कर्णाली । महिना आएको बाढीले कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१० को कुतियाकवर गाउँ पूरै डुबानमा पर्याे । महाकाली र जोगबुढा नदी उर्लिंदा रातारात प्रहरी प्रशासनले स्थानीयको उद्धार गरे ।
सिंगो गाउँ बाढीका कारण विस्थापित बन्यो । अहिले अवस्था सामान्य बन्दै गए पनि कुतियाकवर गाउँ बगरमा परिणत हुँदा स्थानीयवासी चिन्तित छन् । ‘भारतसित सीमा जोडिएको कुतियाकवरमा ४२ परिवार छन्’ दोधारा चाँदनी नगरपालिका–१० का वडाध्यक्ष नरबहादुर सुनार भन्छन्, ‘ती सबै परिवारको कमाइखाने खेत बालुवाले पुरिएको छ ।’
बस्तीको खेतीयोग्य जमिन बालुवाले पुरिँदा किसान खेतबारी लगाउन नसक्ने अवस्थामा पुगेका वडाध्यक्ष सुनारको भनाइ छ । उनले बाढीका बेला महाकाली नदीले बगाएर ल्याएका रुख, दाउरा पनि गाउँमा थुपारिएको बताए । महाकाली र जोगबुढाको दोसाँध हुनाले कुतियाकवरमा बढी क्षति भएको उनको भनाइ छ । यस्तै बाढीका बेला वडामा मात्रै ९०० परिवार प्रभावित बनेका र खेतमा थुपरिएको बालुवा हटाउन नगरपालिकाले समन्वय गर्ने उनले बताए ।
बाढीपीडितलाई तत्काल राहत स्वरुप नगरपालिका र दातृ निकायबाट खाद्य सामग्री वितरण गरिएको उनको भनाइ छ । दोधारा चाँदनीकै भौगोलिक रुपले विकट मानिने कुतियाकवरका स्थानीय खेतीपाती र भारतीय सीमावर्ती बजारमा ज्याला मजदूरी गरेर जीविका चलाउँदै आएका छन् । स्थानीयवासीले सरकारले उपलब्ध गराउने भनेको राहत अझै पाउन नसेकोप्रति दुखेसो पोखेका छन् ।
‘राहत आउँदै गथ्र्याे बरु डोजर पठाएर खेतको बालुवा हटाइदिए हुन्थ्यो’ स्थानीय टेकबहादुर सुनारले भने, ‘गरिखाने खेतमा बालुवा भरियो । अब कसरी जीविका चलाउने ? ।’
उनले बालुवा हटाउन स्थानीय पालिकालाई आग्रह गरे पनि सुनुवाइ नभएको बताए ।
अन्नबाली बाढीले बगाउँदा स्थानीयलाई छाक टार्न समस्या भएको सुनारको भनाइ छ । त्यसैगरी अर्की स्थानीय सुष्मा सुनारले हरेक वर्ष जोगबुढा नदीले दुःख दिनेगरेको बताइन् । उनका अनुसार वर्षात्मा गाउँका झुपडी सुरक्षित रहँदैनन् । गरिब त्यहीँमाथि दलितको बस्तीलाई कसैले वास्ता गरेनन् ।
दोधारा चाँदनी नगरपालिकाका नगरप्रमुख वीरबहादुर सुनारले बाढीका बेला तत्काल खाद्यान्न लगायतका राहत वितरण गरिएको बताए । ‘विभिन्न संघसंस्थाले पीडितलाई त्यो बेला सहयोग गरे’ उनले भने, ‘पीडितको लगत संकलन गरेर केन्द्रमा पठाएका छौं । सरकारले सहयोग गर्ने आश्वासन दिएको छ ।’