म्याग्दी । विगत दुई वर्षअघिको तुलनामा अहिले म्याग्दीमा कृषि उत्पादनान वृद्धि भएको छ । कृषि ज्ञान केन्द्रका अनुसार दुई वर्षअघिसम्म कुल खेतीयोग्य जमिनको ६२ प्रतिशतमा मात्र खेती गरिएकामा अहिले ८२ प्रतिशतमा खाद्यान्न, तरकारी र फलफूलखेती विस्तार गरिएको छ ।
विगतका वर्षमको तुलनामा यो वर्ष शतप्रतिशत खेतमा धान रोपाइँ भएको र पाँच प्रतिशतले उत्पादनमा वृद्धि भएको स्थानीय तहका कृषि शाखाले जनाएका छन् । विगतमा जिल्लामा ९६ प्रतिशत मात्र रोपाइँ हुने गर्दथ्यो । विभिन्न स्थानमा जौ जोन, मकै जोनजस्ता कार्यक्रम पनि सञ्चालन भइरहेका छन् । सिँचाइ समस्याले धेरै जमिन बाँझो राख्नुपरेका किसानलाई राहत भएको छ । कृत्रिम जलाशय, लिफ्ट सिँचाइ, नहर, पक्की कुलोले गर्दा पानी सहज भएपछि खेती गर्न सजिलो भएको कृषकको भनाइ छ ।
स्थानीय सरकारले पनि कृषिलाई प्रमुख प्राथामिकतामा राखेर काम गर्दै आएको जनाएको छ । मंगला गाउँपालिकाले बाँझो जमिन नराख्ने नीति ल्याएपछि अहिले गाउँपालिकाभित्र कतै पनि बाँझो जमिन नरहेको गाउँपालिकाका कृषि प्राविधिक जगत बानियाँले बताए । जिल्लामा बाँझो जमिनको अवस्था घट्दो क्रममा रहेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
त्यसैगरी जिल्लामा नगदे बालीलाई पनि प्राथमिकता दिइएको छ । यसअघि पानीको सुविधा नभएका स्थानमा नगदेबालीको खेती गर्न किसान आकर्षित भएका हुन् । आलु, गोलभेँडा, काउली, बन्दालगायत तरकारी उब्जनी हुँदै आएको छ । स्थानीय सरकारले कृषिको पकेट क्षेत्रको पहिचान गरी अनुदानलगायत कार्यक्रम विस्तार गर्न कृषिमा लागेका युवाले माग गरेका छन् ।
पाँच वर्ष लामो दुबर्ईको बसाइँलाई बिट मारेर गत चैतमा गाउँ फर्किएका मालिका गाउँपालिका–५ का भीमबहादुर रोकाले वर्षौंदेखि बाँझिएको १८ रोपनी पाखोबारीलाई जोतेर दुई हजारभन्दा बढी सुन्तला, कागती र केराका बिरुवा लगाएका छन् । ‘विदेशमा हामी जस्तो दुःख गर्न पनि तयार हुन्छौं । तर, स्वदेशमा भने जाँगर देखाउँदैनौं’ रोकाले भने, ‘म विदेश नफर्कने निर्णय गरी गाउँमा नै बाँझिएको जग्गा जमिन जोतेर फलफूल र तरकारी खेतीतिर लागेको छु ।’
रोका मात्रै होइन, कोरोना महामारी सुरु भएपछिका १६ महिनामा दुई हजार ७०० भन्दा बढी युवा वैदेशिक रोजगारी छाडेर आफ्नै गाउँमा फर्किएका छन् । यीमध्ये ८५ प्रतिशत युवा कृषि र पशुपालनमा जोडिइसकेका छन् भने बाँकी युवा स्वदेशमै रोजगारीका अन्य माध्यमको खोजी गरिरहेका छन् । रासस