काठमाडौं । दैनिक चार उडान गर्दै आएको जेट एयरवेजले उडान बन्द गरेपछि त्यसको प्रत्यक्ष असर पर्यटन क्षेत्रमा परेको छ । युरोपका मुलुकहरुसँग दिल्लीबाट सीधा उडान गर्ने जेट एयरवेज गम्भीर आर्थिक सङ्कटमा परेपछि सम्पूर्ण उडान बन्द गरेको थियो ।
नेपाल पर्यटन बोर्डका एक उच्च अधिकारीले जेट एयरवेजको नेपाल उडान बन्दले पर्यटक आगमन बढ्न नसकेको जानकारी दिए । यो सिजनमा जति उत्साहका साथ पर्यटकको सङ्ख्यामा वृद्धि हुनुपर्ने हो, त्यो हुन नसकेको उनको भनाइ छ ।
जेट एयरवेजले काठमाडौं–दिल्ली उडान चैत २९ गतेबाट बन्द गरेको थियो । जेटको उडान बन्द भएपछि नेपाल वायुसेवा निगमले उडान थप गरे पनि सोचेअनुसार पर्यटक ल्याउन नसकिएको बोर्डको विश्लेषण छ । त्यही कारण विभागले गत महिनाको पर्यटक आगमनको सङ्ख्या सार्वजनिक गरेको छैन ।
निगमले दिल्लीमा उडान गरे पनि युरोपसँग सीधा सम्पर्क नभएका कारण त्यहाँबाट पर्यटक नेपालमा ल्याउन र आउन नसकेको बोर्डको निष्कर्ष छ । तथापि यस विषयमा बोर्डले कुनै आधिकारिक धारणा सार्वजनिक भने गरेको छैन । जेट एयरवेजले काठमाडौंमा सबैभन्दा बढी विदेशी पर्यटक ओसारपसार गर्ने गरेको थियो ।
सन् २०२० लाई भ्रमण वर्षका रुपमा मनाउने र २० लाख पर्यटक भित्र्याउने सरकारले योजना बनाइरहेका बेला जेट एयरवेजले उडान बन्द गर्दा पर्यटन क्षेत्रमा नकारात्मक असर पर्ने पर्यटन व्यवसायी कुमार अधिकारीको भनाइ छ । नेपाल वायुसेवा निगमले अझै युरोपिएन मुलुकहरुमा सीधा उडान गर्न पाउँदैन । युरोपियन युनियन (ईयू)ले नेपाललाई कालोसूचीबाट अझै हटाएको छैन ।
तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले ईयूको कालोसूचीबाट हटाउन धेरै पहल गरेका थिए । तर उनको निधनपछि यस विषयमा कुनै पनि निकायले चासो देखाएको छैन । ईयूको कालोसूचीकै कारण निगमको वाइडबडी जहाज युरोपियन मुलुकमा उड्न नसकेको हो ।