काठमाडौं । सेयर बजार घटाउन विभिन्न अभिव्यक्ति दिएका अर्थमन्त्री जनार्दन शर्माविरुद्ध सेयर लगानीकर्ताले नो भोट अभियान चलाएका छन् । सेयर लगानीकर्ताले सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो अभियान चलाइरहेका छन् ।
सेयर लगानीकर्ताले फेसबुकमा ग्रुप बनाएर अर्थमन्त्री शर्माको फोटो राखेर नो भोट अभियान चलाइरहेका छन् । अहिले सेयर बजारमा ४० लाख भन्दा बढी लगानीकर्ता छन् । उनीहरु सबै अर्थमन्त्री शर्माको विरोधमा छन् । माओवादी समर्थित लगानीकर्ता समेत अर्थमन्त्री शर्माको विरुद्धमा उत्रिएका छन् ।
अर्थमन्त्री शर्माले तरलता अभाव हटाउन कुनै पहल नगरेको, सेयर बजारमा ५ प्रतिशतले मात्रै कमाइरहेको भनेर अभिव्यक्ति दिए पछि बजार निरन्तर प्रभावित बनेको छ । भदौ २ मा हालसम्मकै उच्च बिन्दू (३ं१९९) मा थियो । तर, अहिले २४२८ मा भरिसक्दा पनि अर्थमन्त्री शर्मा गम्भीर नबने पछि उनी विरुद्ध यस्तो अभियान चलाइएको लगानीकर्ता बताउँछन् ।
लगानीकर्ताहरुले पुँजी बजारलाई बेवास्ता गर्ने राजनीतिक दल र तिनका नेताहरुलाई भोट नदिने अर्थात् ‘नो भोट’ अभियान चलाएका छन् । यसका लागि लगानीकर्ताले सामाजिक सञ्जालमार्फत ‘नो भोट’ अभियानलाई व्यापक रुपमा अघि बढाउने हालैमात्र निर्णय पनि गरेका छन् । विशेषतः फेसबुकको प्रोफाइल पिक्चर परिवर्तन गर्दै लगानीकर्ताले यो अभियानको सांकेतिक प्रारम्भ थालेका हुन् ।
उनीहरुले ‘पुँजी बजार विरोधीहरुलाई आगामी चुनावमा ‘नो भोट, ४५ लाख लगानीकर्ताको आवाज’ लगायतका विभिन्न खालको स्लोगन राख्दै फेसबुक लगायतका समाजिक सञ्जालमा सेयर र प्रचारप्रसार गरिरहेका छन् । सरकार नियामकका कारण पुँजी बजार दिनदिनै धराशायी बन्दै गएपछि लगानीकर्ताहरुले यस्तो अभियान सुरु गरेका हुन् । ४५ लाखभन्दा बढी व्यक्ति पुँजी बजारमा जोडिएकाले उनीहरुले चलाउने अभियानले राजनीतिमा ठूलो महत्व राख्ने अनुमान गरिएको छ ।
बहुमतमात्र सेयर लगानीकर्ताहरु एकजुट हुन सकेमा पनि उनीहरुले आगामी चुनावमा मत परिणामलाई नै प्रभावित पार्न सक्छन् । तर एकता र अभियान कतिसम्म दिगो हुन्छ वा टिक्छ भन्ने चाहिँ अर्को महत्वपूर्ण प्रश्न हो । यस अभियानमा ठूलादेखि मध्यम र साना सबै प्रकारका लगानीकर्ताहरुको सहभागिता रहेको लगानीकर्ता सरोज गेलालले बताए ।
यसैबीच, पुँजी बजारमा उत्पन्न समस्याहरु पत्ता लगाई समाधान गर्ने उद्देश्यले सोमबार गठन भएको वृहत्त कार्यदलले पनि यो अभियानमा साथ दिएको उल्लेख गरिएको छ । तथापि, अग्रज लगानीकर्ता अम्बिकाप्रसाद पौडेलको संयोजकत्वमा गठन भएको उक्त कार्यदलले पुँजी बजार सुधार र विस्तारका लागि सरोकारवाला निकायलाई जोड दिने विशेष उद्देश्य लिएको छ । उक्त कार्यदलले ‘नो–भोट’ अभियानलाई पनि साथ दिएको बताइएको छ ।