काठमाडौं । नेपाल विद्युत प्राधिकरणले सुदुरपश्चिममा रहेको २१० मेगावाटको चैनपुर सेती अर्ध जलासय जलविद्युत आयोजनाको काम अघि बढाएको छ । प्राधिकरणले आयोजनाको वातावरणीय प्रभाव मूल्याँकन (इआईए) को काम सकेर वन तथा वातावरण मन्त्रालयमा बुझाएको छ ।
मन्त्रालयले इआईए प्रतिवेदनमा सर्वसाधारणबाट रायसुझाव मागेको छ । मन्त्रालयबाट इआईए प्रतिवेदन पास भएपछि आयोजनाको थप काम अघि बढ्ने भएको छ । बझाङमा पर्ने चैनपुर सेतीलाई सुदूरपश्चिम प्रदेशको ‘गेमचेन्जर’ आयोजनाको रूपमा अगाडि बढाइएको छ । यो आयोजना जनताको जलविद्युत कार्यक्रममा अन्तर्गत निर्माण गरिने भएको हो ।
संघीय, प्रदेश र स्थानीय सरकार, आयोजना प्रभावित, मुलुकभरका सर्वसाधारण नागरिकको सेयर लगानी रहनेछ । प्राधिकरणले आयोजना सहायक कम्पनीबाट अघि बढाउने तयारी गरेको छ । चैनपुर सेतीको विस्तृत इन्जिनियरिङलाई अन्तिम रुप दिने, निर्माणका लागि ठेकेदार छनोटका टेण्डर कागजात तयार पार्ने, पहुँच सडक, जग्गा अधिग्रहण, वित्तीय व्यवस्थापनका लागि स्वदेशी वित्तीय संस्था तथा अन्तर्राष्ट्रिय दातृ निकायहरुसँगका छलफललगायतका काम समानान्तर रुपमा अगाडि बढाइएको छ ।
आयोजनालाई इन्जिनियरिङ, खरिद र निर्माण (ईपीसी) मोडलमा निर्माणका लागि टेण्डर कागजपत्र तयार, पहुँच सडक निर्माण, जग्गा अधिग्रहणलगायतका काम भइरहेको छ । संभाव्यता अध्ययनअनुसार हिउँदमा ६ घण्टा पूर्ण क्षमतामा चल्न सक्ने अर्ध जलासययुक्त नदी प्रभावमा आधारित (पीआरओआर) आयोजनाबाट वार्षिक १ अर्ब १६ करोड युनिट ऊर्जा उत्पादन हुने छ ।
आयोजना बनाउन जनताबाट लगानी जुटाउन सेयर निष्कासनसमेत गरिने भएको छ । नदीका वहावमा आधारित (रन अफ दि रिभर) प्रकृतिका आयोजनामा मात्रै सर्वसाधारणलाई सेयर निष्कासन हुने गरेकोमा अब जलाशय र अर्धजलाशय आयोजनामा पनि लगानी जुटाउन यो मोडेल चैनपुर सेतीमा पनि अपनाउन लागेको हो । नेपालको पानी जनताको लगानी कार्यक्रमअन्तर्गत सर्वसाधारण नागरिकलाई समेत सेयर निष्कासन गरी रकम जोहो गर्ने प्राधिकरणले जनाएको छ ।
प्राधिकरणले चैनपर सेतीलाई प्राथमिकतामा राखेको छ । अर्धजलाशययुक्त चैनपुर सेती जलविद्युत आयोजनाको १३ किलोमिटर लामो सुरुङमार्ग पनि रहेको छ ।
सुक्खायाममा समेत दैनिक कम्तीमा ६ घण्टा २१० मेगावाट बिजुली उत्पादन गर्न सक्ने आकर्षक आयोजनाका रूपमा चैनपुर सेतीलाई अगाडि बढाउन लागिएको प्राधिकरणले स्पष्टपारेको छ ।
निर्माण थालेको समयदेखि पाँच वर्षभित्र सम्पन्न गर्ने लक्ष्य रहेको छ । यस आयोजना बनाउन निर्माण अवधिको ब्याजबाहेक ३६ अर्ब ५४ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ । यद्यपी विस्तृत अध्ययन जारी रहेकाले लागतमा थपघट हुन सक्नेछ ।
आयोजनाको बाँध क्षेत्रमा बस्ती नभएको र विद्युतगृहको संरचना रहने ठाउँमा पातलो बस्ती भएकाले स्थानीयको २३० रोपनी निजी जग्गा अधिग्रहण गर्दा आयोजनालाई पुग्ने देखिएको छ ।
आयोजनाको वित्तीय व्यवस्थापनका लागि कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, नेपाल इन्फास्ट्रक्चर बैंकसहित स्थानीय र प्रदेश सरकारको समेत लगानी हुने गरी वित्तीय लगानी खाकामा छलफल भइरहेको छ ।
आयोजनाको विद्युतगृह अर्धभुमिगत हुने छ । यस्तै ३ वटा टवाईनबाट बिजुली उत्पादन हुने छ । आयोाजना बझाङको तलकोट, मष्टा र साइपाल गाउँपालिकामा पर्छ ।
आयोजनामा कोरिया हाइड्रोको चासो
चैनपुर सेती आयोजना बनाउने विषयमा विद्युत प्राधिकरण र कोरिया हाइड्रो एन्ड न्युक्लियर पावर कम्पनी लिमिटेड (केएचएनपी) बीच दुई वर्षअघि छलफल भएको थियो । प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ कोरिया गएका बेला राजधानी राजधानी सिउलमा छलफल भएको थियो । छलफलमा कोरियन कम्पनीले चासो देखाएको थियो । कोरोना महामारीले गर्दा कोरियन कम्पनीसँग छलफल रोएिको छ । अहिले प्राधिकरणले आफ्नै लगानीमा बनाउन प्रक्रिया अघि बढाएको छ । यस्तै आगामी ५ वर्षमा प्राधिकरणले उत्पादन प्रणालीमा २५ अर्ब ५५ करोड, सहायक कम्पनीहरुमा १ खर्ब ९ अर्ब ८६ करोड रुपैयाँ थप लगानीको घोषणा गरेको छ ।