पोखरा । गण्डकी विश्वविद्यालयका कुलपति प्रा.डा. गणेशमान गुरुङले पर्वतीय पर्यटनबाट दिगो विकास हासिल गर्न यस क्षेत्रको संरक्षण सम्बद्र्धनमा जोड दिनुपर्ने बताएका छन् ।
अनुसन्धान तथा क्षमता अभिवृद्धि केन्द्रको (रिक्याप) आयोजना र सोलिडारिटी फोरोम (सोफो)को समन्वयमा “समृद्धिका लागि दीगो पर्वतीय पर्यटन” विषयक छलफल कार्यक्रममा उनले पर्वतीय क्षेत्रका विशेषताहरुको पहिचान गर्दै त्यसको संरक्षणमा जोड दिनुपर्ने बताए ।
हिमालमा बढ्दो फोहोरको व्यवस्थापन हुन नसक्नु, हिमाली जनजीवनको मौलिक संस्कार र संस्कृती संरक्षण हुन नसक्नु दुखद भएको जनाउँदै उनले पर्वतीय पर्यटनको विकासलाई उजागार गर्दै लैजानुपर्ने आवश्यकता औल्याए ।
भुगोलविद् प्रा.डा. कृष्ण केसी कोरोनाले पर्यटनमा चुनौती थपेको बताउदैं अब पर्यटन चलायमान बनाउन नयाँ खोज र सोचको आवश्यकता रहेको विचार व्यक्त गरे । उनले पर्यटन संस्कृतिको विकासको वातावरण बनाउन आवश्यक नीति निर्माण गरी त्यसको कार्यान्वयनमा जोड दिनुपर्ने भनाइ राखे ।
पर्यटनका अध्येता एवम् रिक्यापका अध्यक्ष श्रीकान्त खतिवडाले नेपालमा पर्वतीय पर्यटनको प्रचुर सम्भावना रहेको प्रष्टाउँदै यसको विकासका लागि रणनीति योजना सहितका कार्यक्रमहरु तय हुन नसकेको बतााए ।
नेपालको पर्यटनको इतिहास हिमालबाट शुरु भएको जनाउँदै मौरिस हर्जोकले नेपाल चिनाउन गरेको योगदान सदा स्मरणीय रहेको बताए । उनले नेचर, कल्चर र एडभेन्चरले भरीपूर्ण देश नेपालमा योजनावद्ध र दिगो तवरबाट विकासको खाँचो रहेको औल्याए ।
सो अवसरमा कुलपति गुरुङले प्रकाश थापाद्धारा लिखित पुस्तक “लाङटाङदेखि लण्डन”सम्मको विमोचन गरेका थिए । उक्त पुस्तकबारे नेपाल पर्वतारोहण संघ (एनएमए) गण्डकीका अध्यक्ष शेषकान्त शर्माले पुस्तकले हिमालको परिवेशको यथार्थलाई निकै जीवन्त रुपमा समेटेको र पुस्तक पढ्नेहरुलाई घुम्न प्रेरित गर्ने बताए ।
लेखक थापाले हिमालसँग दशवर्षको अनुभव र २० वर्षको मेहनतबाट नेपालको भुभाग र हिमालको महत्वलाई पुस्तकमा उतारेको बताए । जीवनको अन्तिम लक्ष्यनै उचाइ भएको जनाउँदै जुन उचाइ नेपालमा रहेकाले पनि पर्यटन क्षेत्रमा पुस्तकले थप टेवा पुर्याउने विश्वास व्यक्त गरे ।
नेपाल पर्यटन बोर्डका पूर्व सदस्य टिकाराम सापकोटा , बासु त्रिपाठी, सोफोका कोषाध्यक्ष लक्कि कार्की, उपाध्यक्ष हरि त्रिपाठी लगायतले नेपालका चुचुराहरुको प्रोफाइल तयार गरी प्राकृतिक र सांस्कृतिक जोगाउन सके मात्रै दिगो पर्यटन सम्भव हुने धारणा राख्दै सरकारले पर्यटन मैत्री नीति ल्याउनु पर्नेमा जोड दिए ।
रिक्यापका महासचिव रामजी शर्माले पर्यटनको सैद्धान्तिक ज्ञान र व्यवसायिक अनुभव भएका व्यक्तिहरुको सामुहिक धारणाबाट पर्यटन क्षेत्रको विकासको लागि समृद्धिको खाका तयार गर्न सकिने बताए । कार्यक्रममा पर्यटन क्षेत्रका व्यत्तित्वहरुको सहभागिता रहेको थियो ।