काठमाडौं । नेपाली कांग्रेसका नेता तथा उद्योगपति विनोद चौधरीले पार्टीको जारी १४औं महाधिवेशनमा केन्द्रीय सदस्य पद (मधेशीतर्फ)मा उम्मेदवारी दर्ता गरेका छन् । आफ्नो सपना समृद्ध नेपाल रहेको र यही मिसनका लागि राजनीतिमा आएको उल्लेख गर्दै चौधरीले कांग्रेसको केन्द्रिय सदस्यमा उम्मेदवारी दिएका हुन् ।
‘मैले मेरा लागि जीवनमा देखेका अधिकांश सपना पूरा हुँदै आएका छन्’, उनले उम्मेदवारी घोषणा गर्दै भनेका छन्, ‘अब, मेरो बाँकी रहेको सपना भनेको नेपाललाई समृद्ध र स्वाभिमानी राष्ट्रका रुपमा चिनाउने हो ।’ राष्ट्र निर्माणको आफ्नो सपनालाई पूरा गर्न सबैको सहयोग पाउनेमा आफू विश्वस्त रहेको चौधरीले बताएका छन् ।
‘कांग्रेसको नेतृत्वमा राजनीतिक क्रान्तिहरु सफल भए र अब आर्थिक क्रान्तिको जिम्मेवारी पनि कांग्रेसकै हो’, उनले थपे, ‘यसको सबैभन्दा महत्वपूर्ण आधार हाम्रा होनहार युवाहरुको सिर्जनसिल सोच, शिल्प, श्रम र केही गरौं भन्ने उत्साह भएकाले कांग्रेसले सहि नेतृत्व पाउनुपर्छ ।’
चौधरी नेपाली कांग्रेसको लगानी, पूर्वाधार र रोजगारः दृष्टिकोण एवं दीगो परियोजना केन्द्रित विशेष समितिका संयोजक हुन् । उक्त समितिले पार्टीमा आबद्ध युवाहरुलाई उद्यमी बनाउन गरिखाने अभियान सञ्चालन गरिरहेको छ ।
उनको नेतृत्वमा समितिले सातै प्रदेशमा योजना र ऊर्जा भएका युवाहरुलाई उनीहरुकै परियोजनामा लगानी र अन्य आवश्यक सीप उपलब्ध गराउन आवश्यक सहजीकरण गरिरहेको छ । उनी पार्टीका तर्फबाट प्रतिनिधिसभा सदस्यसमेत हुन् ।
कांग्रेसले कोरोना महामारीका बेला अस्तव्यस्त भएको आर्थिक क्षेत्रको उत्थानका लागि सुझाव दिन गठन गरेको समितिको संयोजक पनि थिए, चौधरी । उनी गत संसदीय निर्वाचनमा नेपाली कांग्रेसको निर्वाचन प्रचारप्रसारमा निकै सक्रिय थिए ।
देशभरि भएका सभाहरुमा कांग्रेसका लागि भोट माग्न पुगेका थिए । उद्योगी चौधरी फोब्र्स म्यागेजिकमा सूचीकृत एक मात्र नेपाली डलर अर्बपति हुन् ।
यो पनि हेर्नुहोस
कांग्रेसको आर्थिक एजेन्डा, नीति र बहसमा नयाँ कोर्ष डिजाइन गर्दै विनोद चौधरी