काठमाडौं । आगामी पुसभित्र ढल्केबर-मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइन ४०० केभी क्षमतामा चार्ज हुने भएको छ । हाल २२० केभी क्षमतामा चार्ज भइसकेको प्रसारण लाइनमा मर्मतसम्भार र ट्रान्सफर्मर थप गरेपछि ४०० केभी क्षमतामा चार्ज गर्न सकिने छ ।
अहिले पुराना लाइन तथा ट्रान्सफर्मर फेर्ने, नयाँ ट्रान्सफर्मर थप्ने र लाइनको मर्मत सम्भारको काम भइरहेको छ । ४०० केभी क्षमतामा चार्ज भएपछि कम्तिमा १ हजार २०० मेगावाट बिजुली आदनप्रदान हुने छ । यसअघि सोही बराबरको बिजुली बुक भइसकेको छ ।
अहिले ढल्केबर सवस्टेशन निर्माणको काम तीव्र गतिमा भइरहेको नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले जानकारी दिए । उनले आगामी पुसभित्र ढल्केबर-मुजफ्फरपुर प्रसारण लाइन ४०० केभीमा चार्ज हुने र त्यसै लाइनमार्फत नेपाल र भारतबीच विद्युत् व्यापार गर्न सकिने बताए ।
सवस्टेसनमा ३१५ एमभीएका ३ ओटा ट्रान्सफर्मर थप गर्न लागिएको नेपाल विद्युत् प्राधिकरणका कायम मुकायम उपकार्यकारी निर्देशक बज्रभूषण चौधरीले जानकारी दिए । उनले अबको ४ महिनाभित्र ढल्केबर सवस्टेशन निर्माण तथा स्तरोन्नति गरी ४०० केभीमा चार्ज गर्ने गरी तीव्र रुपमा काम भइरहेको बताए ।
‘ढल्केबर सवस्टेसन ४ सय केभीमा चार्ज गर्न लाइन विस्तार, मर्मतसम्भार र ट्रान्सफर्मर थप गर्दैछौँ’ उनले भने, ‘आगामी पुसभित्र लाइन ४०० केभीमा लाइन चार्ज हुने गरी काम भइरहेको छ ।’
एसियाली विकास बैङ्क (एडीबी) को ऋण सहयोगमा उक्त ढल्केबर सवस्टेशन र प्रसारण लाइन निर्माण भइरहेको छ । अहिले उक्त प्रसारण लाइनमाफर्त २४० मेगावाट आयात हुने क्षमता छ ।
प्रसारण लाइन इनर्जी बैङ्किङका हिसाबले कोसेढुङ्गा मानिएको उक्त सबस्टेसन ४०० केभीमा चार्ज गर्न स्तरोन्नति गर्ने काम भइरहेको छ । प्राधिकरणका अनुसार यस वर्ष साँढे ११ सय मेगावाट विद्युत् उत्पादन थप हुने प्रक्षेपण छ ।
सबैभन्दा ठूलो ४५६ मेगावाटको अपर तामाकोसीसहित निजी क्षेत्र र विद्युत् प्राधिकरणका सहायक कम्पनीमार्फतका जलविद्युत् आयोजना यसै वर्ष सम्पन्न हुनेछन् ।
स्वदेशमा खपत भइ बचत भएको विद्युत् ढल्केबर-मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनमार्फत भारत निर्यात गर्न सकिनेछ । आवश्यक परेको बेला भारतबाट बिजुली आयात गर्न पनि यो प्रसारण लाइन महत्वपूर्ण मानिएको छ ।