काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले दुईजना वरिष्ठ निर्देशकसहित सात पदका लागि पदपूर्तिको तयारी गरिरहँदा कर्मचारीहरुले असन्तुष्टि जनाएका छन् । दूरसञ्चार प्राधिकरणका कर्मचारीहरुको सेवा शर्त सम्बन्धि विनियमावली २०७६ को विनियम १७ मा रहेको उमेरहदको व्यवस्थामाथि कर्मचारीहरुले विरोध जनाएका हुन् ।
प्राधिकरणका ९ जना कर्मचारीहरुले विनियममा भएको उमेरहदको व्यवस्था संसोधन नगरेसम्म नयाँ पदपूर्तिको कार्य हुन नसक्ने भन्दै मंसिर १७ गते सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा पत्र पठाएका थिए । तर प्राधिकरणले उक्त विनियम संसोधनका नगरी दुई दिनपछि मंसिर १७ गते रिक्त वरिष्ठ निर्देशकसहित कूल सात पदका लागि बढुवा खुलाएको थियो ।
हालको विनियमअनुसार प्राधिकरणमा सहायक पद, अधिकृत पदका लागि ३५ वर्षसम्मको उमेर हद छ । यसैगरी अधिकृत द्धितिय र प्रथम श्रेणीका लागि ४०, भूतपूर्व सैनिक तथा भूतपूर्व प्रहरीको हकमा ४५, महिला तथा अपाङ्गताको हकमा ४० वर्षको उमेरहद तय गरिएको छ ।
खुल्ला तर्फको पदमा उम्मेदवार हुन प्राधिकरणमा कार्यरत स्थायी कर्मचारीलाई समेत उक्त उपनियम बमोजिमको सबै उमेरहद लागू हुने व्यवस्था छ ।
उक्त विनियमले सिमित मान्छेलाई मात्र फाइदा पुर्याउने भन्दै प्राधिकरणका कर्मचारीहरुले विनियमको विरोध गरेका छन् । यो व्यवस्थाबाट प्राधिकरणका धेरै कर्मचारी प्रभावित हुने उनीहरुको भनाई छ ।
‘कर्मचारीलाई माथिल्लो तहमा परीक्षा दिनका लागि उमेरहदले रोकेको छ,’ एक कर्मचारीले भने, ‘भ्याकेन्सी त पद रिक्त हुँदा मात्र खुल्ने हो तर उमेर त बढिरहन्छ नी । भ्याकेन्सी रिक्त नभएर परीक्षा दिन पाइन्न त्यसमा कर्मचारीको त दोष होइन नी । उमेर हद पुरा भएका कर्मचारीहरुको लागि त यो अन्याय भयो नी ।’ उनले भने ।
यसअघि हरिहर गुरागाईंले नागरिक लगानी कोष, पदपूर्ति समिति, सञ्चालक समिति, अर्थ मन्त्रालय र लोक सेवा आयोग केन्द्रीय कार्यलयलाई समेत विपक्षी बनाइ रिट निवेदन दिएकोमा सो रिट उपर सर्वोच्च अदालतको संयुक्त इजालसले २०७७ साल फाल्गुन १० गते यस्तै प्रकृतिको मूद्दामा आदेश दिइसकेको छ ।
सो अनुरुप प्राधिकरणको कर्मचारीहरुको सेवाका शर्त सम्बन्धि विनियमावली २०७६ मा हालसम्म कुनै संसोधन नगरी विज्ञापन खुलाइएको मन्त्रालयमा पठाइएको पत्रमा उल्लेख छ ।
प्राधिकरणका कर्मचारी सुन्दर प्याकुरेल, विनोदचन्द्र श्रेष्ठ, रेवतीराम पन्त, हिरण्यप्रसाद वास्ताकोटी, सन्दिप अधिकारी, प्रतिमा घिमिरे, रन्जिता पौडेल, सुनिल खतिवडा, पुण्य पौड्यालले उक्त पत्रमा संयुक्त हस्ताक्षर गरेका छन् ।
कर्मचारीहरुको पत्रपछि मंसिर २१ गते मन्त्रालयले प्राधिकरणलाई यसबारे यथार्थ जानकारी उपलब्ध गराउन पत्र पठाएको थियो । तर प्राधिकरणका अध्यक्ष हाल देश बाहिर रहेको हुँदा उक्त पत्रमा के भइरहेको छ भनेर आफूलाई जानकारी नभएको प्राधिकरणका पदपूर्ति समितिका सचिव सन्दिप अधिकारीले क्यापिटल नेपाललाई बताए । उनका अनुसार हाल उक्त पत्र प्राधिकरण अध्यक्षको सचिवालयमा रहेको हुनसक्ने उनले बताए ।