कैलाली । भजनी नगरपालिका–८ का रामकृष्ण चौधरी आफ्नै खेतमा उत्पादन भएको बीउ प्रयोग गर्दै आइरहेका छन् । उनलाई अहिलेसम्म थाहा छैन, धान र गहुँको बीउ किन्न पाइन्छ ।
‘खेती लगाउने समयमा बीउ आफैँसँग हुन्थ्यो । कसैसँग सापटी माग्नुपर्ने अवस्था थिएन’ उनले भने, ‘यस वर्ष बाढी र डुबानले सबै धान नष्ट भयो । आउँदो वर्ष खेतमा के रोप्ने भन्ने चिन्ता छ ।’
राष्ट्रिय गौरवको रानी जमरा कुलरिया सिँचाइ आयोजनाको कमान्ड क्षेत्रभित्र मात्रै अहिले १२ वटा बीउ उत्पादन गर्ने कृषि सहकारी संस्था छन् । विगतमा जानकी गाउँपालिकाको बीजवृद्धि कृषक सहकारीले मात्रै बीउ उत्पादनको काम गरेको भएपनि पछिल्लो समयमा आयोजनाको काम सुरु भएपछि बीउ उत्पादनमा सहकारीलाई सघाउन थालेकाले कृषि सहकारीहरु यसतर्फ उत्साहित भएका थिए । उत्पादन भएको उन्नत बीउ कैलालीमा मात्रै नभई बाह्य जिल्लामा समेत निर्यात हुने गरेको थियो । तर, यस वर्ष भने वर्षात्का कारण बीउ उत्पादनमा निकै ह्रास आएको छ ।
विशेष गरी धानको बीउ उत्पादनमा कमी आएपछि अब बीउकै अभाव हुने चिन्ता बढेको छ । बीजवृद्धि कृषक सहकारी संस्थाले यस वर्ष चार सय मेट्रिक टन बीउ उत्पादन गर्ने लक्ष्य लिएको थियो । तर, सहकारी संस्थाले दुई सय मेट्रिक टनमात्रै यसको बीउ उत्पादन गर्यो । धान काटेर सुकाउन राखेको समयमा भएको वर्षाले सबै बीउको धान बिगारेपछि उत्पादनमा ह्रास आएको सहकारी संस्थाका व्यवस्थापक गोविन्दराज रावतले बताउँछन् । ‘हामीले बीउका लागि उत्पादन गरेको चार सय मेट्रिक टन धान हो । सबै बर्खामा बिग्रेपछि करिब दुई सय मेट्रिक टन धानको बीउ मात्रै बचाउन सक्यौं’ उनले सुनाए, ‘बीउ उत्पादन गर्ने किसानलाई पनि निकै नोक्सान भएको छ । राम्रो मूल्य पाउने किसानले बजार मूल्यमा धान बेच्दा नोक्सान भएको हो ।’
त्यस्तै, धनसिंहपुर कृषि सहकारी संस्थाले यस वर्ष धानको बीउ उत्पादनका लागि ७५ हेक्टर क्षेत्रफलमा धान रोपिएको थियो । बाढीका कारण सबैभन्दा बढी क्षति पुगेको क्षेत्र धनसिंहपुरमा अधिकांश धान बाढीमै विलय भयो । बीउका लागि रोपिएको धान पनि किसानले भित्र्याउन पाएनन् । दुई सय मेट्रिक टन धानको बीउ उत्पादनको लक्ष्य लिएको सहकारीले ७५ मेट्रिक टन बीउ पनि उत्पादन गर्न नसकेको सहकारीका अध्यक्ष धनसिंह साउदले बताए ।
उनले बर्सेनि बीउ उत्पादनलाई वृद्धि गर्दै लगे पनि यस वर्षको बाढी र डुबानले किसानलाई सबैभन्दा बढी क्षति भएको बताए । आउँदो वर्ष धानको बीउ कताबाट ल्याउने भन्ने चिन्ता छ । हुन त भारतीय बजार नजिकै भएका कारणले पनि केही किसानले भारतबाट पनि बीउ ल्याउन सक्ने अवस्था छ । उनको भनाइमा बाहिरबाट र घरकै धानको बीउ रोप्दा उत्पादनमा ह्रास आउन सक्छ । त्योभन्दा पनि बाहिर पठाउने धानको बीउमै निकै ह्रास आयो ।
त्यति मात्र होइन, अहिले भारतीय बजारसम्म नेपालीको आवागमन सहज भएपछि कृषि सहकारी संस्थाले भण्डारण गरेको गहुँको बीउको मूल्यमा समेत कमी आएको छ । सहकारी संस्थाले दिने मूल्यभन्दा भारतीय बजारमा सस्तोमा बीउ पाउन थालेपछि बीउको मूल्यमा कमी आएको हो ।
सस्तोमा पाउन थालेपछि किसानले भारतीय बजारबाट गहुँको बीउ ल्याएर खेती गरेका छन् । केही बीउ बिक्री भए पनि अझै १५ मेट्रिक टन भण्डारण मै रहेको बीजवृद्धि कृषक सहकारी संस्थाका व्यवस्थापक रावतले बताए ।