विराटनगर । पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेमबहादुर आलेले अमडुवामा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन निजि क्षेत्रले जिम्मा लिए बजेट विनियोजन गर्ने बताएका छन् ।
नेपाल उद्योग परिसंघ प्रदेश नंं. १ को प्रथम साधारण सभा उद्घाटन समारोहमा बोल्दै मन्त्री आलेले अमडुवामा भएको ६५० विघा जग्गा मध्ये ३०० विघा जग्गा पाए १ महिना भित्र अन्तर्राष्ट्रिय विमानस्थल त्यहाँ निर्माण गर्ने निर्णय गरेर बजेट उपलव्ध गराउने ठोकुवा गरे ।
उनले १२६ विघा जमिन अधिकरण गर्नुपर्ने भएकाले विमानस्थल निर्माण गर्न आफूले २५ अर्बदेखि ३० अर्ब रुपैयाँसम्म बजेट जुटाउन सक्ने बताए ।
मन्त्री आलेले उद्योग परिसंघ प्रदेश १ का अध्यक्ष भीम घिमिरेतर्फ इंकित गर्दै जग्गा उपलव्ध गराउन तपाईले मात्र गरेर हुँदैन तपाईको सिएनआईलगायत यहाँका सम्पूर्ण उद्योगी व्यवसायी, विभिन्न संघ संस्थाका व्यक्तिहरु, राजनैतिक दलहरुको सहमति भएमा आपूm त्यसको निर्णय गरेर बजेट जुटाउन लाग्ने बताए ।
‘मेरो मन्त्रालयअन्तर्गत कुनै एउटा पनि कुरा कमी कमजोरी गरेछु भने म राजीनामा दिन तयार छु’ उनले भने, ‘म मिसन पनि क्लियर र भिजन पनि क्लियर भएको मान्छे हुँ प्रेम आले ।’
आफू मन्त्री भएर आएदेखि मन्त्रालयअन्र्तगत भएका विकृति विसंगतिहरु हटाउन लागेको बताउँदै विराटनगर विमानस्थलमा सुधारका कार्यहरु गर्न निर्देशन दिएको जानकारी दिए । विराटनगर विमानस्थलमा यात्रुले सामान लिन निकै कुर्नु पर्ने देखेको बताउँदै उनले छिट्टै लगेज एक्जाभेटर उपलव्ध गराउने बताए ।
त्यसैगरी नेपाल उद्योग परिसंघ अध्यक्ष विष्णुकुमार अग्रवालले उद्योग तथा व्यवसायमा लगानी बढाउनका लागि आर्थिक स्थिरता अपरिहार्य भएको बताए । आर्थिक स्थिरता नभएमा उद्योगीले लगानी गर्न हिम्मत जुटाउन नसक्ने उनको भनाई छ ।
‘उद्योगीले लगानी गरेपछि रोजगारी सिर्जना हुन्छ, देशको पुँजी पनि निर्माण हुन्छ’, उनले भने, ‘आर्थिक र नीतिगत स्थिरता नहुँदा भोली नीति परिवर्तन भईसकेको हुन्छ, त्यसकारण पनि अहिले धेरै उद्योग धरापमा परेका कारण पछिल्लो समय उद्योगमा लगानी गर्नका लागि उद्योगीले हिम्मत गर्न सकेका छैनन् ।’ नितिगत स्थिरता अत्यन्तै आवश्यकता भएको उनको भनाई छ ।
विकास सबैले चाहन्छन् तर राजनीतिक कारणले विकास दोस्रो पाटोमा पर्ने गरेको अग्रवालको भनाई छ । बाहिरबाट आउने लगानी पनि राजनीतिक कारण आउन नसकोको उनले बताए ।
एमसीसी परियोजना नेपालमा विकास गर्नका लागि नै आउन लागेकोले त्यस्ता परियोजना ल्याउने पर्ने अध्यक्ष अग्रवालले बताए । सबै कुराको अध्ययन गरेर एमसीसी जस्ता विकास गर्नका लागि आउन लागेका परियोजना राजनीतिक कारण रोकिएको भन्दै यसलाई ल्याउनु पर्ने उनले बताए ।
साधारण सभामा प्रदेश १ का सामाजिक विकासमन्त्री जयराम यादव, प्रमुख सचिव रामप्रसाद घिमिरे, मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाल, उद्योग संगठन मोरङका अध्यक्ष सुयश प्याकुरेललगायतले शुभकामना राखेका थिए ।
संघको प्रथम साधारण सभाले भीम घिमिरेको अध्यक्षतामा २५ सदस्यीय नयाँ कार्यसमिति पनि चयन गरेको छ । जसमा बरिष्ठ उपाध्यक्ष प्रकाश मून्दडा, उपाध्यक्ष नवल किशोर कावरा, सुशीलकुमार जोशी, कृष्णकुमार अग्रवाल, दिपक पौडेल, र देवेन्द्र गुप्ता रहेका छन् भने कोषाध्यक्षमा गिरिस लुनिया छन् ।
साधारण सभाको अवसरमा २ जना पत्रकार, एउटा मिडिया हाउस र व्यवसायिक रुपमा योगदान पुर्याएका दुई जना युवा व्यवसायीलाई सम्मान गरिएको थियो ।