से सूचक मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षापछि भने तीब्र गतिमा घट्दो छ । खासगरी, मौद्रिक नीति समीक्षाले लगानीकर्ताको माग सम्बोधन नगरेको, वित्तीय बजारमा तरलता संकट गहिरिँदै गएर बैंक तथा वित्तीय संस्थाले ऋण दिन पूर्ण रूपले बन्द गरेको, निक्षेपको ब्याजदर २ महिनादेखि निरन्तर बढेको र ऋणतर्फको ब्याजदर पनि अघोषित रुपमा बढेको साथै आगामी महिनादेखि औपचारिक रुपमै ऋणको ब्याजदर बढ्ने स्थिति रहेको, लाभांश घोषणा भएका कम्पनीहरुको सेयर मूल्य समायोजन भएको जस्ता कारणले सेयर बजारलाई निरन्तर ओरालो यात्रामा फर्काएको छ ।
विशेषतः बैंक तथा वित्तीय संस्थाले ऋण दिन पूर्णरूपमा बन्द गरेपछि सेयर बजार झन् बढी प्रभावित भएको छ । त्यसको संकेत यसअघिको दोस्रो पटकको उच्च बिन्दु २८७८ बाट निरन्तर घटेकोले पुष्टि गर्छ । माहोलिक अवस्थालाई आफ्नो अनुकूतामा व्याख्या गर्ने, कतिपय सेयर लगानीकर्ता तथा तिनका संगठनहरुको अनावश्यक हल्ला, सामाजिक सञ्जालको बढ्दो नकारात्मक टिक्का टिप्पणीले पनि बजार घटाइरहेको छ ।
गत बिहीबार २४५० मा रोकिएको सूचक आइतबार सुरुवाती कारोबारको ७ मिनेटमै बढेर २४५५ सम्म चढेको थियो । तर, त्यसपछि भने उच्च रफ्तारमा घट्न थालेको बजार अन्तिमसम्मै घटिरह्यो । यद्यपि, बीचबीचमा सामान्य सुधार हुने आशा भने कायम राखेको पाइन्छ । कारोबार रोकिँदा बिहीबारको तुलनामा ८८.७ अंकले घटेर २३६१.२७ बिन्दुमा सूचक रोकिएको छ । आइतबार सूचक घटाउन १८४ कम्पनीले भूमिका खेलेका छन् ।
त्यसमध्ये नयाँ सारथी लघुवित्तको सेयर मूल्य १० प्रतिशतले घटेर कारोबार भएको छ । लघुवित्तसहित अन्य तीन कम्पनीको ९ प्रतिशतभन्दा बढीले मूल्य घटेको छ । यद्यपि, उच्च अंकले सूचकमा गिरावट आउँदा पनि पनि युनिलिभर स्वावलम्बन लघुवित्त, नारायण डेभलपमेन्ट बैक, मञ्जुश्री फाइनान्स र सर्पोट माइक्रोफाइनान्सको सेयर मूल्य सामान्य बढेको छ ।
सबैभन्दा बढी युनिलिभरको २ प्रतिशतले मूल्य बढेको छ भने ७ वटा डिवेञ्चर तथा म्युचुअल फन्डको मूल्य वृद्धि भएको छ । घट्दो बजारमा कारोबार रकम भने बिहीबारको तुलनामा केही सुधारिएको छ । घट्दो बजारमा सेयर कारोबार बढ्नुलाई बजार अझै घट्द भन्ने संकेतका रुपमा लिने गरिन्छ । आइतबार ३ अर्ब १९ करोड ९१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
जबकि बिहीबार २ अर्ब ६० करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो । यसदिन सबैभन्दा बढी मञ्जु श्री फाइनान्सको १९ करोड ७७ लाख ४० हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।
यो पनि हेर्नुहोस
४/१२ र तरलता अभाव देखाएर घटाइयो बजार, २२०० सम्म झर्ने हल्ला