काठमाडौं । काठमाडौंको मौसम दिन–प्रतिदिन चिसिँदो छ । हुन त जाडो होस् या गर्मी सबैको नियमित रोजाइमा पर्छ, चिया । बिहान उठेपछि अधिकाशंको सुरुवात चियाबाटै हुन्छ । यस्तै साथीभाइसँगको भेटमा पनि प्रायःको मुखबाट ‘चिया खान जाऊँ न’ भन्ने सुनिन्छ ।
सबै वर्ग र उमेर समूहको प्रिय बनेको चियाका पसलहरु हरेक चोकचोकमा, गल्लीगल्लीमा देख्न सकिन्छ । तिनै चिया पसलको भीडमा चियापान पनि हो । बालुवाटारस्थित प्रधानमन्त्री कार्यालयको ३ नम्बर गेट अघि रहेको छ । जहाँ चिया नै १०० थरीको पाइन्छ ।
विषेश गरी चियाको नयाँ स्वाद लिन चाहनेहरुका लागि राम्रो गन्तव्यको रूपमा विकास भएको चियापानले विगत ६ वर्षदेखि सेवा दिँदै आइरहेको छ । मनपर्ने चियाको चुस्कीसँगै मनपर्ने किताब पढ्न पाउनुको मज्जा नै बेग्लै हुन्छ । यसैलाई केन्द्रमा राख्दै चियापारखी र पुस्तकप्रेमीको संयुक्त गन्तव्य बनाउने युवा हुन्– विमल ढकाल र केशव शर्मा ।
२०७३ सालको घटस्थापनाबाट ‘चियापान’ ले नेपालसहित विदेशमा समेत आफ्नो शाखा विस्तार गरेको छ । टिपिकल नाम राख्नेबारे सोच्दै जाँदा झट्ट मान्छेको दिमागमा बस्ने र उच्चारण गर्न पनि सजिलो हुने नाम छनोट गरेको शर्मा बताउँछन् । राजनीतिक चर्चा–परिचर्चा हुने स्थानको रूपमा हेरिने बालुवाटारमा नै ‘चियापान’ हुनुलाई अपूर्व एवम् उपयुक्त संयोग मान्न सकिन्छ ।
विमल–केशव बालुवाटारमा चियापान सञ्चालन गर्ने ठाउँ खोज्दै नहिँडेका भने होइनन् । कहिले भेटिने, कहिले भनेजस्तो नभेटिने । खोज्दै जाँदा प्रधानमन्त्री निवासको ३ नम्बर गेटअघि ठाउँ भेटे । त्यही ठाउँ उनीहरुका लागि उपयुक्त बन्यो । प्रधानमन्त्री निवास नजिकै भएर पनि ‘चियापान’ का लागि राम्रो माहौल सिर्जना भएको उनीहरूको भनाइ छ ।
नेपालमा राणाकालदेखि सुरु भएको मानिने चियापान आजपर्यन्त पनि छ । र, निरन्तर क्रममा पनि छ । नेपालमा चियाको कल्चर अझै बढाउने उद्देश्यका रुपमा पनि ‘चियापान’ लाई लिन सकिन्छ ।
४० लाखबाट सुरु गरेको चियापानको लगानी अहिले १ करोड नाघेको छ । चियापानलाई बालुवाटारमा मात्रै सीमित नराख्ने उनीहरूको योजना छ । तर, सोचेझैं चियापानको फ्रेन्चाइजी विस्तार हुन सकेको छैन । चियापानले शाखा विस्तार गर्न नसक्नुको कारण बताउँदै केशव भन्छन्, ‘सुरुका एक÷दुई वर्ष हामीलाई स्थापित हुन समय लाग्यो । त्यसपछि कोरोनाले असर गर्यो । अब निकट भविष्यमै केही ब्रान्च तथा फ्रेन्चाइजी विस्तार गर्छौं ।’
तपाईंले अहिलेसम्म कति प्रकारको चिया खानुभएको छ ? भन्ने प्रश्नमा धेरैको जवाफ हुन्छ– चार–पाँच प्रकारको । यो जवाफ सामान्य नै हो । हामी नेपालीले अधिकांश खाने भनेको ग्रिन टी, ब्ल्याक टी, मिल्क टी, लेमन टी खान्छौं । तर, चियापानमा नेपालमा सबैभन्दा बढी अर्थात् १०० भन्दा बढी भेराइटीका चिया खान पाइन्छ । त्यहाँ पाइने चिया पनि नेपाली उत्पादन नै हो । यी युवाले नेपाली उत्पादनको प्रबर्धन मात्रै गरेका छैनन्, विश्वबजारमा नेपाली चियालाई चिनाउन विदेशमा निर्यातसमेत गर्दै आएका छन् ।
झट्ट सुन्दा १०० भन्दा बढी भेराइटीको चिया कस्तो होला ? के त्यो सबै नेपालमै पाइएला ? भन्ने लाग्न सक्छ । सीप र तरिका दुवै जान्नेले थोरै र सीमित वस्तुबाट पनि नयाँ परिकार बनाउन सकिन्छ भन्ने उदाहरण चियापानले दिएको छ ।
मुख्यतया ४ प्रकारका चियाबाट विभिन्न स्वादका चिया तयार गरिने शर्मा बताउँछन् । उनका अनुसार वलाङ, ग्रीन, ब्ल्याक, ह्वाइट टी गरी ४ प्रकारका चिया चियापानमा प्रयोग भएका छन् । तिनै चियाको विभिन्न स्टेपबाट १०० भन्दा बढी चिया बन्ने गर्छ ।
तर, विदेशमा भने वलाङ, ग्रीन, ब्ल्याक, ह्वाइट, एल्लो र पोर टी गरी ६ प्रकारका चिया प्रचलनमा रहेको उनले बताए ।
चियाको बोट एउटै भए पनि सबभन्दा माथिको सुइरोबाट एक प्रकारको, त्यससँगै एक पात मिसिएमा अर्को, दुई पात मिसिएमा अर्को प्रकारको गर्दै चियाको प्रकार छुट्टिने उनी सुनाउँछन् ।
‘साथीभाइको सुझाव पहिलेदेखि नै आएको थियो । चीन, जापान घुम्ने मौका पाएपछि हामी पनि चियाको ब्रान्ड नै बनाऊँ भन्ने लाग्यो’ शर्माले भने, ‘नेपालका प्रत्येक घरमा कफी भन्दा चिया पाक्छ । यसको अर्थ हो अप्रत्यक्ष रूपमा नेपालमा प्रत्येक घरका मान्छे चिया पिउँछन् भने यसैलाई ब्रान्ड किन नबनाउने ? भन्ने लागेर सुरु गर्यौं ।’
चियापानमा एउटा फरक विशेषता छ । त्यो हो ‘वेलकम टी’ । त्यसबापत कुनै शुल्क लाग्दैन । चियापान प्रवेश गरेपछि हरेक ग्राहकलाई वेलकम टी लिएर पुग्छिन् श्रेया पोखरेल । चियाको नयाँ प्रकार त्यसमा पनि श्रेयाको आतिथ्य सत्कार देखेर नलोभिने ग्राहक सायदै होलान् । त्यसो त सञ्चालकद्वय विमल र केशवले पनि चियाको सम्पूर्ण जिम्मेवारी श्रेयालाई नै दिएका छन् । यस्तै साथीलाई चिया बनाउन श्रेयाले नै सिकाउँछिन् ।
संसारमा चिया पिउने चलन चीनबाट सुरु भएको हो । विश्वमा १६० वटा ‘टी कल्चर कन्ट्री’ भएकामा नेपाल १९ औं स्थानमा पर्छ । ५ हजार वर्ष पहिला चिया पिउने चलन सुरु भएको इतिहास छ । नेपालको इतिहास हेर्दा जंगबहादुर राणा चीन भ्रमणमा गएका बेला चियाको बीउ ल्याई इलाममा रोपेका थिए । त्यही“बाट नेपाली समाजमा चियाको चलन चलेको हो ।
विमलले विदेशको बजार हेर्छन् । यस्तै केशवले नेपालमा यवस्थापनको सम्पूर्ण जिम्मेवारी । नेपालमा विस्तारै फैलिने सोच लिएको चियापानको एउटा शाखा भने विदेश अर्थात् दुबईमा खुलिसकेको छ । उनीहरूका साथीले दुबईमा शाखा सञ्चालन गर्दै आएका छन् । त्यस्तै अस्ट्रेलिया र युकेमा पनि शाखा विस्तारका लागि छलफल भएको केशव बताउँछन् ।
चियापानमा चियाबाहेक भेज खाजा पनि पाइन्छ । तर, अन्य पेय पदार्थ भने पाइँदैन । पक्ष भनेको चियापानमा ‘अल्कोहल टी’ पनि उपलब्ध छ ।
‘धेरै सेवन गर्यो भने सबै कुराले स्वास्थ्यलाई हानी गर्छ, त्यो ख्याल गर्नु पर्छ’ उनी भन्छन्, ‘हाम्रोमा रेड वाइन, रेड वलाङ, ग्रिन वलाङ, स्लिम टी पनि छ ।’
१७/१८ लाख लगानी गरेर नेपालमा सामान्य टी–लन्च सञ्चालन गर्न सकिने शर्मा सुनाउँछन् ।
अहिले चियापानले १५ जनालाई नियमित रोजगारी दिँदै आएको छ ।